+
+

गण्डकीबाट प्रतिनिधि सभामा कांग्रेसको वर्चश्व, एमाले खुम्चियो

विकास रोकामगर विकास रोकामगर
२०७९ मंसिर ८ गते २३:२९

८ मंसिर, पोखरा । २०७४ सालमा गण्डकी प्रदेशका १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये एक सिटमा खुम्चिएको नेपाली कांग्रेसले यसपटक वर्चश्व कायम गरेको छ ।

शुक्रबार साँझसम्म प्राप्त मत परिणाम अनुसार प्रतिनिधि सभामा नेपाली कांग्रेसले ७ ठाउँमा जित निकालेको छ भने दुई ठाउँमा फराकिलो मतान्तरले अगाडि छ ।

२०७४ मा एक्लै प्रतिस्पर्धा गरेको कांग्रेसले यसपटक नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको सहयोगमा चुनाव लडेको छ । २०७४ सालमा भने गण्डकी प्रदेशमा डा. शशांक कोइरालाले मात्र चुनाव जितेका थिए ।

कांग्रेसले मनाङ, मुस्ताङ, म्याग्दी तथा स्याङ्जा, नवलपुर, गोरखामा १÷१ सिट र तनहुँमा २ सिटमा जित निकालेको छ ।

नेपाली कांग्रेसबाट मनाङमा टेकबहादुर गुरुङ, मुस्ताङमा योगेश गौचन थकाली, म्याग्दीमा खमबहादुर गर्बुजा, गोरखा–१ मा राजेन्द्र बजगाईंले प्रतिनिधि सभामा जित निकालेका छन् ।

अघिल्लो पटक गण्डकीबाट कांग्रेसको शाख जोगाएका शशांक कोइरालाले यसपटक पनि नवलपुर–१ मा जित दोहो¥याएका छन् । नवलपुर–२ मा पनि नेपाली कांग्रेसकै विष्णुकुमार कार्की निर्वाचित भएका छन् । स्याङ्जा–१ मा कांग्रेसका राजु थापाको अग्रता कायम छ ।

०७४ सालमा एमालेले जितेको तनहुँ १ र २ मा पनि नेपाली कांग्रेसले जित निकालेको छ । तनहुँ १ मा रामचन्द्र पौडेलले नेकपा एमालेका एकबहादुर रानालाई हराउँदै छटौं जित निकाले । तनहुँ २ मा २८ वर्षपछि एमाले उम्मेदवारलाई हराउँदै कांग्रेसका शंकर भण्डारीले जित निकाले । २८ वर्षपछि एमाले गढ भत्काएको भन्दै उनलाई २८ किलोकै माला पहि¥याइएको थियो ।

अघिल्लो पटक प्रतिनिधि सभामा १० सिट जित्दै वर्चश्व राखेको नेकपा एमाल भने शुक्रबार साँझसम्म ३ सिटमा खुम्चिएको छ । बाँकी २ सिटमा अग्रता लिइरहेको छ । पछिल्लो नतिजाअनुसार नेकपा एमालेले लमजुङ, कास्की र पर्वतमा मात्रै आफ्नो सिट सुरक्षित गर्न सफल भएको छ ।

लमजुङमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङलाई हराउँदै नेकपा एमालेका उपमहासचिव तथा गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विजयी भए ।

कास्की २ मा विद्या भट्टराईले आफ्नो अघिल्लो विरासत जोगाउन सफल भइन् । त्यस्तै, पर्वतमा पदम गिरीले पनि आफ्नो जित दोहो¥याए । मत गणना भइरहेको कास्की क्षेत्र नं. १ र ३ मा नेकपा एमालेकै उम्मेदवारले अग्रता लिइरहेका छन् ।

अघिल्लो निर्वाचनमा ३ सिट पाएको नेकपा माओवादीले यसपटक २ सिटमा झरेको छ । गोरखा २ बाट नेकपामा अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र बागलुङबाट शिक्षामन्त्री देवेन्द्र पौडेलले मात्रै आफ्नो सिट सुरक्षित गर्न सके । देवेन्द्र अघिल्लो पटक पनि सोही क्षेत्रबाट चुनाव जितेका हुन् ।

बागलुङ १ मा सत्ता गठबन्धन घटक राष्ट्रिय जनमोर्चाले एउटा सिट जितेको छ । उक्त क्षेत्रमा जनमोर्चाका चित्रबहादुर केसीले जित निकालेका हुन् ।

गण्डकीमा स्याङ्जा क्षेत्र नं. २ मा मात्रै मतगणना गर्न बाँकी छ । उक्त चुनाव क्षेत्रका ४ मतदान केन्द्रमा नेपाली कांग्रेसले बुथ कब्जा गरी मृत्यु भइसकेको नाममा पनि मतदान गरेको आरोप लगाउँदै नेकपा एमालेले निर्वाचन आयोगमा उजुरी दिएको छ । उक्त ठाउँमा नेकपा एमालेकी पद्मा अर्याल र नेपाली कांग्रेसका धनराज गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।

पछिल्लो नतिजाअनुसार गण्डकी प्रदेश सभामा समेत नेपाली कांग्रेस पहिलो स्थानमा छ । २७ ठाउँको नतिजा आउँदा नेपाली कांग्रेस १४ स्थानमा जित निकालेको छ ।

दोस्रो स्थानमा रहेको नेकपा एमालेले ७, नेकपा माओवादी ४, नेपाल समाजवादी र स्वतन्त्रले १÷१ ठाउँमा जित निकालेका छन् । ६० सिट भएको प्रदेश सभामा ३६ प्रत्यक्ष र २४ समानुपातिक सिट छ ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?