+
+
विचार :

के हाम्रो नियति देउवा नै हुन् ?

डडेल्धुराका जनताले देशको कार्यकारी प्रमुखमा पाँच पटक पुर्‍याउँदा के पाए त ? त्यही अभाव र निराशा, रोजगारीको लागि भारत जानुपर्ने बाध्यता, त्यहाँको नारकीय जिन्दगी र अपमान ?

हिरा विश्वकर्मा हिरा विश्वकर्मा
२०७९ मंसिर १८ गते १०:१७

अहिले सामाजिक संजालमा एउटा भिडियो भाइरल भइरहेको छ । उक्त भिडियोमा एकजना महिलाले डडेल्धुराका जनतालाई तथानाम गाली गरेकी छन् । उनको गाली सुन्दा अस्वाभाविक र उत्तेजक लागे पनि त्यो सबै यथार्थमा आधारित छ ।

भिडियोमा ती महिलाले सागर ढकाललाई भोट दिएको भए के बिग्रिन्थ्यो भन्दै प्रश्न गरेकी छन् । देउवालाई भोट दिनुको नियति त्यही बम्बईको गल्लीको बसाइ, रेल्वे प्लेटफर्महरूको सुताइ, वडापाउको खुवाइ, होटलको भाडा मझाइ र चौकीदारको रूपमा हरेक दिन भारतीयहरूलाई हरेक दिन सलाम गर्ने पुरानै जीवनशैलीलाई निरन्तरता दिनु हो भन्ने उनको तर्क छ । अबको जिन्दगी पनि त्यस्तै हुने हो, त्यही जिन्दगीलाई निरन्तरता दिनको लागि देउवाले डडेल्धुराको एउटा रिसोर्टमा बसेर बाँडेको पाँच हजार रुपैयाँको बाटो खर्च थपाइ पनि भनेकी छन् ।

हुन पनि डडेल्धुराका जनताले देशको कार्यकारी प्रमुखमा पाँच पटक पुर्‍याउँदा के पाए त ? त्यही अभाव र निराशा, रोजगारीको लागि भारत जानुपर्ने बाध्यता, त्यहाँको नारकीय जिन्दगी र अपमान ?

मेरा लागि सौभाग्य वा दुर्भाग्य भनौं, विगत १८ वर्षदेखि कहिले डडेल्धुराकै लागि वा कहिले त्यसलाई बाटो बनाएर अन्यत्र जाने मौका ३–४ वर्षमा एक पटक मिल्ने गरेको छ । अतः यो करिब दुई दशकको अवधिमा डडेल्धुरामा के परिवर्तन भयो भन्ने कुराको साक्षी बन्न पाएको छु । तर मैले भन्नै पर्छ, सानातिना, झिनामसिना सुधार बाहेक आम डडेल्धुरावासी जनताको जीवनमा तात्विक भिन्नता केही आएको छैन ।

गएको एक महिना अगाडि अमरगढी नगरपालिकाको वडा नम्बर ६ दुमडको दलित बस्तीको अवलोकनका साथै त्यहाँको महिला समूहसँग अन्तरङ्ग छलफल गर्ने अवसर मिल्यो । त्यसका साथै देउवाकै जन्मथलो गन्यापधुराको पनि अवलोकन तथा जानकारी पाउनुका साथै वडा नं. २ पुज्कोटको दलित बस्तीको बारेमा पनि थाहा भयो ।

माथि एउटी महिलाले भारतमा हुने नेपालीको अपमान र दुरवस्था, ती दुइटा दलित बस्तीहरूको अवस्थालाई बिम्बको रूपमा लिइयो भने देउवाको त्यहाँको सातौं पटकको सांसद र अब हुनै छैटौं पटकका प्रधानमन्त्रीको रूपमा सत्तारोहण के यस्तै अवस्थालाई निरन्तरता दिनको लागि हो भन्ने प्रश्न गर्न सकिन्छ ।

हीरा विश्वकर्मा

सामान्यतया सांसदको रूपमा जनप्रतिनिधिहरूले आफ्नो निर्वाचन क्षेत्रमा पूर्वाधारसहितको भौतिक विकास र त्यहाँका जनताको रोजगारीसहितको सामाजिक विकासमा कुनै न कुनै भूमिका खेलेका हुन्छन् तर देउवाले आफ्नै निर्वाचन क्षेत्रमा पनि त्यस्तो के गरे जसले गर्दा उनलाई पटक–पटक त्यहाँका जनताले जिताइरहे, यसमा हाम्रो व्यवस्थाको कमजोरी हो कि व्यक्ति हावी हो, खोज्नुपर्ने विषय भएको छ ।

