+
+

वीरगञ्जमा ट्राफिक व्यवस्थापनका लागि ५ ठाउँमा पार्किङ स्थल निर्धारण

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २३ गते १४:१६

२३ मंसिर, वीरगञ्ज । वीरगञ्जलाई व्यवस्थित बनाउने अभियान अन्तर्गत ट्राफिक व्यवस्थापनका लागि सरोकारवाला सक्रिय भएका छन् । वीरगञ्जको मुख्य बजार क्षेत्रमा विद्यमान पार्किङ समस्या समाधान गर्न सरोकारवाला सक्रिय भएका हुन् । सोही क्रममा ५ ठाउँमा पार्किङ स्थल निर्धारण गरिनुका साथै केही स्थानमा सडकमा पार्किङ निषेध गर्ने निर्णय समेत गरेको छ ।

४ पाङ्ग्रे र २ पाङ्ग्रे सवारी साधन व्यवस्थापनका लागि बिर्तास्थित मालपोत कार्यालय प्राङ्गण, हजारी मल ट्रष्टको जमिन, पुरानो बसपार्क भित्र, गीता मन्दिर छेउको जग्गा र घण्टाघर नजिकको वीपी उद्यानको जमिनलाई पार्किङ स्थलको रुपमा तोकिएको छ । हजारी मलको जग्गा स–शुल्क पार्किङका लागि प्रयोग गर्ने निर्णय यसअघि नै भइसकेको छ भने वीपी उद्यानको जग्गा पार्क बनाउने बाहेक अन्य प्रयोजनमा प्रयोग नगर्न उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले आदेश गरिसकेको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघदेखि मकालु चोक, आदर्शनगर हुँदै माइस्थान मन्दिरसम्म र घण्टाघर चोकदेखि लिंकरोडको दुवै तर्फ चार पांग्रे सवारी साधन पार्किङ २४ सै घण्टा निषेध गरिएको छ ।

आदर्शनगर क्षेत्र र आदर्शनगरदेखि अलखियामठसम्म मुख्य सडकमा दुई पाङ्ग्रे सवारी पार्किङमा समेत रोक लगाउने तयारी भईरहेको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

‘पहिलो चरणमा आदर्शनगरदेखि अलखियामठमा सडकमा एकतर्फी रुपमा हुँदै आएको पार्किङ हटाउने निर्णय भएको छ,’ उनले भने, ‘क्रमशः अन्य ठाउँको पनि सडकमा हुने पार्किङलाई हटाउँदै जानुपर्छ ।’

त्रिभुवन राजमार्ग अन्तर्गत पर्ने वीरगञ्जको मुख्य सडक विस्तार हुन नसक्दा सडक साँघुरो छ भने सवारी साधनको चाप अत्याधिक छ । त्यसमाथि सडकमा एकातर्फ दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्ने गरिएको छ । पार्किङ स्थल थपेर वीरगञ्जको अव्यवस्थित सडकलाई व्यवस्थित गर्न लागिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले बताए ।

‘वीरगञ्जको मुख्य सडक अस्तव्यस्त र भद्रगोल छ । सडकमै सवारी साधन पार्किङ हुन्छ,’ उनले भने, ‘पहिला पार्किङका लागि वैकल्पिक व्यवस्था थिएन, अब केही विकल्प खोजेका छौं, ती ठाउँमा सवारी साधन पार्किङको व्यवस्थापन मिलाएर सडक खाली गर्छौ ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुबप्रसाद दाहाल वीरगञ्जको ट्राफिक व्यवस्थित बनाउने उद्देश्यले अभियान थालिएकोले अटेर गरे कानुनी कारबाही गर्ने चेतावनी दिए । निर्णय कार्यन्वयनका लागि वीरगञ्ज महानगरपालिकाबाट नगर प्रहरी, ट्राफिक प्रहरी परिचालन हुनेछन् । तोकिएको ठाउँमा सवारी पार्किङ गर्दा सहरको सुन्दरता बढ्ने वीरगञ्ज– ४ का वडा अध्यक्ष जगत साह कानुले बताए ।

‘सडकममा सवारी पार्किङ गर्नुपर्दा ट्राफिक व्यवस्थापनमा समस्या छ,’ उनले भने, ‘ क्रमशः सडकको पार्किङ हटाउँदै जानुपर्छ । तोकिएको ठाउँमा सवारी पार्किङ गर्दा सहर सुन्दर देखिन्छ ।’

वीरगञ्जका मेयरले राजेशमान सिंहले निर्वाचन अघि महानगरको आफ्नै ट्राफिक प्रहरी स्थापना गर्ने, पार्किङलाई वर्गीकरण गरी कार्यालय जाने र अन्यका लागि फरक पार्किङ स्थल बनाउने, भाडाका सवारी साधनको रुट र संख्या निर्धारण गर्ने तथा नयाँ पार्किङ स्थल स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?