+
+

समानुपातिकमा तीन पुरुष सांसद छान्न देउवालाई सकस

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २२ गते १९:०५

२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसलाई प्रतिनिधिसभाको समानुपातिकतर्फका तीन पुरुष सांसद छनोट गर्न सकस पर्ने भएको छ ।

समानुपातिकतर्फ कांग्रेसले ३२ सिट पाएको छ । संघीय संसदमा हरेक दलले ३३ प्रतिशत महिला सांसद निर्वाचित गर्नुपर्ने भएकाले कांग्रेसले ३२ मध्ये २९ जना महिला नै पठाउनुपर्छ । बाँकी ३ जनामा भने पुरुषलाई पठाउन पनि सक्छ ।

यही तीन सिटका लागि पूर्व र वर्तमान पदाधिकारीको हानथाप हुने देखिएको छ ।

समानुपातिकतर्फको बन्दसूचीमा आआफ्नो क्लस्टरको पहिलो नम्बरमा डा. प्रकाशशरण महत, विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ पूर्वपदाधिकारी हुन् । जीवन परियार र फरमुल्लाह मन्सुर हालका सहमहामन्त्री हुन् । वर्तमान पदाधिकारीलाई छनोट गर्ने कि पूर्व पदाधिकारीलाई चयन गर्ने भन्ने विषयमा देउवामाथि दबाव परेको छ । नेता विजय गच्छदार निकटलाई पनि संसदमा पुर्‍याउनुपर्ने दबाव पनि देउवालाई छ ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महत खस आर्य तर्फको पहिलो नम्बरमा छन् । पूर्व उपसभापति श्रेष्ठ आदिवासी जनजातितर्फ र निधि मधेसीतर्फ पहिलो नम्बरमा बसेका छन् । महत, निधि र श्रेष्ठलाई सभापति देउवाले अघि बढाए भने जीवन परियार, फरमुल्लाह मन्सुर र योगेन्द्र चौधरी सांसद बन्ने बाटो रोकिन्छ । परियार दलित, मन्सुर मुस्लिम र चौधरी थारु क्लष्टरको पहिलो नम्बरमा छन् ।

कांग्रेसले प्रत्यक्षतर्फ एक जना पनि दलित उम्मेदवार बनाएन । मुस्लिम समुदायबाट रौतहट २ बाट उम्मेदवार बनेका फिरदोस आलम पराजित भए । योगेन्द्र दाङ १ का टिकट आकांक्षी थिए । तर सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्दा यो क्षेत्र एकीकृत समाजवादीलाई दिनुपर्ने भएपछि योगेन्द्र समानुपातिकमा बसेका थिए ।

तर अब तीन सिटमा को जाने भन्ने विवाद छ । सहमहामन्त्री परियार, डा. शेखर कोइराला समूहका नेता हुन् । मन्सुर र चौधरी संस्थापन पक्षका हुन् । नेता शेखर पक्षको जोड परियारलाई सांसद बनाउनुपर्नेमा छ । गच्छदारको समूहले भने एकता प्रक्रियामा आएका अरुले चुनाव नजितेकाले योगेन्द्रलाई लैजानुपर्नेमा जोड दिएको छ ।

महत देउवाका सधैंका विश्वासपात्र हुन् । १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका उनलाई देउवाले प्रवक्ता बनाएका छन् । अर्का नेता श्रेष्ठ पनि सभापति देउवाका सधैंका सारथि हुन् । १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएर पराजित भएका निधिले भने दोस्रो चरणमा देउवालाई साथ दिएका थिए । अहिले उनी सभापति देउवासँग सम्बन्ध सुधारका लागि प्रयासरत छन् ।

तुलनात्मक रुपमा कांग्रेसबाट संसदमा खस आर्य समुदायको उपस्थिति बढी भएपनि सभापति देउवाले महतलाई समानुपातिक सांसद बनाउन खोजेको नेताहरु बताउँछन् । महाधिवेशनमा दोस्रो चरणमा सहयोग गरेको गुन तिर्नका लागि उनले निधिलाई पनि रोज्न सक्छन् । कांग्रेस विभाजन गरेर कांग्रेस प्रजातान्त्रिक बनाउँदाको कालदेखि देउवालाई साथ दिँदै आएका श्रेष्ठ पनि उनको रोजाइमा पर्नसक्छन् ।

कांग्रेसभित्र प्रत्यक्षमा प्रतिस्पर्धा गर्न हिम्मत जुटाउन नसकेर समानुपातिकमा बसेका नेताहरुलाई छनोट गर्न नहुने स्वर सुनिन थालेको छ । ‘दलितमा एउटालाई पनि प्रत्यक्षको टिकट दिइएन । अनि, समानुपातिकबाट पनि उनीहरुलाई रोक्ने ?’ कांग्रेसका एक नेता भन्छन् ‘समावेशिताको आधारमा दलितबाट जीवन परियार, थारुबाट योगेन्द्र चौधरी, र मुस्लिमबाट फरमुल्लाह मन्सुर आउनुपर्ने हो ।’

देउवाका लागि विवेक प्रयोग गर्ने विकल्प भने कायम छ । दलित, मुस्लिम र थारु क्लष्टरको पहिलो नम्बरमा भएका व्यक्तिहरुको नाम उनले छनोट गर्नसक्ने अवस्था छ । समानुपातिक तर्फका उम्मेदवार छनोट गरी निर्वाचन आयोगलाई सूची पठाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार डाकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?