+
+
नेफ्टा अवार्डको घोषणा :

‘नेपाली फिल्मलाई सफ्टपावरको रुपमा विदेशमा प्रस्तुत गर्छौं’

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते १२:३३

काठमाडौं । नेफ्टा फिल्म अवार्डको ११ औं संस्करणमा राजनीतिज्ञदेखि कलाकारसम्मको सहभागिता हुने भएको छ । बुधबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा अवार्डको पोस्टर र पोर्टल सार्वजनिक गरियो ।

कार्यक्रममा निर्देशक तथा निर्माता नीर शाहले अवार्ड सफलताको कामना व्यक्त गरे । अभिनेता राजेश हमालले विदेशमा अवार्ड गर्नु चुनौतीपूर्ण हुने भए पनि सफल हुने विश्वास व्यक्त गरे ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले कोरोना महामारीपछि नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तार भएको र दर्शकको संख्या बढ्नु उत्साहजनक भएको बताए ।

‘नेपाली फिल्मलाई सफ्टपावरको रुपमा विकास गरेर विदेशी बजारमा लैजान हाम्रो उद्देश्य छ । यो सपना हामीले नेफ्टा अवार्डमार्फत पूरा गर्न चाहन्छौं,’ अध्यक्ष लामाले भने, ‘नेपाली र विदेशी फिल्ममेकरबीच बजार, संस्कृति र सम्भावना आदानप्रदान गर्ने हाम्रो उद्देश्य हो ।’

आयोजक यूएस खबरका सञ्चालक किसन रेग्मीले नेपाल र अमेरिकाबीचको ७५ औं कूटनीतिक सम्बन्ध स्थापनाको छेकोमा आयोजना हुन लागेको अवार्डलाई लिएर आफू उत्साहित रहेको सुनाए ।

फेम नेपालका सञ्चालक विमलकुमार पछाईले आफ्नो इभेन्ट म्यानेजमेन्टको अनुभवलाई अमेरिकामा प्रस्तुत गर्न लागेको बताए । हलिउड र बलिउडकर्मीलाई सहभागी गराएर पनि कार्यक्रम गर्ने आफूहरुको योजना रहेको उनले सुनाए । हलिउडका नेपाली कलाकार जसवन्तदेव श्रेष्ठले अवार्डलाई सफल तुल्याउन आफ्नो भूमिका हुने बताए ।

अमेरिकाको टेक्ससस्थित ६ हजार ३०० दर्शक क्षमताको ट्रस्ट सीयू थिएटरमा कार्यक्रम गर्न लागिएको हो । भर्चुअल पत्रकार सम्मेलनमा अवार्ड स्थलको भिडियो पनि प्रस्तुत गरियो ।

अध्यक्ष लामाका अनुसार नेपालका चर्चित कलाकारसहित राजनीतिज्ञहरु पनि उक्त कार्यक्रममा सहभागी हुनेछन् । यूएस खबर, फेम नेपाल, ८८४८ मिडिया र आर्यन फिल्म्सले संयुक्त रुपमा अवार्ड गर्न लागेका हुन् ।

२०६३ सालमा काठमाडौंको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट नेफ्टाले अवार्डको सुरुवात गरेको थियो । गत वर्ष कोरोना महामारीले हुन नसकेको अवार्ड यसपटक भौतिक रुपमा गर्ने तयारी भएको हो । यसअघि मलेसिया, हङकङ, कतार र दुबईजस्ता विदेशी थलोमा कार्यक्रम भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?