+
+

गण्डकी प्रदेश : जनमोर्चा बाहिरिंदा राप्रपाको ‘इन्ट्री’, कस्तो बन्ला सरकार ?

विकास रोकामगर विकास रोकामगर
२०७९ मंसिर २२ गते १९:३४
गण्डकी प्रदेश सभा । फाइल तस्वीर

२२ मंसिर, पोखरा । ६० सिट संख्या रहेको गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चा बाहिरिंदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रवेश भएको छ । बुधबार निर्वाचन आयोगले समानुपातिकतर्फ सिट बाँडफाँट गरेसँगै राप्रपाबाट गण्डकी प्रदेशमा २ जना सांसद पक्का भएका हुन् ।

अघिल्लो पटक गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाले ३ सिट पाएको थियो । जसमा बागलुङ १ (१) बाट कृष्ण थापा र २ (२) बाट टेकबहादुर घर्ती प्रत्यक्ष निर्वाचित भएका थिए भने पियारी थापा समानुपातिक सांसद बनेकी थिइन् । घर्तीको मृत्यु भएपछि रिक्त पदका लागि भएको उपनिर्वाचनमा खिमबहादुर शाही निर्वाचित भएका थिए । अघिल्लो पटक गण्डकी प्रदेश सभामा समानुपातिकसहित ३ सिट पाएको जनमोर्चाले यसपटक भने एउटा पनि सिट जित्न सकेन ।

जनमोर्चाले प्रदेश सभामा समानुपातिकतर्फ यसपटक पनि पियारी थापालाई पहिलो नम्बरमा राखेको थियो । तर, जनमोर्चाले ‘थ्रेस होल्ड’ कटाए पनि अन्य पार्टीको मतभार बढी भएकाले समानुपातिक सांसद नपाएको हो । समानुपातिकतर्फ जनमोर्चा सातौं नम्बरमा छ । जनमोर्चाले कुल १४ हजार ९४० समानुपातिक मत पाएको छ ।

समानुपातिकतर्फ जनमोर्चाभन्दा हाम्रो नेपाली पार्टी (लौरो अभियान)ले बढी मत पाएको छ । पाँचौं नम्बरमा रहेको लौरो अभियानले पनि जनमोर्चाझैं थ्रेसहोल्ड कटाए पनि सांसद पाउन सकेन । लौरो अभियानले १८ हजार ७३७ समानुपातिक मत पाएको छ ।

समानुपातिकतर्फ चौथो स्थानमा रहेको राप्रपाले भने प्रत्यक्षतर्फ जित निकाल्न नसके पनि समानुपातिकबाट २ सांसद पाउनेछ । राप्रपाले कुल ५९ हजार ४८३ समानुपातिक मत पाएको छ । छैटौं नम्बरमा रहेको नेकपा एकीकृत समाजवादीले १५ हजार ७६ मत पाएको छ ।

कुन पार्टीका सांसद कति ?

६० सदस्यीय गण्डकी प्रदेश सभामा ३६ सांसद प्रत्यक्ष र २४ सांसद समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिन्छन् । मतभारका आधारमा सबैभन्दा बढी समानुपातिक सांसद नेकपा एमालेले १०, नेपाली कांग्रसले ९ र नेकपा माओवादीले ३ पाउने छन् ।

मंसिर ४ गते सकिएको निर्वाचनबाट कुनै पनि दलले एकल बहुमत ल्याउन सकेनन् । तर, निर्वाचनको अन्तिम नतिजाअनुसार नेपाली कांग्रेस ठूलो दल बनेको छ । प्रत्यक्ष तथा समानुपातिक गरी कांग्रेसको कुल २७ सांसद हुनेछन् । योसँगै नेपाली कांग्रेसले अघिल्लो पटकको एमालेको सिटसँग बराबरी संख्या बनाएको छ ।

अघिल्लो पटक नेपाली कांग्रेसको ६ प्रत्यक्ष र ९ समानुपातिक गरी जम्मा १५ जना गण्डकी प्रदेश सभा सदस्य थिए । तर, यसपटक ५ दलीय गठबन्धनको सहारामा नतिजा उल्ट्याएको हो ।

