+
+

सुदूरपश्चिममा सरकार बनाउन गठबन्धनको बहुमत, मुख्यमन्त्री को ?

जनक विष्ट जनक विष्ट
२०७९ मंसिर १३ गते ८:०३

१३ मंसिर, धनगढी । सुदूरपश्चिमको बाजुरा बाहेक ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । मतपरिणाम सार्वजनिक भएसँगै सुदूरपश्चिम प्रदेश सरकार गठनबारे चासो बढेको छ ।

प्रदेशसभाका प्रत्यक्षतर्फका ३२ सिटमध्ये परिणाम आउन बाँकी बाजुराका दुई क्षेत्र बाहेक ११ ठाउँमा जित्दै नेपाली कांग्रेस पहिलो दल बनेको छ भने ८ ठाउँमा जितेको नेकपा माओवादी केन्द्र दोस्रो दल बनेको छ । ५ क्षेत्र जितेको नागरिक उन्मुक्ति पार्टी तेस्रो, ३ क्षेत्र जितेको नेकपा एमाले चौथो र २ क्षेत्र जितेको नेकपा एकीकृत समाजवादी पाँचौं दल बनेको छ ।

डडेल्धुराको प्रदेशसभा (२) मा नेकपा एकीकृत समाजवादीबाट बागी उठेर स्वतन्त्र उम्मेदवारी दिएका ताराप्रसाद जोशी विजयी भएका छन् । उनलाई समाजवादी पार्टीले कारवाहीस्वरुप केन्द्रीय सदस्यबाट पदमुक्त गरिसकेको छ ।

समानुपातिकतर्फको मत गणना जारी छ । सात लाख ७८ हजार मतको गणना सकिदा नेकपा एमालेले सबैभन्दा धेरै दुई लाख ३३ हजार मत प्राप्त गर्दै पहिलो स्थानमा कायम छ । नेपाली कांग्रेस दुई लाख २६ हजार मतसहित दोस्रो, माओवादी केन्द्र एक लाख १३ हजार मतसहित तेस्रो र नागरिक उन्मुक्ति पार्टी ८७ हजार मतसहित चौथो स्थानमा देखिएको छ ।

५३ सदस्यीय प्रदेशसभामा समानुपातिकतर्फको मतपरिणाम नआउँदै प्रदेश सरकार गठनका लागि सत्तारुढ गठबन्धनको स्पष्ट बहुमत पुग्ने देखिएको छ । ३० क्षेत्रको नतिजाअनुसार गठबन्धनले २१ सिट जितेको छ । जबकी प्रदेश सरकार गठनका लागि २७ जना भए बहुमत पुग्छ । समानुपातिक तर्फको २१ सिटमा पनि गठबन्धनको बहुमत पुग्ने देखिएको छ ।

दलहरुबीच अहिलेकै गठबन्धनलाई निरन्तरता दिने गरी छलफल भइरहेकाले सुदूरपश्चिममा पनि गठबन्धन सरकार बन्ने सम्भावना बढ्दो छ । यहाँको प्रदेश सरकारको नेतृत्व कुन पार्टीले पाउँछ भागबण्डापछि मात्र थाहा हुनेछ । तर प्रदेश सरकारमा मुख्य दाबी भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको हुने नेताहरुले बताइरहेका छन् । दुवै दलमा आकांक्षी रहेका नेताहरु प्रदेशसभा सदस्यमा निर्वाचित भएसँगै मुख्यमन्त्रीका लागि कसरत थालेका छन् ।

को–को छन् मुख्यमन्त्रीको आकांक्षी ?

नेपाली कांग्रेसमा सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री डा.रणबहादुर रावल, सामाजिक विकास मन्त्री गोविन्दराज बोहरासहितका पाँच जना मुख्यमन्त्रीका दाबेदार थिए । तर मुख्यमन्त्रीको दौडमा रहेका रावल कैलाली–१ को प्रदेशसभा(२) र बोहरा डडेल्धुराको प्रदेशसभा(२) बाट हारेसँगै यो दौडबाट बाहिरिएका छन् ।

अब कांग्रेसबाट कञ्चनपुर–२ को (२) बाट प्रदेशसभामा निर्वाचित बहादुरसिंह थापा, कञ्चनपुर–१ को (२) बाट निर्वाचित दिवानसिंह विष्ट र कैलाली–२ को (१) बाट निर्वाचित कमल शाह मुख्यमन्त्रीका प्रमुख दाबेदारका रुपमा देखिएका छन् । कैलाली–५ को प्रदेशसभा (२) बाट विजयी भएका प्रकाशबहादुर देउवालाई पनि मुख्यमन्त्री बनाउनुपर्ने स्वर कांग्रेसभित्र सुनिन थालेको छ । प्रकाश प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाका भतिजा हुन् । तर मुख्य दाबेदारका रुपमा रहेका थापा, विष्ट र शाह भन्दा धेरै जुनियर भएकाले अहिले नै मुख्यमन्त्री बनाउँदा पार्टीमा समस्या हुने अर्को थरी नेताहरु बताइरहेका छन् ।

मुख्यमन्त्रीका आकांक्षी मध्येका बहादुरसिंह थापाले अहिले गठबन्धन भएकाले शीर्ष तहका नेताहरुको छलफल र समझदारीअनुसार प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा टुंगिने बताए । तर कांग्रेसबाट निर्वाचित भएका प्रदेशसभा सदस्यहरुमा आफू सबैभन्दा सिनियर भएकाले मुख्यमन्त्रीमा प्रमुख दाबी रहनु स्वभाविक भएको उनको भनाइ छ । ‘अहिले अरु पार्टीसँग पनि गठबन्धन भएका कारण प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा नेताहरुबीच छलफल भएर तय हुने हो,’ थापाले अनलाइनखबरसँग भने, ‘हिस्सेदारी पनि होला । कांग्रेसको कुरा गर्दा सिनियर नेताका हिसाबले मुख्यमन्त्रीमा मेरो स्वभाविक दाबी हुन्छ ।’

