+
+

लिग टु शृंखलामा नेपाल : नयाँ कप्तान, नयाँ प्रशिक्षक, नतिजा झन् खराब

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ मंसिर २२ गते २१:२५

काठमाडौं । कुनै समय थियो नेपालको क्रिकेट भनेपछि नेपाली समर्थकहरु इएसपीएन क्रिकइन्फोको टेक्स्ट लाइभ पनि रिफ्रेस गरी गरी हेर्थे । विकेट जाँदा दु:खी हुन्थे भने चौका छक्का हान्दा खुशी हुन्थे । खेलको प्रत्यक्ष प्रशारण हुन्थेन, तापनि नेपाली समर्थक खुब चासो लिन्थे । अनी नेपाली टोलीले पनि अन्तिम तिर नेपाललाई जित दिलाउँथ्यो ।

तर अहिले समय अली फेरीएको छ । विश्वकमा भएका खेलहरु टेलिभिजन वा अनलाइनमा प्रत्यक्ष प्रशारण हेर्न पाइन्छ  । तर पनि खासै चासो हुँदैन । ५० ओभरको खेल हेर्न त दिक्क नै लाग्छ । कारण नेपालको प्रदर्शन सुधार हुनुपर्ने मा खराब हुँदै गइरहेको छ ।

नेपाली क्रिकेटमा अहिले केही भइरहेपनि केही राम्रो देखिएको छैन । राष्ट्रिय टिमको प्रदर्शन ‘लज्जासपद’ जस्तै छ । नेपाली टिमको अहिलेको नामिबिया टुर हेर्दा त्यस्तै लाग्छ ।

आईसीसी क्रिकेट विश्वकप लिग टु जसलाई २०२३ मा भारतमा हुने एकदिवशीय विश्वकपमा एसोसिएट राष्ट्रहरुको लागि छनोटको आधारको रुपमा राखिएको छ । यस्तै एसोसिएट राष्ट्रको ओडिआई मान्यता जोगिने र गुम्ने पनि यही लिग बाट हुन्छ ।

लिग टु अन्तर्गत नेपालले भर्खरै नामिबियामा आफ्नो छैटौं शृंखला खेल्यो । तर यो शृंखला अहिलेसम्मकै खराब रह्यो ।

नयाँ प्रशिक्षक मनोज प्रभाकर र नयाँ कप्तान रोहित पौडेलको टोलीले नामिबियामा केही चमत्कार गर्न सकेन । २० वर्षीय युवा कप्तान रोहितले लिग टु मा पहिलो पटक कप्तानी गरे । तर न उनको नेतृत्वमा नेपालले खेल जिन्त सक्यो न त व्यक्तिगत प्रदर्शन नै राम्रो रह्यो ।

नतिजाको हिसाव देखि खेलाडीको प्रदर्शनको हिसावले पनि यो राम्रो रहेन । सिधा भन्ने हो भने नामिबिया टुरमा कप्तान, प्रशिक्षक देखि टिम नै फ्लप भयो ।

स्कटल्याण्ड र नामिबियासहितको यस शृखंलामा नेपालले कुन खेल जितेन । जुन नेपालको खराब कीर्तिमान हो । नेपालले यसअघि पाँच शृंखला खेल्दा कम्तीमा एक खेल त जितेको थियो । तर यस पटक जितको स्वाद नै चाख्न नपाई नेपाल घर फर्कने भएको छ ।

नेपालले चार खेल खेल्दा तीन खेलमा पराजित भयो । एक खेलमा भने वर्षा बाधक बन्दा नेपालले अंक बाडेको थियो । जसबाट नेपालले शृंखलामा जम्मा १ अंक जोड्यो ।

अंकतालिका सात टिम मध्ये नेपाल छैटौं स्थानमै छ । २४ खेलबाट नेपालको जम्मा १८ अंक छ ।

अब नेपालको ध्यान विश्वकपमा छनोट हुने भन्दा पनि कसरी ओडिआई मान्यतालाई जोगाएर राख्ने भन्नेमा छ । नामिबिया टुरमा कमजोर प्रदर्शनपछि नेपालका लागि अब बाँकी तीन शृखंलामा झन् चुनौती थपिएको छ ।

नामिबियामा नेपालले स्कटल्याण्डसँगको दुवै खेलमा हार बेहोर्‍यो । नामिबियासँग एक खेलमा पराजित हुँदा एक खेलमा नतिजा आएन ।

नेपालले ओडिआईमा नामिबियालाई हराउन सकेको छैन । गत जुलाईमा स्कटल्याण्डलाई उसैको मैदानमा हराएपछि नेपालले स्कटल्याण्डसँग लगातार तीन खेल हारिसकेको छ । समग्रमा भन्दा लिग टु मा नेपाल ६ खेल यता जितविहिन छ । स्कटल्याण्ड टुरमा आप्नो दोस्रो खेलमा स्कटल्याण्डलाई हराएपछि नेपालले लिग टु मा कुनै खेल जितेको छैन ।