त्यस्तै, अघिल्लो पटक पहिलो दल बनेको नेकपा एमाले यसपटक दोस्रोमा झरेको छ । नेकपा एमालेले प्रत्यक्ष र समानुपातिक गरी २२ जना सांसद पाउने भएको छ । अघिल्लो पटक नेकपा एमालेको प्रत्यक्ष १७ र समानुपातिक १० गरी २७ जना सांसद थिए ।

अघिल्लो पटक १२ सांसदसहित तेस्रो दल बनेको नेकपा माओवादी केन्द्र ८ (नेसपा १) सिटमा खुम्चिएको छ । जसमा प्रत्यक्षतर्फ ५ र समानुपातिकबाट ३ जना सांसद आउनेछन् । अघिल्लो पटक नेकपा माओवादी केन्द्रका ९ जना प्रत्यक्ष निर्वाचित सांसद थिए । समानुपातिकतर्फ बराबरी भए पनि प्रत्यक्षमा नेकपा माओवादीले ४ सिट गुमाएको छ ।

मनाङ प्रदेश सभा २ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) सोमबारमात्रै नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । कानुनी प्रक्रिया पूरा भएसँगै मनाङे गण्डकीमा नेकपा एकीकृत समाजवादीको एक्लो सांसद बन्ने छन् । अघिल्लो पटक पनि गण्डकीमा नेकपा एकीकृत समाजवादी शून्य थियो । यसपटक दुई ठाउँमा उम्मेदवारी दिए पनि उसका उम्मेदवारहरू पराजित भए ।

कस्तो बन्ला प्रदेश सरकार ? 

६० सिट संख्या रहेको गण्डकी प्रदेशमा सरकार गठनका लागि बहुमत पुर्याउन ३१ जना सांसद चाहिन्छ । तर, कुनै पनि दलको बहुमत नपुग्ने भएकाले तालमेलकै आधारमा सरकार बन्ने निश्चित छ । त्यसका लागि केन्द्रीय नेतृत्वको निर्णय निर्णायक हुन सक्छ ।

गण्डकीमा हाल नेपाली कांग्रेसको नेतृत्वमा सत्तारुढ गठबन्धनको सरकार छ । सरकारले निरन्तरता पाए गठबन्धनले आरामदायी बहुमत पाउने देखिन्छ । कांग्रेसका २७ र माओवादीका ८ र स्वतन्त्र (पछि एकीकृत समाजवादीमा प्रवेश) एक जना सांसद जोड्दा ३६ सांसद हुन्छन् ।

गोरखा २ (१)मा माओवादी केन्द्रको हँसिया हथौडा चिह्न लिएर चुनाव लडेका नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा निर्वाचित भएका छन् । फरक चुनाव चिह्नबाट निर्वाचित सांसदलाई कुन दलको ह्वीप लाग्छ भन्नेबारे कानुनी स्पष्टता छैन । तर, निर्वाचन आयोगलाई आधार मान्दा देवकोटा नेसपाकै सांसद हुन् ।

गठबन्धनकै सरकार बनेमा नेकपा एमाले र राप्रपाले प्रतिपक्षको भूमिका निभाउनेछन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त सरकार बनाउन खोजे बहुमत पुग्दैन । त्यसका लागि राप्रपा निर्णायक बन्ने देखिन्छ । एमालेको २२ माओवादी केन्द्रको ८ गरी जम्मा ३० सांसद हुन्छन् । त्यसका लागि २ सिट भएको राप्रपालाई पनि सरकारमा सामेल गर्नुपर्ने देखिन्छ ।

एमाले र माओवादीको सरकार बन्ने अवस्थामा बहुमत नपुगे पनि नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) निर्णायक हुनेछन् । उनको उपस्थितिले ठीक ३१ सिट पुग्छ र वाम सरकार बन्न सक्ने सम्भावना रहन्छ ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?