१० मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । देउवा र राजदूत श्रीवास्तबीच शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको हो ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीका अनुसार भेटघाट नियमित प्रकृतिको भएको र समसामयिक विषयमा छलफल भएको बताए । ‘प्रधानमन्त्री चुनावका कार्यक्रममा लामो समयदेखि व्यस्त भएपछि भेट हुन पाएको थिएन । चुनावअघि आचारसंहिताका कारण कूटनीतिक वृत्तसँग भेट हुन सकेको थिएन । अहिले मतदान सकिएपछि भेट भएको हो,’ उनले भने, ‘भेटमा नेपाल भारत सम्बन्ध, समसामयिक विषयमा छलफल भएको हुनसक्छ ।’
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना नसकिँदै प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । भेटमा देउवा र श्रीवास्तबीच करिब ४५ मिनेट ‘वान टू वान’ छलफल भएको थियो । तर भेटमा के विषयमा छलफल भयो भन्ने सार्वजनिक भएको छैन ।
भेटमा चुनावी परिणाम र आगामी सरकार गठनका लागि बन्नसक्ने समीकरणका विषयमा छलफल भएको हुन सक्ने अनुमान गरिएको छ । शुक्रबार अपरान्ह राजदूतसँग भेट भएलगत्तै प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार बिहान भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा दुई नेताबीच अहिलेकै सत्तारुढ गठबन्धनको सरकार बनाउने विषयमा छलफल भएको उनीहरु निकट नेताहरूले बताएका छन् ।
निर्वाचनको परिणाम आउने क्रम जारी रहेकै बेला शनिबार विहान देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए । सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीचको सहकार्यलाई निरन्तरता दिने गरी छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
गठबन्धनका दलहरुको बैठक छिट्टै बोलाउने निर्णय पनि प्रधानमन्त्री र प्रचण्डले गरेका छन् ।
‘विहानको भेटमा दुइटा विषयमा छलफल भयो । सम्पूर्ण नतिजा नआइसकेकाले निर्वाचनको सामान्य समीक्षा भयो’ परियारले भने, ‘गठबन्धनलाई इन ट्याक राखेर सरकार गठन सहित अरु विषयमा छलफल गर्न गठबन्धनका दलको बैठक बोलाउने सहमति बनेको छ ।’
सरकारमा सहभागी दलहरूकै भावी सरकार बनाउने गरी छलफल गर्न बैठक बोलाउने दुई नेताबीच सहमति बनेको परियारले जानकारी दिए ।
प्रतिक्रिया 4