नामिबिया जानु अघि नेपालले घरेलु मैदानमा युएई विरुद्ध तीन खेलको शृंखला खेल्दै २-१ ले जितेको थियो । भारतमा पनि अभ्यास खेल खेल्दै तयारी गरेर नामिबिया पुगेको थियो । युएईलाई हराएपछि प्रशिक्षक प्रभाकरले राम्रो तयारी भएको बताएका थिए । साथै नेपाली खेलाडीले गल्तीलाई कम गर्दै अगाडि बढ्नुपर्ने बताएका थिए भने कप्तान रोहितले ब्याटिङमै अझै सुधार गर्नुपर्ने र मिडल ओभरमा विकेट टेकरको कमीलाई सुधार गर्नुपर्ने बताएका थिए ।

तर नामिबियामा नेपालले गल्ती पनि गर्‍यो । ब्याटिङ पनि राम्रो गर्न सकेन । विकेट टेकर बलरको समेत अभाव भयो । चाहिएको बेला विकेट निकाल्ने खेलाडी भएन । ब्याटिङमा २०० माथिको लक्ष्य पछ्याउँदा नेपाल सुरुवातदेखि नै तल पर्थ्यो । सुरुमा ब्याटिङ गर्दा एक सय रन कटाउन पनि नेपाललाई गाह्रो देखिन्थ्यो ।

विपक्षीले राम्रो साझेदारी गर्दा ब्रेक गर्ने नेपाली बलर देखिएन ।

यस्तै प्रशिक्षकले राम्रो तयारी भने पनि नामिबियामा त्यसको केही छनक देखिएन । उल्टै उनले नेपाली टिममा परिक्षण मात्र गरिरहे । नामिबियाबाट फर्केपछि प्रभाकरको पद खुस्किएको पनि अचम्म नमाने हुने स्थिती देखिएको छ ।

नामिबिया विरुद्ध पहिलो खेलमा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बनाएको ७५ रन नै नेपाली खेलाडीको एक मात्र अर्धशतक रह्यो । कप्तान रोहितले सुरुवाती खेलमा राम्रो ब्याटिङ गर्न सकेनन् । पछिलल् दुई खेलमा भने उनले क्रमश: ४४ र ४७ रन बनाए । तर कप्तानी इनिङ्स खेल्दै त्यसलाई अगाडि बढाउन सकेनन् ।

ब्याटिङमा प्रशिक्षक प्रभाकरले परिक्षण मात्रै गरे । खेलाडीको पोजिसन फेरबदल गरिरहे । जसले गर्दा कसले कहाँ ब्याटिङ गर्ने नै टुङ्गो भएन । अर्जुन साउदले चारै खेलमा ओपनिङ गर्नु बाहेक अन्य कुनै पनि खेलाडीले एउटै पोजिसनमा ब्याटिङ गरेनन् । कप्तान रोहितले तीन खेलमा चौथो र एक खेलमा पाँचौ नम्बरमा ब्याटिङ गरे भने ज्ञानेन्द्रले तीन खेलमा तेस्रो र एक खेलमा चौथो नम्बरमा ब्याटिङ गरे ।

आसिफ शेखले तीन खेलमा ओपनिङ गर्दा एक खेलमा तेस्रो नम्बरमा ब्याटिङ गरे । यस्तै फिनिसिङको रोलमा दुई खेल खेलेका कुशल भुर्तेलले एक खेलमा ओपनिङ गरे भने अन्तिम खेलमा ड्रप भए । हरिशंकर शाहले अन्तिम खेल मात्र खेल्ने अवसर पाए । राष्ट्रिय टिममा पहिलो पटक समावेश नन्दन यादवले कुन खेल खेल्न पाएनन् । सोमपाल र करण केसीले पालैपालो खेले ।

नामिबिया टुरपछि नेपालको ओडिआई मान्यता नै शंकटमा पर्ने अवस्था देखिएको छ । यसले नेपाली क्रिकेट झन् पछाडी धकेलिरहेको संकेत गरेको छ । अब नेपालले विश्वकपको लागि सिधै ग्लोबल क्वालिफायर पुग्ने र ओडिआई मान्यता बचाउने सम्भावना लगभग सकिएको छ ।

नेपालको एक मात्र सम्भावना भनेको प्लेअफ क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्दै ओडिआई मान्यता जोगाउन हुनेछ । लिग टु मा जुन स्थानमा रहे पनि प्लेअफ क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपको ग्लोबल क्वालिफायर पुग्ने र ओडिआई मान्यता पनि पाउने बाटो भने बाँकी नै छ ।

त्यो सम्भावनालाई पूरा गर्न नेपालको लागि उत्तिकै चुनौती पनि छ । अब आउने लिग टु को शृंखलाले नेपालको पोजिसन तय गर्नेछ ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?