+
+

संसद छिर्न ध्रुवबहादुरको २३ वर्ष लामो प्रतीक्षा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १२ गते १९:३०

१२ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नवलपरासी २ बाट सांसद भएका ध्रुवबहादुर प्रधानलाई जितको बधाई दिंदै उनका प्रतिस्पर्धी देवेन्द्रराज कँडेल भन्छन्, ‘कति वर्ष पर्खिनुभयो ?’

‘२३ वर्ष’, प्रधान छोटो जवाफ फर्काउँछन् ।

पूर्वप्रहरी महानिरीक्षकसमेत रहिसकेका प्रधान नवलपरासीबाट २०५६ देखि चुनावी मैदानमा थिए । २०५६, २०६४, २०७० को चुनाव लडेका प्रधानले जित निकाल्न सकेका थिएनन् ।

२०७४ को चुनावमा उनले प्रत्यक्षतर्फ नेपाली कांग्रेसका देवेन्द्रराज कँडेललाई सघाए । पूर्वगृहराज्य मन्त्री समेत रहेका कँडेल नवलपरासीबाटै तीन पटक निर्वाचित भइसकेका छन् । २०५६ र २०७० को चुनावमा प्रधानले नवलपरासीको तत्कालीन निर्वाचन क्षेत्र नम्बर ४ र ५ बाट उम्मेदवारी दिएका थिए । २०५८ सालमा त उनले दुवै क्षेत्रबाट उम्मेदवारी दिएका थिए ।

२०६४ सालमा बाहेक हरेक चुनावमा प्रधानलाई कँडेलले हराउँदै आएका थिए । तर, यस पटकको चुनावमा भने नतिजा उल्टियो । सधैं जितिरहेका कँडेललाई हराउँदै प्रधान निर्वाचित भए ।

३० वर्ष नेपाल प्रहरीको जागिरे रहेका प्रधान धैर्यले नै आफू सफल भएको बताउँछन् । ‘राजनीतिमा पर्खिनुपर्छ, जनताले बुझ्छन्’, प्रधान भन्छन् । राप्रपाका केन्द्रीय उपाध्यक्षसमेत रहेका प्रधानले बारम्बार विगतका चुनाव हारेको हुँदा उनलाई समानुपातिक सूचीमा बस्न पनि भनिएको थियो । ‘तर, मैले जनताबाट प्रत्यक्ष निर्वाचित हुन रुचाएँ’ प्रधान भन्छन्, ‘जनताले छानेर पठाउनुको अर्थ नै बेग्लै छ ।’

तीन वटा चुनावमा असफल भए पनि आफू राजनीति र समाजसेवामा दत्तचित्त भएर लागेकै कारण यसपटक सफल भएको उनको बुझाइ छ । प्रहरी सेवामा र पार्टीभित्र आफू सधैं सफल भए पनि यस अगाडि चुनावमा सधैं असफल भइरहँदा चिन्ता भने लाग्ने गरेको उनले सुनाए ।

‘प्रहरीमा र पार्टीभित्रको राजनीतिमा म सधैं सफल भएँ । तर, चुनाव हारेपछि भने जनताले मलाई रिकग्नाईज गरेनन् कि भन्ने चिन्ता लागिरहन्थ्यो ।’ अब भने यो चिन्ता दुर भएको उनले सुनाए । ‘आखिर जनताले मलाई रिकग्नाईज गरे, अब यो चिन्ता दूर भयो’, उनले भने ।

प्रधानले नवलपरासी-२ बाट ३४ हजार ७६४ मत पाउँदा पूर्व गृहराज्य मन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेलले १९ हजार ५९४ मत ल्याए । २०५१ देखि २०७४ सम्म भएका पाँच वटा चुनाव मध्ये तीन चुनाव जितेका थिए कँडेलले ।

यही पृष्ठभूमिमा कँडेलले जितको बधाई दिंदै प्रधानलाई सोधेका थिए, ‘कति वर्ष कुर्नुभयो ?’ २३ वर्ष राजनीतिमा लागेपछि बल्ल जित निकाल्न सकेका प्रधानले यो चुनावलाई आफ्नो राजनीतिक करियरको अन्तिम चुनावका रुपमा लिएका थिए ।

उनले सुनाए, ‘सधैंभरी सक्रिय जीवन बिताउन सकिंदैन भन्ने लागिसकेको थियो । प्रहरी सेवापछि म सीधै राजनीतिमा आएँ, खेलकुदमा लागें । अब रिटायर हुनुपर्छ जस्ताे लागिसकेको थियो ।’ तर, यो जितले भने आफूमा उर्जा भरेको उनले सुनाए । प्रधान ७४ वर्ष पुगे ।

ठूला दल र तिनका नेताप्रतिको वितृष्णा र आफ्नो निरन्तरको राजनीतिक सक्रियताले २३ वर्षपछि जित निकाल्न सकिएको उनको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?