+
+

डडेलधुराबाट उदाएका तारा : नेताले पत्याएनन्, जनताले जिताए

रामहरि ओझा रामहरि ओझा
२०७९ मंसिर १२ गते ८:२९

१२ मंसिर, डोटी । सत्ता गठबन्धनबाट डडेल्धुरा प्रदेश सभा २ मा उम्मेदवार हुन चाहन्थे डा. तारा प्रसाद जोशी । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका डा. जोशीलाई उनको पार्टीले सो क्षेत्रबाट सर्वसम्मत सिफारिस पनि गरेको थियो तर उनलाई टिकट दिइएन ।

प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई सिट रहेको डडेल्धुरामा प्रतिनिधि सभा सदस्यमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा उठ्ने निश्चितै थियो । प्रदेश सदस्यको भागबण्डामा एउटा कांग्रेसले लियो, अर्को माओवादी केन्द्रले ।

कतै पनि टिकट नपाएपछि डा. जोशीले डडेलधुराको प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरे । सत्ता गठबन्धनका साझा उम्मेदवार तथा सुदूरपश्चिमका बहालवाला सामाजिक विकास मन्त्री गोविन्दराज बोहराविरुद्ध उनी लालटिन चुनाव चिह्न लिएर चुनावी लडाइँमा होमिए ।

गठबन्धनले उनलाई उम्मेदवारी फिर्ता लिन दबाब दियो । अन्तिम समयसम्म पनि उम्मेदवारी निष्कृय बनाउन दबाब आइरह्यो । उनी आवद्ध पार्टीले उनलाई उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेनावनी दियो । जोशीलाई सहयोग गरेको भन्दै एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कविन्द्र विष्ट र अन्य कार्यकर्ताहरुलाई पनि कारबाही गर्ने लिखित चेतावनी आयो पार्टी केन्द्रबाट । तर, जोशीको समूह कत्ति पनि विचलित भएन ।

‘उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने चेतावनी आएको थियो, तर हामीले त्यसको परवाह गरेनौं,’ एकीकृत समाजवादीका जिल्ला अध्यक्ष विष्ट भन्छन् ‘हामीले पार्टी केन्द्रलाई जे गरेर सहज हुन्छ, त्यही गर्नुहोस्् तर हामी पछाडि फर्किन्नौं भन्ने जवाफ दियौं ।’

चुनावमा जनताको साथ पाए डा. जोशीले । आफ्ना प्रतिस्पर्धी बोहरालाई ४२५ मतको अन्तरले पछाडि पारेर संसदीय यात्रा तय गरे उनले । जोशीले ११ हजार १६२ मत पाउँदा बोहराले १० हजार ७३७ मत पाए ।

०७४ मा जसले हराए, यस पटक उनैले जिताए

डा. जोशी ०७० सालमा तत्कालीन एमालेबाट संविधान सभा सदस्यका उम्मेदवार भएका थिए । उनले त्यतिबेला तेस्रो स्थान मात्रै बनाउन सके । नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवा पहिलो भए भने नेकपा माओवादीका उम्मेदवार खगराज भट्ट दोस्रो ।

०७४ सालमा डा. जोशीले दोस्रो प्रयास गरे । तत्कालीन बाम गठवन्धनबाट साझा उम्मेदवार बनेका जोशी ३५६ मतको अन्तरले पराजित भए । नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर मल्लले १३ हजार ४१३ मत ल्याई विजयी हुँदा जोशीले १३ हजार ५७ मतमै चित्त बुझाउनु पर्‍यो ।

०७४ मा हराउने तिनै मल्लले यस पटक डा. जोशीलाई खुलेरै सहयोग गरे । नेपाली कांग्रेस पार्टी छोडेर नेपाली कांग्रेस (बीपी) मा आवद्ध भएका मल्ल आफू प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा थिए । मल्लको समूहले प्रदेश सभा २ मा जोशीलाई सहयोग गर्ने र जोशीको समूहले प्रतिनिधि सभामा मल्ललाई सहयोग गर्ने गरी दुवै पक्षबीच समझदारी बनेको थियो । यो समझदारीले पनि डा. जोशीको जित सहज भयो ।

न केपीले पत्याए, न माधवले तर जनताले जिताए

गठबन्धनको तर्फबाट उम्मेदवार बन्न डा. जोशीले लामो कसरत गरे । उनले आफ्नो जित्ने आधार समेत प्रस्तुत गर्दै पार्टी केन्द्रलाई जानकारी गराए । तर उनलाई पार्टी नेतृत्वले पत्याएन । त्यसो त उनलाई नेकपा एमालेले पनि पत्याएको थिएन । २०७० सालमा पार्टीको जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका थिए, तर लामो समयसम्म उनलाई अध्यक्षको मान्यता दिइएन ।