थापा कांग्रेस कञ्चनपुरका सभापति हुन् । २०७४ को चुनावमा उनी नेकपा एमालेका लालबहादुर खड्कासँग प्रदेशसभामा पराजित भएका थिए ।

अर्का आकांक्षी दिवानसिंह विष्ट त पार्टी र गठबन्धनका शीर्ष नेताहरुसँगको समझदारीअनुसार नै प्रतिनिधिसभा माओवादीलाई छाडेर प्रदेशसभाको चुनाव लडेको बताउने गरेका छन् । ‘मेरो पार्टी र गठबन्धनमा आवद्ध शीर्ष नेताहरुसँगको समझदारीमै म प्रदेशसभाको चुनाव लडेको हुँ । त्यसो हुँदा मुख्यमन्त्रीमा मेरो स्वभाविक दाबी रहन्छ,’ विष्टले अनलाइनखबरसँग भने, ‘दुई–दुई पटक प्रतिनिधिसभा चुनाव लडेर सांसद भइसकेको मलाई उहाँहरुले समझदारीअनुसार जिम्मेवारी दिनुहुन्छ भन्ने विश्वास छ ।’

२०७० सालमा संविधानसभा सदस्य चुनावमा माओवादी केन्द्रकी बिना मगरलाई पराजित गरेका दिवानसिंह विष्ट पनि मुख्यमन्त्री बन्ने अभिलाषा राखेर नै प्रदेशसभाको चुनाव लडेका थिए । उनी २०७४ को चुनावमा भने मगरसँग पराजित भएका थिए ।

कैलाली–२ को १ बाट प्रदेशसभामा निर्वाचित कमल शाह आफू मुख्यमन्त्रीको प्रबल दाबेदार भएको बताउँछन् । ‘मैले चुनावदेखि नै सार्वजनिक रुपमा मुख्यमन्त्रीमा आफू दाबी रहने कुरा बताउदै आएको छु,’ शाहले भने, ‘प्रदेश सरकारको नेतृत्वका लागि म प्रबल दाबेदार हुँ ।’ शाहले संसदीय दलको नेता चयन लगायतका अन्य प्रक्रिया चल्दै गर्ने तर मुख्यमन्त्रीमा आफ्नो दाबी रहने बताएका छन् ।

कैलाली ५ को (२) बाट निर्वाचित प्रकाश देउवा आकांक्षी रहेको भनिए पनि उनी स्वयंले भने यो विषयमा खुलेर कुरा गर्न चाहेनन् । ‘मुख्यमन्त्री म हुन्छु हुँदैन भनेर हुने कुरा होइन,’ देउवाले अनलाइनखबरसँग भने, ‘पार्टीले संसदीय दलको नेता जसलाई छान्छ ऊ नै मुख्यमन्त्री हुन्छ । निर्वाचनको सबै परिणाम आएपछि त्यो कुरा अघि बढ्ला ।’

नेकपा माओवादी केन्द्रमा भने डडेल्धुराबाट निर्वाचित खगराज भट्ट निर्विकल्प मुख्यमन्त्रीको दाबेदार भएको नेताहरु बताउँछन् । हाल निर्वाचन जितेकामध्ये उनै सबैभन्दा सिनियर भएकाले भट्टलाई मुख्यमन्त्री बनाउने कुरामा दुई मत नभएको एक नेताले बताए । मुख्यमन्त्री बनाउने शर्तमा नै भट्टले डडेल्धुराको प्रतिनिधिसभामा शेरबहादुर देउवालाई छाडेको चर्चा पनि छ ।

भट्ट स्वयंले पनि गठबन्धनका नेताहरुबीचको सहमतिअनुसार आफू अगामी चुनावपछि प्रदेशको मुख्यमन्त्री बन्ने बताउँदै आएका थिए । प्रदेशको मुख्यमन्त्री दिने सहमतिपछि नै आफू प्रदेशसभाको चुनाव लड्न तयार भएको बताउने भट्टले चुनाव अघि अनलाइनखबरसँग भनेका थिए, ‘त्यो स्वाभाविक हो । हामी राम्रो मत प्राप्त गरेर गठबन्धनसहित चुनाव जित्छौं । सबै प्रकारले छलफल चलेको छ ।’

नेकपा एकीकृत समाजवादी पार्टीबाट भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका दीर्घबहादुर सोडारीले पनि मुख्यमन्त्रीमा आकांक्षा देखाएका छन् । उनी कैलाली–४ को प्रदेशसभा(१) बाट पुनः निर्वाचित भएका छन् ।

तर सत्तारुढ गठबन्धनमा केन्द्रदेखि प्रदेशसम्म के–कसरी भागबण्डा मिल्छ भन्ने कुरामा सुदूरपश्चिम सरकारको अगामी नेतृत्व कसले पाउँछ, भन्ने कुरा टुंगोमा पुग्नेछ । अहिलेको गठबन्धनले निरन्तरता नपाएको अवस्थामा भने यहाँ पनि छुट्टै समीकरण बन्नेछ तर अहिले त्यो सम्भावना नरहेको नेताहरुको दाबी छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?