+
+

ज्यापु संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व : प्रधानमन्त्री देउवा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २२ गते १३:४२
फाइल तस्वीर

२२ मंसिर, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले ज्यापु समुदायको परम्परा, कलाकृति र रहनसहनको संरक्षण गर्नु साझा दायित्व भएको बताएका छन् ।

बिहीवार ज्यापु संस्कृति विकास कोषले १९औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंमा आयोजना कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले ज्यापु समुदायको धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहनको संरक्षण गर्नु साझा दायित्व भएको बताएका हुन् ।

उनले ज्यापु समुदायका जात्रा, पर्व, सांस्कृतिक गतिविधिहरु, कला र कौशलहरु राष्ट्रको अमूल्य निधि भएको उल्लेख गर्दै त्यसको संरक्षण गर्नुपर्ने बताए ।

उनले सम्पदा र संस्कृतिहरुको जगेर्ना गर्नु सबैको कर्तव्य भएको बताए ।

उनले भने, ‘काठमाडौं उपत्यकाको कला, संस्कृति र सभ्यताको बिकासमा ज्यापु समुदायको, ज्यापु समाजको उल्लेखनीय योगदान छ । ज्यापु समुदायका जात्रा, पर्व, सांस्कृतिक गतिविधिहरु, कला, कौशल नेपालका अमुल्य निधि हुन् । ज्यापु समुदायका धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहनको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो । यस्तो महत्वपूर्ण संस्कृति र सम्पदालाई संरक्षण गर्नु, विलिन हुनबाट जोगाउनु हाम्रो कर्तव्य हो।’

उनले उपत्यकाका ज्यापु समुदायले न्युनतम आर्थिक तथा नैतिक सुविधाका बीचमा पनि आफ्ना मौलिक परम्परा र संस्कृतिलाई बचाइराखेको भन्दै प्रशंशा गरे । । उनले सो समुदाय आफ्नै प्रकारको विशिष्ट र मौलिक पहिचान बोकेको मेहनती र इमान्दार समुदायको रुपमा परिचित रहेको उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले कृषि अर्थतन्त्रको विकासमा पनि ज्यापु समुदायको महत्वपूर्ण भूमिका रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?