+
+

म्याग्दीबाट प्रदेशसभामा माओवादीका भण्डारी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते ०:१३

८ मंसिर, म्याग्दी । नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारी म्याग्दीको प्रदेशसभा क्षेत्र (१) बाट निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्रका भण्डारीले ९७५ मतान्तरले नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका देबेन्द्रबहादुर कटुवाललाई पराजित गर्दै गण्डकी प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

भण्डारीले १२ हजार ७४० र कटुवालले ११ हजार ७६५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए । म्याग्दीको प्रदेश (१) मा ४८ हजार ४७२ मतदाता रहेकोमा आइतबार भएको निर्वाचनमा २८ हजार ८९७ मत खसेको थियो ।

राप्रपाका प्रविन शाहीले दुई हजार ४९, मंगोल नेशनल अर्गनाइजेशनका दिपक पुनले एक हजार ७३ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका दूध गिरीले १२२ मत प्राप्त गरे ।

रघुगंगा गाउँपालिका–२ का ३८ वर्षीय भण्डारी नेकपा माओवादी केन्द्रको जिल्ला सदस्य तथा रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष हुन् । विस २०७४ को स्थानीय तह चुनावमा रघुगंगा गाउँपालिका उपाध्यक्षमा पराजित भएका भण्डारीलाई प्रदेशसभा सदस्यमा नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र जनमोर्चाले सर्मथन गरेका थिए ।

म्याग्दीबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य गरी ३ वटै क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) र प्रदेशसभा क्षेत्र (२)मा माओवादीका रेशमबहादुर जुग्जाली निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?