+
+

क्रिकेट विश्वकप लिग टू : फेरिएको नेपाली टिमको नामिबिया टुर कस्तो होला ?

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ मंसिर १५ गते १५:०८

१५ मंसिर, काठमाडौं । सन्दीप लामिछाने बिनाको पहिलो विदेश टुर । नयाँ कप्तान अनि फेरिएको नेपाली टिम यतिबेला आईसीसी क्रिकेट विश्वकप लिग टु खेल्न नामिबियामा छ ।

डिसेम्बर १ देखि ८ सम्म हुने लिग टु को शृंखलामा नेपाल र नामिबियासहित स्कटल्याण्डले खेल्नेछन् ।

एकदिवशीय अन्तर्राष्ट्रिय (ओडीआई) विश्वकप छनोटको रोडम्यापसँगै एसोसिएट राष्ट्रका लागि ओडीआई मान्यतालाई जोगाइराख्नको लागि लिग टु का हरेक शृंखला महत्वपूर्ण नै छ । तर जति लिग टु अन्त्यतिर आइरहेको छ नेपालका लागि अब आउने शृंखलाहरु झनै महत्वपूर्ण बन्दै छन् ।

नेपालले पछिल्लो पटक स्कटल्याण्डमा खेलेको लिग टु शृंखलामा पनि यी तीन टिम नै थिए । जहाँ नेपालले चार मध्ये एक खेल मात्र जितेको थियो ।

तर स्कटल्याण्डमा खेल्ने टिम र अहिले नामिवियामा खेल्ने टिममा धेरै परिवर्तन आइसको छ । अहिले नेपाली टिममा कप्तान र प्रशिक्षक फेरिएका छन् । सन्दीपको ठाउँमा रोहितकुमार पौडेलले नेपाली टिमको नेतृत्व गरेका छन् । पुबुदु दशानायकेको ठाउँमा मनोज प्रभाकर प्रशिक्षक छन्  । टिमको वातावरण पनि फेरिएको छ ।

सन्दीप बिनाको लिग टु

फौजदारी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लेग स्पीनर सन्दीप लामिछाने बिना नेपाली टोलीले पहिलो पटक लिग टु खेल्दैछ । अहिलेसम्मको पाँच लिग टु शृंखला खेलेका सन्दीपले पछिल्लो तीन शृंखलामा नेपालको कप्तानी नै गरेका थिए । तर नाबालिग किशोरी बलात्कार गरेको आरोप लागेपछि सन्दीपलाई नेपाल क्रिकेट संघ क्यानले कप्तानबाट निलम्बन गरेको थियो ।

हुन त सन्दीपबीनै नेपालले केही समयअघि मात्रै घरेलु मैदान युएई विरुद्धको ओडीआई शृंखला २-१ ले जितेको थियो ।

तर नामिविया भ्रमणामा उनको अभाव महसुस हुन सक्छ । किनकि लिग टु मा नेपालले खेलेका सबै २० खेलमा सन्दीपले ४२ विकेट लिएका छन् र उनी सर्वाधिक विकेट लिने सूचीमा चौथो स्थानमा छन् । उनी पछि धेरै विकेट लिने नेपाली खेलाडीमा करण केसी छन् । करणले १९ खेलमा ३७ विकेट लिएका छन् ।

युएई विरुद्ध त्रिवि क्रिकेट मैदाना खेलेको शृंखलामा सन्दीप नहुँदा नेपालको स्पीन पहिलो जस्तो देखिएन । यसअघि ओपनरको भूमका निभाएका कुशल भुर्तेलले युएई विरुद्ध लेग स्पीन फाल्दै अलराउण्डरको भूमिका निभाएका थिए । चोटबाट पुनरागमन गरेका ललित राजवंशीले मुख्य स्पीनरको भूमिकामा खेलेका थिए ।

सन्दीपको बहिर्गमनपछि उनको डेपुटी रहेका २० वर्षीय पौडेलले नेतृत्वको जिम्मेवारी पाएका छन् । केन्या भ्रमणका तीन खेलको एकदिवसीय शृंखलामा रोहितले नै कप्तानी गर्नै नेपाललाई जिताएका थिए । यस्तै घरेलु मैदानमा युएई विरुद्ध पनि उनकै कप्तानीमा नेपालले शृंखला जित्यो । उमेर समूहमा पनि रोहितले कप्तानी गरिसकेका छन् ।