अमरगढी वडा नं. ६ दुमडमा करिब ८७ घर दलितहरू त्यसमा पनि ताम्राकारहरूको बस्ती छ, उनीहरूको परम्परागत पेशा तामाको भाडा बनाउने हो । विश्वकर्माभित्रको यो समुदायको पेशालाई सबैभन्दा दुख्याहा पेशा मानिन्छ । किनभने घरायसी प्रयोजनमा आउने तामाका भाडाहरू खासगरी गाग्री, ताउला, रोचेलगायतका सामान ठूल्ठूला हुन्छन् । यसको बजार सीमित हुन्छ । अतः महिनौं लगाएर तयार पारेका यस्ता सामान बेच्न थोरै भए पनि ५०–६० किलोको भारी बोकेर गाउँ–गाउँ डुल्नुपर्छ । त्यस्तो भारी अत्यन्त ठूलो र भद्दा हुन्छ ।

मेरो आफ्नै परिवारभित्र यस्तो पेशा गर्ने भएकाले मलाई थाहा छ, योसँग जोडिएको दुःख र कष्ट । छलफलको क्रममा दुमडका ताम्राकारहरू आफ्नो उत्पादन बेच्नको लागि भारतको उत्तराखण्डको सबै गाउँ तथा शहरहरू, रोल्पा, रुकुम, बझाङ, बाजुरा, बाग्लुङसम्म फिजिनुपर्छ । त्यसरी फिजिएकामध्ये राम्रो गर्नेले वर्षमा ५/६ लाख र ठीकै गर्नेले दुई-तीन लाख कमाउने रहेछन् । तर त्यो कृषि उत्पादनको लागि एक डेढ रोपनी मात्र पहाडको भिरालोमा भएको जग्गामा आश्रित परिवारको सामान्य खर्च धान्न र अहिले फिजिएका लघुवित्त कार्यक्रमहरूको ब्याज तिर्न ठिक्क हुने रहेछ ।

अमरगढी वरिपरि घना जंगल भएकाले बँदेल र बाँदरलगायत जनावर हुने नै भए । किसानका एक नम्बरका शत्रु रहेछन् ती जसले सबै बालीनाली सखाप पारिदिन्छन् । त्यसले गर्दा त्यही खेती पनि उनीहरूका लागि घाँडो भयो । वन कार्यालयले क्षतिपूर्ति दिने भनेतापनि त्यो त्यहाँको कर्मचारीतन्त्रले कहिले दिने टुंगो नहुने, एकातर्फ पेशागत कष्ट, अर्कोतर्फ जंगली जनावरको कहर अर्कोतर्फ लघुवित्त कार्यक्रमको महिनैपिच्छेको किस्ता र ब्याजको कहरले गर्दा बाँच्न त बाँच्ने तर कति कष्टपूर्ण तरिकाले बाँच्ने भन्ने प्रश्न त्यहाँ सधैं तेर्सिइरहने देखिन्छ ।

गन्यापधुराको वडा नम्बर २ को पुज्कोटमा करिब ६७ घर दलितहरूको छ । त्यहाँ करिब ३७ घर विकहरू, २०/२२ घर भुलहरू तथा ८/९ घर नेपाली अर्थात् परियारहरूको रहेको छ । उनीहरूको बसाइ, लवाइ र खवाइ हेर्दा दुमडको दलितहरूको भन्दा पनि तन्नम देखिन्छ । घरमा रहेका महिलाहरूको ख्याउटे अनुहार, पेट बाहिर निस्किएका तथा मैलाधैला केटाकेटी तथा रोगी र अशक्त बुढाबुढीहरू ।

उनीहरूको जीविकोपार्जनको मुख्य स्रोत भनेको पुरुषहरूले अपमानित तथा कष्टपूर्ण जिन्दगीसहित भारतका विभिन्न शहरमा काम गरेर बचाएको थोरै रकम, देउवाहरूले बेला–बेलामा उनीहरूको घरखेतमा काम गरेबापत उपलब्ध गराउने सीमित ज्याला तथा अन्नहरू । जानकारी लिने क्रममा थाहा भयो प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत उनीहरूको टोलमा बाटो बनाउने कार्यक्रम आएको रहेछ । माथिबाट तलसम्म चुहिंदै आउने बजेटमध्ये ज्याला बापत कति पाउने हुन्, खासै जानकारी त्यहाँका देउवा वडाध्यक्षलाई पनि थाहा रहेनछ । तर सो कार्यक्रम आयो भने दुई-चार छाक उनीहरूको घरमा मासु–भात पाक्ने सम्भावना भने थियो ।

