+
+

फ्रान्सविरुद्ध मोरक्को : फुटबलमार्फत् ४४ वर्षे उपनिवेशको प्रतिवाद

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते १७:३४

२८ मंसिर, काठमाडौं । पूर्व औपनिवेशिक शक्ति बेल्जियम, स्पेन र पोर्चुगललाई हराएर आफ्नो टिम विश्वकप सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको स्मरण गर्दा मोरक्कोकी हिन्द साबोउनीको छाती गर्वले चौडा हुन्छ ।

राजधानी रावतकी २६ वर्षीया यी अंग्रेजी शिक्षिकामात्र होइन देशभित्र र विदेशमा रहेका मोरक्कोका नागरिक बुधबारको रात बेचैन हुनेछन् । किनकी उनीहरुको राष्ट्रिय टिम बीसौं शताब्दीको पूर्वार्द्धसम्म आफ्नो देशमा कब्जा जमाउने औपनिवेशिक शक्ति फ्रान्ससँग आमनेसामने हुँदैछ । मोरक्कोमा सन् १९१२ देखि १९५६ सम्म फ्रान्सको उपनिवेश थियो ।

बुधबारको खेल दुवै देशका लागि राजनीतिक र भावनात्मक प्रतिध्वनि हो । दुई देशबीचको संवेदनशील सम्बन्धसँग यो खेल निश्चित रुपमा जोडिएको छ । फ्रान्सले अझै पनि मोरक्कोको आर्थिक, राजनीतिक र संस्कृतिमा ठूलो प्रभाव राख्छ ।

‘यो खेल एकप्रकारले त्यस्तै हो । हामी विशेष रुपमा फ्रान्सलाई पुनः हराउन चाहन्छौं’, साबोउनी भन्छिन्, ‘हामी फ्रान्सको पुच्छर होइनौं भनेर बाँकी दुनियाँलाई देखाउन चाहन्छौं ।’

विश्वकपको साविक विजेता टिमविरुद्ध मोरक्कोका लागि कम्तीमा फुटबल मैदानमा शक्तिशाली सत्रुका रुपमा आफूलाई उभ्याउने अवसर छ । यद्यपि फ्रान्स र मोरक्को दुवै देशका आप्रवासीले आफ्नो भावना कतारमा प्रस्तुत गर्नेछन् ।

पछिल्लो एक दशकदेखि फ्रान्स र मोरक्कोको सम्बन्धमा परिवर्तन आएको छ । साबोउनीका अनुसार मोरक्कोमा उनको पुस्ता फ्रान्सको प्रभुत्वबाट थाकिसकेको छ । उनले भनिन्, ‘मोरक्कोका युवा फ्रेन्चको सट्टा अंग्रेजी भाषा बोल्छन् । फ्रान्सेली उत्पादनको तुलनामा अमेरिकी वस्तुहरु खरिद गर्छन् । यहाँसम्म कि मोरक्कोका युवा विदेशमा सहज जीवनयापन गर्न फ्रान्सबाहेकको देश रोज्छन् ।’

‘भलै यो केवल एउटा फुटबल खेल हो । केही मानिसहरु यसलाई बदला लिने अवसरका रुपमा लिन्छन्’, उनले थपिन् ।

तर, सबैले होइन ।

रावतकी एक सञ्चारकर्मी केन्जा बार्ताली यो खेलमा कुनै राजनीतिक अर्थ देख्दिनन् । उनले सन् २०१६ देखि २०१८ सम्म फ्रान्सको दक्षिणी शहर निस र टोउलोनमा रहेर आफ्नो स्नातकोत्तर अध्ययन पूरा गरेकी हुन् । उनले त्यहाँ असल साथी बनाइन्, जो अहिले पनि सम्पर्कमा छन् । २६ वर्षीया उनले भनिन्, ‘अधिकांश मोरक्कन विद्यार्थीलाई सम्मानका साथ व्यवहार गरिएको पाएँ ।’

र पनि, उनले कुन टिमलाई समर्थन गर्छिन् भनेर कुनै सन्देह छैन ।

‘मोरक्कोले फाइनलको यात्रा गर्नेछ भनेर मलाई पूर्ण विश्वास छ’, उनी भन्छिन्, ‘मलाई थाहा छ यो काम निकै मुश्किल छ । किनभने फ्रान्स निकै उत्कृष्ट टिम हो । तर, हामी आफ्नो सर्वश्रेष्ठ प्रदर्शनको आशा गर्छौं ।’

