+
+

अर्थतन्त्रका चुनौतीबारे सीबीफीन र आईएमएफबीच छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १८ गते १६:३३

१८ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की नेपाल  प्रतिनिधि टेरेसा डबान सान्चेजले नेपालको मात्र नभई विश्व अर्थतन्त्र अहिले जटिल बन्दै गएको बताएकी छन् ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) सँगको छलफलमा उनले संयुक्त राज्य अमेरिका र युरोपमा समेत आन्तरिक माग र आपूर्तिको अवस्था खल्बलिंदा मुद्रास्फीति उच्च भई ब्याजदर बढेको बताइन् ।

वर्तमान विषम परिस्थितिलाई सहज बनाउन सबै देशहरुले आफ्नो मौद्रिक नीतिमार्फत सावधानी पूर्वक परिस्थितिसँग सामना गर्न तयार हुनुपर्ने उनको भनाइ छ ।

नेपालको अर्थतन्त्र विश्वका दुई ठूला अर्थतन्त्र र बजार भएका भारत र चीनको बीचमा रहेकोले नेपालले उत्पादनमुलक क्षेत्रमा लगानी विस्तार गर्दै उत्पादकत्व वृद्धि, आन्तरिक उपयोगमा प्रोत्साहन र विशिष्ट विशेषता भएका मौलिक उत्पादनहरुको निर्यात प्रबर्द्धनमा जोड दिनुपर्ने उनको सुझाव छ ।

छलफलमा सीबीफीनका अध्यक्ष पवनकुमार गोल्यानले कम उत्पादनमुलक क्षेत्रमा अत्यधिक लगानी भएका कारण पनि नेपालको उत्पादन प्रणाली र कृषि क्षेत्र कमजोर रहेको टिप्पणी गरे । उनले कम उत्पादनमुलक क्षेत्रमा अत्यधिक लगानीको प्रत्यक्ष असर आयातमा परेको बताए ।

उत्पादनमुलक क्षेत्रमा लगानी विस्तारसहित उत्पादकत्व अभिवृद्धि, नेपाली उत्पादनहरुको उपभोगलाई प्रोत्साहन र मौलिक उत्पादनहरुको निर्यात प्रबर्द्धनमा जोड दिने खालका नीतिगत सुधार गर्न सके मात्र आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा बदल्दै दीगो र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सहयोग पुग्नेमा उनको जोड थियो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानसले बैंक तथा वित्तीय संस्थाहरुको नन–फन्डेड आम्दानी कम हुँदै गएको उल्लेख गर्दै बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो उत्पादन र लगानीका क्षेत्रहरु आफैं पहिचान गरी अगाडि बढ्नुपर्ने सुझाव दिए ।

सीबीफीनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले नेपालको आर्थिक एवं वित्तीय क्षेत्र सुधार र स्थायित्वका विविध क्षेत्रहरुमा आईएमएफ र सीबीफीनबीच पारस्पारिक सहयोग र सहकार्य अत्यावश्यक रहेको औल्याए ।

सीबीफीनका उपाध्यक्ष राजेश उपाध्यायले बैंक तथा वित्तीय संस्थाले लिने सेवा शुल्क, ब्याजदर, लगानी योग्य रकमको अभावलगायतका विषयले बैंक तथा वित्तीय संस्थाहरूमा चुनौती सृजना हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै नेपालको आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार र स्तरोन्नतिका क्षेत्रमा सहकार्य गर्न आईएमअफका प्रतिनिधिसमक्ष आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?