समस्या त्यहीं सीमित छैन, उनीहरूको गाउँमा सामुदायिक वन रहेछ, सामुदायिक वनको सदस्य नभएमा त्यसबाट गैरसदस्यहरूले लाभ लिन सक्ने अवस्था नेपालका कुनै पनि वनबाट हुँदैन भने त्यो पनि अपवाद हुने कुरा भएन । एउटा घरधुरीबाट तीन हजार रुपैयाँका दरले सामुदायिक वनको सदस्यताका लागि रकम उठाइएको रहेछ । तर अहिले उनीहरूले न त सदस्यता प्राप्त गरे न रकम फिर्ता । वडाध्यक्षले यसमा अनभिज्ञता प्रकट गर्छन्, तर उनीहरूमध्ये धेरैले पैसा बुझाइसकेको कुरा गर्छन् । गरिबलाई योभन्दा बढी मार के हुन सक्छ ?

मेरो विगत १०/१२ वर्षको डडेल्धुराको यात्रामा अत्तरियादेखिको बाटो नेपालका अन्य पहाडी राजमार्गको तुलनामा राम्रो मान्नुपर्दछ । तर भासुको भीर भन्दा माथि खाल्डाखुल्डी सामान्य कुरा भयो । यो अवधिमा सधैं पहिरो जाने भासुको भीरमा आंशिक भए पनि बाटो ढलान गर्ने कार्य भएको रहेछ । देउवा आफू त यो बाटो अवश्य हिंड्दैनन् । उनलाई हेलिकोप्टरको उपलब्धता जो छ र पनि सडक अवस्था राम्रै राख्नेहरूलाई धन्यवाद ।

आजभन्दा १२ वर्ष अगाडि नै अत्तरियादेखि करिब १० किलोमिटर पूर्वको खुटिया भन्ने ठाउँबाट दिपायल हुँदै साइपालसम्म बाटो बन्ने कुरा थियो । अहिले अत्तरियाबाट डडेल्धुराको स्याउले बजार घुमेर दिपायल डोटी पुग्नुपर्छ । यसको लम्बाइ १८१ किलोमिटर छ, त्यो खुटिया दिपायलसम्मको बाटो जम्मा ९० किलोमिटरको फास्टट्रयाक हुने भनिन्थ्यो ।

तर एक दशकपछि पुग्दा पनि त्यो बाटोको ट्रयाकसम्म पनि पूरा भएको रहेनछ भने अहिलेको भन्दा आधा नजिक पर्ने बाटो बनाउन प्रधानमन्त्री देउवाको दृष्टि नपुगेको हो कि त्यो पनि संघीय सरकारको सुदूरपश्चिमलाई गर्ने विभेदको नतिजा हो बुझ्न गाह्रो भयो ।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय तथा कांग्रेसभित्र गगन थापाहरूको हस्तक्षेपकारी भूमिकाको कारणले गर्दा देउवाको प्रधानमन्त्रीको कुर्सी सहजै प्राप्त हुने स्थिति छैन । तर उनी राजनीतिका चतुर खेलाडी हुँदै हुन् । निर्वाचित तथा समानुपातिक सांसदहरू अधिकांश उनका कृपापात्रहरू नै छैन, पार्टी सभापतिमा जसरी उनले निर्वाचन जिते, त्यसरी नै संसदीय दलको नेता पनि चुनिने लगभग निश्चित छ, अन्य कुनै चमत्कार भएन भने । त्यसपछिको नियति के ?

२०५२ सालमा उनकै नेतृत्वको सरकारले प्राडो, पजेरो तथा सुरा–सुन्दरी काण्ड गरेको हामीले बिर्सेका छैनौं । विगत १८ महिनाको सरकारले संविधान मिच्न नदिने काम बाहेक मुलुक र जनताको हितमा के गर्‍यो ? त्यो हामीलाई थाहा छ । यस्तो अवस्थामा हामीले नियतिलाई दोष दिने कि सक्षम व्यक्तिलाई कार्यकारी प्रमुख बनाउने प्रणाली ल्याउने सोच्ने जिम्मा हाम्रै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?