साबोउनीको भावनाले फ्रान्समा रहेका मोरक्कन र अन्य उत्तरी अफ्रिकीको प्रतिनिधित्व गर्नेछ । यद्यपि अफ्रिका र एसियाली आप्रवासी युवा पुस्ता भाषाको सहजताका कारण फ्रान्समा सहज महसुस गर्दैनन् । तर सार्वजनिक जीवनमा संस्थागत भेदभाव, नश्लीय र जातीय पूर्वाग्रह तथा आर्थिक कठिनाइ र जागिरका अवसरको कमीजस्ता समस्याको सामना गरिरहेका छन् ।

पछिल्लो विश्वकपमा जस्तै फ्रान्सले यसपल्ट पनि आफ्नो राष्ट्रिय फुटबल टिमको निर्माण यसरी गरेको छ जहाँ विविध पृष्ठभूमिका खेलाडी समेटिएका छन् । तर, हालैका दिनमा चुनिएका दक्षिणपन्थी जनप्रतिनिधिले आप्रवासीहरुमाथि दिने पूर्वाग्रही अभिव्यक्तिले देशको साँस्कृतिक व्यवस्था पिँध नभएको लोटाजस्तो बनिरहेको छ ।

‘साँस्कृतिक परिवर्तनमा र तल्लो तहका जनताको परिवर्तनको प्रभाव धेरै ठूलो हुन्छ । टिममा पनि त्यसको प्रतिनिधित्व भएको छ’, फ्रान्सको राष्ट्रिय टिमबारे दुईवटा किताब लेखेका युनिभर्सिटी अफ भर्जिनियाका प्रोफेसर लरेन्ट डुबियोस् भन्छन्, ‘टिममा खेलाडीहरु फ्रान्सको परम्परागत नश्ल होस् या अफ्रिकी, जहाँबाट आए पनि कुनै समस्या छैन ।’

मोरक्कोका जनताले विदेशमा जन्मिएका खेलाडीलाई आफ्नो मूलको मानेर स्वीकार गरिरहेका छन् । उनीहरु युरोपको शीर्ष लिगहरुमा पुगेर आफ्नो अनुभव र व्यवसायिकता प्रदर्शन गर्छन् । जन्म देशमै खेल्न पाउने सुविधा त्यागेर राष्ट्रिय टिमका रुपमा मोरक्कोलाई रोज्छन् ।

मोरक्को राष्ट्रिय टिमका अधिकांश खेलाडी देशबाहिर जन्मिएका छन् । विश्वकप टिमका २६ मध्ये १४ जना खेलाडी डायस्पोराबाट छानिएका हुन् । त्यसबाहेक प्रशिक्षक वालिन रेग्रागुईं पनि फ्रान्सेली मूलका हुन् । विश्वकपमा सहभागी टिममध्ये डायस्पोराबाट प्रतिनिधित्व गर्ने संख्या मोरक्कोको सबैभन्दा धेरै छ ।

युरोप र अन्य महादेशमा ५० लाखभन्दा बढी मोरक्कन नागरिक बस्छन् । थुप्रै खेलाडीले औपनिवेशिक इतिहासको पारिवारिक समस्या, आप्रवासनका चुनौती र राष्ट्रिप्रतिको बफादारीका समस्या भोगेका छन् । उनीहरु अतीतको बोझबाट अलग हुन चाहन्छन् र विश्वकप फाइनलमा स्थान बनाउन चाहन्छन् । चाहे उनीहरुका घर फ्रान्समा हो या मोरक्कोमा । या बेल्जियम, क्यानडा, ट्युनिसिया, स्पेन, पोर्चुगल र अल्जेरियामा किन नहोस् ।

‘विदेशमा जन्मिएका मोरक्कन खेलाडीले राष्ट्रिय टिमका रुपमा मोरक्कोलाई किन रोज्छन् भने उनीहरुका लागि एउटा खेल जित्नुमात्र फुटबल होइन,’ मार्सेलीमा काम गर्ने अल्जेरियाका फुटबल पत्रकार महर मेजाही भन्छन्, ‘उनीहरु देशको गौरव बढाउन खेल्छन्, आफ्नो परिवारलाई गौरवान्वित पार्न खेल्छन् ।’

प्रशिक्षक रेग्रागुईका लागि उनी र उनका खेलाडीको दोहोरो पहिचान सबैभन्दा ठूलो खेलअघि अर्थहीन हुनेछ ।

‘मसँग दोहोरो राष्ट्रियता छ । यो सम्मान र खुसीको कुरा हो । तर, म मोरक्कोको प्रशिक्षक हुँ र हामी संसारको सर्वश्रेष्ठ टिमसँग खेल्दैछौं । सबैभन्दा महत्वपूर्ण कुरा फाइनलमा पुग्नु हो’, उनले भने, ‘जब हामी मोरक्कोको राष्ट्रिय टिमबाट खेल्छौं, हामी पूर्णतः मोरक्कन हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?