+
+

डेसान, पासो र मिलन हलमा एक हप्ता पनि टिकेनन्, विश्वको ध्यान ‘अवतार’तर्फ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते ११:५७

काठमाडौं । विश्वकप फुटबलको ज्वरोबीच प्रदर्शन भएका तीन नेपाली फिल्महरु मिलन, पासो र डेसानलाई एक साता पनि हलमा टिक्न मुस्किल पर्‍यो ।

हलमा यी तीनै फिल्मको ओपनिङ अकुपेन्सी ५ प्रतिशत रह्यो जुन यस वर्षकै न्यून बिन्दुको रुपमा दर्ता हुनेछ । सलोन बस्नेत विवाहका कारण चर्चामा रहे तर उनकै ‘स्टारडम’ हलमा फिका देखियो ।

रिस्ता बस्नेतको ‘पासो’ले आफूलाई हलमा एक साता पनि टिकाउन सकेन । गत शुक्रबार रिलिज भएको ‘डेसान : द एपिडेमिक’मा भोलाराज सापकोटा र नम्रता सापकोटाको मुख्य भूमिका छ ।

ओपनिङ सप्ताहन्तमै कमजोर देखिएको फिल्मको शोमा आइतबारदेखि भारी कटौती भएको छ । आइतबारको बिहानी शोमा फिल्मको अकुपेन्सी केही मल्टिप्लेक्समा ३ देखि ५ प्रतिशतमा खुम्चिएको छ ।

रणवीर कपुर स्टारर बलिउड फिल्म ‘बर्फी’मा अभिनयबाट चर्चित अभिनेता भोलाराज र छक्कापञ्जा सिरिज तथा म्युजिक भिडियोमा चर्चित कलाकार नम्रताको उपस्थितिले दर्शक तान्न सकेन ।

दर्शकको उपस्थितीको लागि चाहिने ‘वर्ड अफ माउथ’ यी तीन फिल्मले सिर्जना गर्न सकेनन् । नेपालमा मात्र हैन, विश्व फिल्म बजारमा विश्वकप फुटबल चल्ने एक महिनाको समयलाई ‘संक्रमण समय’ मानिन्छ ।

यो समयमा विश्वभर ठूला फिल्म रिलिज हुँदैनन् । भए पनि राम्रो कमाइ गर्न सकेका छैनन् । दर्शकीय मनोविज्ञान खेलतर्फ केन्द्रित हुने भएकाले फिल्मले दर्शक तान्न नसक्ने अनुमान गरिन्छ ।

तर सप्ताहन्तमा समेत फिल्मको अकुपेन्सी १० प्रतिशत पनि नकट्नुलाई विडम्बना मान्नुपर्छ । तीनै फिल्मले बक्स अफिसमा निकै कमजोर व्यापार गरे । फुटबलको कारण सुनसान हुँदा केही हलले विश्वकप फुटबल चलाएर पनि दर्शक तान्ने जमर्को गर्ने प्रयास गरेका छन् ।

विश्वकै ध्यान अवतारतर्फ

नेपाल मात्र होइन, यतिबेला सिंगो विश्वकै ध्यान आगामी शुक्रबार रिलिज हुने हलिउड फिल्म ‘अवतार २’तर्फ सोझिएको छ । नेपाली हलले यसै सातादेखि टिकट बिक्री थाल्ने भएका छन् ।

भारतमा फिल्मले ५० देखि ६० करोड भारुको ओपनिङ गर्ने अनुमान व्यापार विश्लेषक सुमित कँडेलले गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा पनि फिल्मले आक्रामक ओपनिङ गर्ने अनुमान छ । नेपाली बक्स अफिसमा एक करोडभन्दा बढीको ओपनिङ हुने प्रक्षेपण छ ।

सोही दिन रणवीर सिंह स्टारर बलिउड फिल्म ‘सर्कस’ पनि रिलिज हुने भएकाले दर्शकलाई अर्को विकल्प पनि प्राप्त हुनेछ । दुई ठूला विदेशी फिल्म लाग्ने भएकाले बक्स अफिस चलायमान हुने आशा हल सञ्चालकले लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?