
६ असोज, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) समेतको सुझावमा कार्यान्वयनमा रहेका आर्थिक सुधारका कार्यक्रमलाई थप तीव्रता दिइने बताएका छन् ।
सोमबार आईएमएफका नेपाल मिसन प्रमुख सरवत जहाँसँग भर्चुअल बैठक गर्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन् । बैठकमा मिसन प्रमुख सरवतले हालै नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्न सक्ने प्रभाव र आर्थिक सुधारका कार्यक्रम निरन्तरताका विषयमा अर्थमन्त्रीसँग छलफल गरेकी छन् ।
छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य जिम्मेवारी तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नु रहेको र हालै जेनजी युवाको नेतृत्वमा भएको प्रदर्शन क्रममा व्यक्त भएको सुशासन र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने विषयमा सरकार कटिबद्ध रहेको जानकारी गराए ।
मन्त्री खनालले आईएमएफ समेतको सुझावमा कार्यान्वयनमा रहेका आर्थिक सुधारका कार्यक्रमलाई थप तीव्रता दिइने जानकारी गराए । उक्त अवसरमा आईएमएफको सहयोगमा कार्यान्वयन भइरहेको ‘एक्सटेन्डेड क्रेडिट फेसिलिटी (ईसीएफ)’ कार्यान्वयनको अवस्था समीक्षा गरी यसको छैटौं समीक्षा प्रतिवेदन छिट्टै आईएमएफ बोर्ड बैठकमा पेस गर्ने विषयमा छलफल भएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए ।
आईएमएफ मिसन प्रमुख सरवतले नेपालमा आर्थिक सुधारका कार्यक्रममा नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको जानकारी गराएकी छन् । उक्त अवसरमा आईएमएफका नेपालस्थित आवासीय प्रतिनिधि प्रणव गुप्ताको समेत उपस्थिति थियो ।
प्रतिक्रिया 4