+
+
Shares

सीडीओले होटल सञ्चालनको समय तोके, मुख्यमन्त्रीले भने, ‘गैरजिम्मेवार कदम’

जिल्ला प्रशासनले प्रदेश सरकारसँग समन्वयन नगरी समयसीमा तोकेपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असन्तुष्टि जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १४:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका होटल व्यवसायीलाई राति १० बजेभित्र गेट बन्द गर्न र साढे १० बजेसम्म पाहुना बिदा गर्न निर्देशन दिएको छ।
  • सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले एकीकृत मापदण्ड तयार नभएसम्मका लागि समयसीमा तोकिएको र एक महिनाभित्र नयाँ निर्णय हुने बताएका छन्।
  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारसँग समन्वय नगरी गरिएको यो निर्णय गैरजिम्मेवार र पर्यटनमैत्री नभएको भन्दै असन्तुष्टि जनाएका छन्।

१६ कात्तिक, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका होटल व्यवसायीलाई राति १० बजेभित्र होटलको गेट बन्द गर्न र होटलमा बसेका पाहुनालाई साढे १० बजेसम्म बिदा गर्न निर्देशन दिएको छ । केही दिनअघि भएको सर्वपक्षीय छलफलपछि प्रशासन कार्यालयले होटल सञ्चालनको समयसीमा तोकिदिएको हो ।

जिल्लाभरका रात्रिकालीन व्यवसायलाई समेट्ने एकीकृत मापदण्ड तयार नहुँदासम्म विराटनगरका होटल व्यवसाय सञ्चालन गर्न समयसीमा तोकिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले बताएका छन् । उनका अनुसार एक महिनाभित्र मापदण्ड तयार गरेपछि नयाँ निर्णय हुनेछ ।

‘राति १२ बजेसम्म होटलमा बसेर मदिरा सेवन गरेका यात्रु निस्किँदा दुर्घटना बढ्यो । त्यहाँ काम गर्ने महिला कामदारको सुरक्षा पनि भएन,’ उनले भने, ‘रात्रिकालीन मनोरञ्जनात्मक व्यावसाय सञ्चालनसम्बन्धी एकीकृत मापदण्ड तयार नभएसम्मका लागि १० बजे बन्द गर्ने निर्णय भएको हो, मापदण्ड बनेपछि समय बढ्छ ।’

विराटनगरका सडकमा रातभर नै सवारीसाधन ओहोरदोहोर गर्छन् । विराटनटनगर विमानस्थलमा पनि मध्यरातसम्म उडान अवतरण हुन्छ ।

यस्तो अवस्थामा जिल्ला प्रशासनले प्रदेश सरकारसँग समन्वयन नगरी समयसीमा तोकेपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असन्तुष्टि जनाएका छन् । राज्यले नागरिक तथा पर्यटकलाई २४सै घण्टा सुरक्षा दिनुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले प्रशासनको यस्तो कदम गैरजिम्मेवार भएको र पर्यटनमैत्री नभएको बताएका छन् ।

मुख्यमन्त्री कार्कीले पर्यटकीय गन्तव्यमा पर्यटकहरू समय हेरेर मात्र नआउने बताए । ‘पर्यटनका लागि आउने पाहुना बिहान, दिउँसो, राति जतिबेला पनि आउन र जान सक्छन्,’ उनले भनेका छन्, ‘हाम्रो विराटनगरकै आन्तरिक विमानस्थल राति अबेरसम्म सञ्चालन हुन्छ भने सडक विस्तारसँगै मानिसहरूको आवागमन चौबीसै घण्टा हुन्छ ।’

छिमेकी मुलुक भारतका सीमावर्ती शहरबाट विराटनगर वा आसपासका शहरमा आइपुग्ने यात्रुलाई लक्षित गर्दै उनले भनेका छन्, ‘साझ ८–९ बजे त्यहाँ ओर्लिएका पर्यटक वा पेसेन्जर हाम्रा शहरमा राति १० बजेदेखि बिहानसम्म यहा आइपुगे भने के भन्ने ? तपाईंहरू हाम्रो देश वा शहर नआउनुस् भन्ने हो ? वा, हाम्रा देश भित्रकै सडक यातायातबाट राति आइपुग्ने व्यक्तिलाई बसमै बस्नुस्, नओर्लिनुस भन्ने हो ? ’

नागरिक र पर्यटकलाई चौबीसै घण्टा सुरक्षा दिनु राज्यको दायित्व भएको उनले बताए । ‘राज्य वा स्थानीय प्रशासनले पर्यटक वा नागरिकलाई २४ घन्टा नै सेवा सुरक्षा दिनुपर्छ । राज्यले दिउँसो मात्रै सुरक्षा हुन्छ, राति हुँदैन, दिन्नँ भन्न मिल्दैन,’ कार्कीले भने, ‘जनता र हाम्रा पाहुनाको जीउधनको सुरक्षा गर्ने कामबाट कुनै पनि बहानामा उम्किन वा भाग्न पाइँदैन।’

स्थानीय प्रशासनले संवेदनशील र दीर्घकालीन असर पर्ने निर्णय लिनुअघि प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय र सल्लाह गर्नुपर्ने मुख्यमन्त्री कार्कीले बताएका छन् ।

‘यस्ता गैरजिम्मेवार सूचना प्रकाशन गर्नुअघि १० पटक सोच्नुपर्छ,’ उनले भनेका छन्, ‘देशको प्रतिष्ठा, पर्यटन क्षेत्र र यहाँका व्यवसायीलाई नकारात्मक असर पर्ने कुनै पनि काम गरिनु हुँदैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?