+
+

भोकभोकै मत परिणामको पर्खाइ

रासस रासस
२०७९ मंसिर ६ गते २०:५१

६ मंसिर, मलेखु । ‘के हुँदै छ सर ? कसले जित्यो ? कति भोट गनियो सर ? अहिले को अगाडि छ ?’ मतगणना केन्द्रबाट बाहिर देखा पर्ने जो कोहीलाई बाहिरबाट सोधिने गरेको प्रश्न यही हो ।

मत गणनास्थलबाट बाहिर जो देखा पर्छ, ‘आयो.. आयो..’ भन्ने हर्षित आवाज ठूलै स्वरमा सुनिन्छ, दशौँ प्रश्नहरु तेर्सिन थाल्छन् । भित्र भइरहेको मतगणनाको परिणाम सुन्न आतुर दलका समर्थकलाई भोक र निन्द्राको भन्दा मत परिणामको चिन्ता छ । रुबीभ्याली गाउँपालिकाको मतगणना केन्द्र बाहिर परिणाम कुरेर बसेका समिर गुरुङ भन्छन्, ‘भोट त हालियो, जित्ला कि नजित्ला सुन्न हतार छ । जित्छ कि भनेर कुरिरहेको छु ।

मतगणनास्थल बाहिर करिब दुई सय जनाले घेरेर बसेका छन् । झार्लाङ, सत्यदेवी, दार्खादेखि परिणाम थाहा पाउन यहाँ आएका छन् । युवायुवती र वृद्धवृद्धा सबैको सहभागिता उत्साहजनक छ । सोमबार दिउँसो मतगणना सुरु भएदेखि नै कुरिरहेका छन्, नीलकण्ठ–१२ का हरि लम्साल पनि । अघिल्लो चुनावको मतगणनाभन्दा यसपटक उनलाई छुट्टै उत्सुकता छ । लम्साल भन्छन्, ‘भित्र मतगणना भइरहेको छ, मत परिणाम सुन्न यही बसिरहेको छु ।’ सबैको हारजित सुनेर मात्रै अरु काममा लाग्ने लम्सालले सुनाए ।

रुवि भ्यालीका दिलबहादुर घलेले भोट खसालेको यो पहिलो पटक हो । उनले विसं २०७० र २०७४ सालमा भोट हाल्न पाएका थिएनन् । त्यत्ति चासो पनि लागेको थिएन । अहिले चिनेकै मान्छे प्रदेशसभाको उम्मेदवार भएकाले सोमबारदेखि गणनास्थल आसपासमै खाने बस्ने गर्दै परिणाम कुरिरहेका छन् । निर्वाचन अधिकृतको कार्यालयले एक हजार पाँच सय मत गनेपछि सार्वजनिक गर्छ । एक पटक सुनेपछि अर्कोपटक सुन्न करिब २ घण्टा कुर्नुपर्छ । ‘तै पनि यो ठाउँ छोडेर अन्त जानै मन छैन’, घलेले भने ।

मत गणना भइरहेका स्थानमा स्पिकर छ । गणनास्थलका कर्मचारीले त्यसैबाट परिणाम सुनाउँछन् । परै बसेर पनि सजिलै सुन्ने व्यवस्था मिलाइएको छ । बसेरीका खड्गबहादुर अधिकारी भन्छन्, ‘मत गणना सुरु भयो, कसैले छोडेकै छैनन्’, उनले भने, ‘मतपेटिका आइपुगेदेखि भोकभोकै पनि नतिजा सुन्न बसेका छन् । हातहातमा मोबाइल भए पनि आफैँले सुनेको जस्तो विश्वास नभएकाले गणनास्थलमै कुरेर बसेका छौँ ।’

सदरमुकाम धादिङबेसीस्थित जिल्ला समन्वय समितिको भवनमा मत गणना भइरहेको छ । मत गणनास्थलमा पनि परिणाम कुर्नेको उत्साह उस्तै छ । नीलकण्ठ नगरपालिका–८ का सरोज कोइरालालाई पनि पहिलेको चुनावको भन्दा अहिलेको चुनाव बेस्सरी लागेको छ । काठमाडौँमा सञ्चालन गर्दै आएको व्यवसाय नै छोडेर जिल्ला समन्वय समितिको अगाडि मतपरिणाम कुरेर बसेका उनी भन्छन्, ‘मैले भोट दिएको मान्छेले पाएको मत परिणामको नजिता कस्तो आइरहेको छ भनेर सुन्न बसिरहेको छु ।’

रुविभ्यालीका दिलबहादुर र बसेरीका खड्गबहादुर जस्तै हरेक मत गणना भइरहेको स्थलमा एक सयदेखि तीन सय हुन्छन् । उनीहरु प्राय आफ्ना समर्थक र आफूले मतदान गरेको उम्मेदवारले पाएको मत सुन्न चासोका साथ गणनास्थलमा पुगेरै परिणाम सुन्न लालाहित भएका हुन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?