+
+

माओवादी बागमती प्रदेशको संसदीय दलमा चार नेताको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १ गते १५:०४

१ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको नेता बन्न आकांक्षी बढ्दै गएका छन् ।

सरकार निर्माणका लागि माओवादी निर्णायक भएकाले मुख्यमन्त्री बन्ने आकांक्षासहित दलको नेतामा दाबी गर्ने नेताहरु बढेका हुन ।

दलको नेताका लागि अहिलेसम्म शालिकराम जमरकट्टेल, गंगानारायण श्रेष्ठ, युवराज दुलाल र सरल सहयात्रीले दाबी गरेका छन् ।

बागमती प्रदेशमा २१ सिटसहित तेस्रो दल बनेको माओवादी सरकार निर्माणका लागि निर्णायक देखिन्छ । अहिलेको सत्ता गठबन्धन जारी रहँदा कांग्रेस र माओवादीबीच आधा–आधा कार्यकाल मुख्यमन्त्रीको सहमति हुने देखिएकाले पनि दलको नेतामा दाबी गर्नेहरु बढेका हुन ।

बागमती प्रदेशमा ३७ सिटसहित नेपाली कांग्रेस पहिलो र २७ सिटसहित नेकपा एमाले दोस्रो स्थानमा छन् । कांग्रेस र एमाले मिलेको अवस्थामा बाहेक सरकार गठनका लागि माओवादीको साथ अनिवार्य देखिन्छ ।

चारै जना मुख्यमन्त्रीका आकांक्षी

यसअघि पनि माओवादी संसदीय दलको नेता रहेका जमरकट्टेल यसपालि पनि दाबेदार छन् । यसअघि नेकपा एमाले नेता डोरमणि पोडेल पौडेल र नेकपा एकीकृत समाजवादीका नेता सुरेन्द्र पाण्डे नेतृत्वको सरकारमा मुख्यमन्त्रीपछिको दोस्रो ‘पोजिसन’ रहेका कट्टेल यसपालि मुख्यमन्त्रीको आकांक्षी छन् ।

नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडेका नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगनाराण श्रेष्ठले पनि दलको नेतामा दाबी गरेका छन् । बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन गर्नुअघि माओवादीकै नेता रहेका श्रेष्ठले आफूलाई यसपालि न्याय पाउनुपर्ने बताए । ‘मैले न्याय पाउनुपर्छ भन्ने हो,’ उनले भने, ‘यसमा मुख्य नेतृत्वले सम्बोधन गनुपर्छ ।’

दलको नेतामा दाबी गर्ने दुलाल यसअघि समाजिक विकास मन्त्री भइसकेका छन् । सत्ता गठबन्धनले सरकार सञ्चालनका लागि बनाएको संयन्त्रको समेत उनी संयोजक हुन । यसपालि दलको नेता बनेर मुख्यमन्त्री बन्ने आकांक्षा दुलालको छ ।

माओवादीको बागमती प्रदेश अध्यक्ष समेत रहेका पौडेलले पनि दलको नेतामा आफ्नो बलियो दाबेदारी रहेको बताएका छन् । दलको नेतामा सहमति नभएको अवस्थामा आफू चुनाव लड्ने उनको भनाइ छ । चुनावबाटै माओवादीको बागमती प्रदेश अध्यक्ष जितेका उनले प्रतिस्पर्धाबाटै नेतृत्व छान्ने कुरालाई प्रोत्साहित गर्नुपर्ने बताउने गरेका छन् ।

‘कसले नेतृत्व गर्ने भन्ने विधि बनाउनुपर्छ । त्यही विधिमा पार्टी पनि बन्छ,’ पौडेलले भने, ‘म पार्टीको बागमती अध्यक्ष भएको हुनाले स्वभाविकरुपमा त्यो बिधि निर्माणका लागि दाबी गर्नु पनि स्वभाविक हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?