एमाले-माओवादी एकीकरण भई नेकपा बन्दा उनलाई अध्यक्षको जिम्मेवारीबाट हटाइयो । अदालतको आदेशमा पार्टी २०७५ जेठ अघिकै अवस्थामा फर्किंदा आफू स्वतः पार्टी जिल्ला अध्यक्ष हुनुपर्ने उनको दाबी थियो, तर उनलाई अध्यक्ष हुनबाट रोकियो ।

एमालेभित्र ‘१० भाइ’ निकट मानिने डा. जोशी एमालेमै बस्न चाहन्थे । उनी पार्टीभित्रै संघर्ष गर्न चाहान्थे, त्यसो पनि भएन । ‘मेरो आफ्नै वडाका पार्टी संगठित सदस्यहरुको सूची समेत मलाई हेर्न दिइएन, पार्टीको जिल्ला अधिवेशनमा मसँग जोडिएका साथीहरुलाई पेलेरै तह लगाउने काम भयो’ जोशी भन्छन्, ‘पार्टीभित्रै रहेर बैचारिक संघर्ष गर्ने चाहना हुँदाहुँदै पनि जबरजस्ती लखेट्ने काम भयो ।’

पार्टी निर्णय विपरीत उम्मेदवार बनेको भन्दै एकीकृत समाजवादीले पनि उनलाई कारबाही गरिसकेको छ । तर, उनलाई जनताले भने विश्वास गरेर जिताएर प्रदेश सभामा पठाए । ‘आम जनताले माया गरेकै कारण यो सम्भव भएको हो,’ जोशी भन्छन्, ‘मलाई सबै पार्टी समर्थक साथीहरुले पनि सहयोग गर्नुभयो ।’

पूर्वपत्रकार पनि हुन् जोशी

२०२७ साल चैत्रमा डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका-२ को एक साधारण परिवारमा जन्मिएका जोशीको प्रारम्भिक शिक्षा गाउँकै प्राथमिक विद्यालयमा भएको हो । उनी माध्यामिक शिक्षा पूरा गरी उच्च शिक्षा अध्ययनका लागि तराई झरे । कैलाली बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तह र महेन्द्रनगरको सिद्धनाथ क्याम्पसबाट स्नातक गरेका जोशीले भारतको कमाउ विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरे । उनले जवाहरलाल नेहरु विश्वविद्यालयबाट पूर्ण छात्रवृत्ति कोटामा अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिक सम्बन्धमा विद्यावारिधिको पढाइ पूरा गरे ।

विद्यार्थी जीवनमै उनले कैलाली बहुमुखी क्याम्पसबाट राजनीतिक यात्रा प्रारम्भ गरे । ०५४ सालको स्थानीय निकाय निर्वाचनमा उनले गाविस अध्यक्षमा पराजित हुनु पर्‍यो ।

०५५ सालमा राजनीतिक पत्रकारिता सुरु गरेका डा. जोशीले कञ्चनपुरबाट प्रकाशन हुने वैचारिक पत्रिका ‘शिखा’ साप्ताहिकको प्रमुख सम्पादक भएर काम गरे । कान्तिपुर, नेपाल साप्ताहिक र भारतको हिन्दुस्तान टाइम्सका लागि स्तम्भ लेख्ने काम पनि उनले गरे । जोशीले केही समय शिक्षण पेशामा पनि बिताए । २०६२/०६३ जनआन्दोलनमा उनीमाथी प्रहरी दमन भयो र केही दिन थुनामा बसे ।

‘भिजन डडेल्धुरा’ का सूत्रधार जोशीले लामो समय लगाएर सुदूरपश्चिममा कृषि उत्पादनमा आधारित उद्योग स्थापनाका लागि अध्ययन गरे । अध्ययनपछि उनकै नेतृत्वमा ७७७ जनाको लगानीमा ‘फारवेस्टर्न एग्रो जाइन्ट लिमिटेड’ नामक उद्योग स्थापना भई हाल परीक्षण उत्पादन गरिरहेको छ । हाललाई मेगा भट्मास कम्पनी (सोया, प्यालेट, दूध, तेल, साबुन) उत्पादन गर्ने गरी परीक्षण उत्पादन गरिरहेको कम्पनीले आगामी दिनहरुमा अन्य कृषि उत्पादन पनि प्रशोधन गर्ने जोशीको अवधारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?