लिग टुको तयारी र ब्याटिङमा चिन्ता

नेपालले युएई विरुद्धको शृंखला नामिबियामा हुने लिग टु को तयारी स्वरुप नै खेलेको थियो । जहाँ पहिलो खेलमा ब्याटिङ कमजोर हुँदा नेपाल पराजित भएको थियो भने त्यसपछिका दुई खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गर्दै जित निकालेर नेपालले घरेलु मैदानमा पहिलो दुईपक्षीय ओडीआई शृंखला जितेको थियो ।

प्रशिक्षक मनोज प्रभाकरले उक्त शृंखलाका नामिबिया टुरका लागि राम्रो तयारी भएको प्रतिक्रिया दिएका थिए । तर उनले नेपाली खेलाडीले सिक्ने अवस्थामा रहेको र गल्ती कम गर्दै जानुपर्ने कुरामा जोड दिएका थिए । उनले अहिले युवा टिम रहेकोले पछि राम्रो हुने भन्दै युवा कप्तान रोहित पौडेलले पनि धेरै सिक्न बाँकी रहेको बताएका थिए ।

आधिकारिक कप्तान बनेपछिको पहिलो शृंखला नै जितेपछि कप्तान रोहितले भने नेपालले ब्याटिङमै सुधार गर्नुपर्ने बताएका थिए । उनले पनि युएईसँगको शृंखलाले नामिबयाका लागि सहयोग पुग्ने बताएका थिए ।

युएई विरुद्ध पहिलो खेलमा अर्जुन साउद र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए पनि नेपाल पराजित भएको थियो । तेस्रो खेलमा आसिफ शेखको अविजित ८८ रन र ज्ञानेन्द्र मल्लको अर्धशतकमा नेपालले खेल जित्दै शृंखला जितेको थियो ।

भारतमा प्रशिक्षण

यू-१९ राष्ट्रिय क्रिकेट सुरु भए पछि सिनियर टिमका लागि प्रशिक्षण गर्ने मैदान अभाव भयो । जसले गर्दा नेपाल क्रिकेट संघ क्यानले दिल्ली डिस्ट्रिक क्रिकेट एसोसिएसनसँग सहकार्य गर्दै करिब एक साता भारतमा प्रशिक्षणको व्यवस्था मिलायो ।

जहाँ नेपालले दुई अभ्यास खेल खेल्यो र मिश्रित नतिजा निकाल्यो । पहिलो खेलमा रोहित र दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरे पनि नेपाल दिल्ली एण्ड डिस्ट्रिक क्रिकेट एसोसिएसनको टिमसँग पराजित भएको थियो । दोस्रो खेलमा सागर ढकालको ५ विकेट प्रदर्शनमा नेपालले जित निकालेको थियो ।

नेपाल र दिल्लीमा गरेको तयारीले नामिबियामा घरेलु टिम र स्कटल्याण्डसँग खेल्न कति सहयोग पुग्छ हेर्न बाँकी नै छ । नामिबियाले भर्खरै घरेलु मैदानमा अमेरिका र पपुवा न्यु गिनी सहितको शृंखलामा चार मध्ये तीन खेल जित्दै ६ अंक जोडेको छ । स्कटल्याण्ड भने अष्ट्रेलियामा भएको टी-२० विश्वकप खेलेर फर्किएको हो ।

नेपालले पछिल्लो पटक सन् २०१८ मा विश्व क्रिकेट लिग डिभिजन टु खेल्न नामिबिया गएको थियो । जहाँ नेपाल फाइनल पुग्दै २०१८ मै जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा पुगेको थियो त्यहीँबाट नेपालले पहिलो पटक चार वर्षका लागि ओडीआई मान्यता पाएको थियो ।

स्कटल्याण्ड टुरपछि फेरिएको टिम

स्कटल्याण्डमा लिग टु खेलेर फर्केपछि तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले राजिनामा दिएर क्यानडा फर्के । त्यसपछि क्यानले भारतीय पूर्व अलराउण्डर मनोज प्रभाकरलाई प्रशिक्षक नियुक्त गर्‍यो ।

उनको आगमनपछि नेपालको टिम र खेल्ने शैलीमै परिवर्तन भयो । उनी आएपछि नेपालले केन्या भ्रमण गर्‍यो । जहाँ क्यानले पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई टिममा पुनरामगन गरायो भने कुशल भुर्तेल टिममा परेनन् । यस्तै यू-१९ टिमका विकेटकिपर अर्जुन साउदलाई मौका दिइयो । ज्ञानेन्द्र र अर्जुन दुवैले केन्यामा राम्रो प्रदर्शन गर्दै आफूलाई प्रमाणित गरे ।

त्यसपछि प्रधानमन्त्री कप एकदिवशीय क्रिकेटमा जस्तो प्रदर्शन भए पनि यी दुवैले युएई विरुद्ध शृंखला खेले र नामिबिया टुरमा पनि टिममा छन् । यी दुई खेलाडी असारमा अन्तिममा स्कटल्याण्ड टुरमा थिएनन् ।

लिग खेल्ने त्यस टुरमा कप्तान रहेका सन्दीपसँगै बसिर अहमद, आदिल आलम, विनोद भण्डारी, देव खनाल, किशोर महतो र पवन सर्राफ खेलाडी अहिले टिममा छैनन् । यी मध्ये विकेटकिपर विनोद बाहेक ६ खेलाडी पाँच टी-२० र तीन एकदिवशीय खेलका लागि केन्या पनि गएका थिए । तर युएईसँगको शृंखलामा आदिल आलम बाहेक अरु परेनन् । युएईसँग एक खेल पनि खेल्न नपाएका आदिल सिनियर टिममा स्थान बनाएपछि पहिलो पटक बाहिर रहे ।

रोहितसँगै दीपेन्द्र, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, करण केसी स्कटल्याण्ड टुरदेखि निरन्तर टिममा छन् । कुशल भुर्तेलले भने केन्या जान नपाएपनि टिममा पुनरागमन गरिसकेका छन् ।

यसबाहेक युएई विरुद्धको शृंखलामा फास्ट बलर गुलशन झा, स्पीनर सागर ढकाल र ललित राजवंशीले नामिबिया जाने टिममा निरन्तरता पाए । यस्तै युएई विरुद्ध डेब्यु गरेका स्पीन बलिङ अलराउण्डर हरिशंकर शाहले पनि सिनियर टिमसँग पहिलो विदेश टुरमा छन् भने डेब्यु गर्न बाँकी नयाँ अनुहारको रुपमा फास्ट बलर नन्दन यादव छन् ।

प्रशिक्षक प्रभाकरले ५० ओभरको खेल टी-२० भन्दा फरक हुने भन्दै त्यसका लागि सुहाउने खेलाडी टिममा राखेको यसअघि बताएका थिए । अहिले टिममा रहेका मध्ये डेब्यु गर्न बाँकी नन्दनसँगै अर्जुन र हरि शंकरले लिग टु को खेल खेल्न बाँकी छ ।

नेपाली टिममा अहिले चार जना स्पेसिलिस्ट ब्याटरको रुपमा कप्तान रोहित, आसिफ शेख, ज्ञानेन्द्र मल्ल र अर्जुन साउद छन् । आसिफ र अर्जुन विकेटकिपर हुन् । यस्तै मुख्य ब्याटरको रुपमा रहेका दीपेन्द्र सिंह ऐरीले पार्टटाइम स्पीन बलिङ गर्नेछन् । यस्तै कुशल भुर्तेल पनि लेग स्पीन बलिङ गर्नेछन् ।

स्पीनरको रुपमा ललित र सागर छन् भने फास्ट बलरमा सोमपाल कामी, करण केसी र गुलशन झासँगै नयाँ अनुहार नन्दन छन् । ब्याटिङ अलराउण्डर आरिफ शेखले पार्टटाइम फास्ट बलिङ पनि गर्छन् ।

भारतमा तयारी गरेपछि नेपाली टिमले नामिबिया पुगेर अभ्यास गरेको छ । टिमका सदस्य तथा पूर्व कप्तान ज्ञानेन्द्रले तयारी राम्रो भएको बताउँदै कन्डिसन परक रहेको बताए । ‘हामी चिसो ठाउँबाट आएको यता गर्मी छ । कन्डिसन फरक छ । तयारी राम्रो भएको छ,’ नामिबियाबाट ज्ञानेन्द्रले भने, ‘हामी कम्तीमा पनि तीन खेल जित्ने लक्ष्य राखेका छौं ।’

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?