+
+

मन्त्री खान कसैको घर धाउँदैनौं : राजेन्द्र लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते १६:०५

४ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा जाने वा नजाने विषयमा पार्टीमा छलफल गरेर मात्र निर्णय गर्ने बताएका छन् । सोमवार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको कार्यक्रममा उनले मन्त्री खान र सरकारमा जान हतार नगर्ने बताएका हुन् ।

हामी मन्त्री खानको लागि कसैको घर धाउँदैनौँ । कुनै दलको पुच्छर बनेर हिँड्दैनौँ । हामीले सरकारमा गएर, नगएर पनि अरु कसैलाई समर्थन गर्नुपर्‍यो भने कारणसहित गर्छौं । कारणसहित जान्छौँ । त्यसमा तपाईहरु सबै ढुक्क रहन आग्रह गर्छु’ नवनिर्वाचित सांसदहरुलाई बधाई दिन आयोजित कार्यक्रममा उनले भने ।

आफूहरुले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् त्यही अनुसार अघि बढ्ने लिङ्देनले बताए ।

‘नेतृत्वले गल्ती गर्छ कि, फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी जोखिममा जान्छ कि यो चिन्ता लिनुपर्दैन । हामी सोची, विचारी निर्णय गर्छौ’ उनले भने ।

अध्यक्ष लिङ्देनले पार्टीले अझै धेरै मत ल्याउनुपर्ने भन्दै प्राप्त मत परिणामबाट सन्तुष्ट नभएको उल्लेख गरे । उनले सोचजस्तो नतिजा नआएकाले राजीनामा दिने विषयमा पनि सोचेको सांसदहरुलाई सुनाए ।‘यो परिणामबाट म खुशी छैन । मैले परिकल्पना गरेको परिणाम यो होइन । मैले यतिको मात्रै अपेक्षा गरेको थिइनँ । मैले नैतिक रुपमा म अध्यक्षबाट राजीनामा दिएँ भनेर हालिदिउँ कि जस्तो लागेको थियो । यति सिटको राप्रपा कल्पना गरेको थिइनँ’ उनले भने ।

राप्रपा सुध्रिएको हो भनेर देखाउने मौका आएको भन्दै त्यसको नतिजा अर्को चुनावमा आउन सक्ने अध्यक्ष लिङ्देनले बताए । ‘हामी अहिले जे भनिराखेका छौँ त्यो वाचा कर्मबाट पूरा गर्न तयार छौँ भन्नेकुरा आगामी कार्यशैलीबाट प्रमाणित ग¥यौँ भने राप्रपालाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन’ उनले भने ।

अध्यक्ष लिङ्देनले नवनिर्वाचित सांसदहरुलाई विदेशी दूतावासले कार्यक्रममा बोलाएमा अनुमति विना नजान निर्देशन दिए । दूतावासले बोलाएर रक्सीमासु खुवाउने भन्दै उनले त्यस्तो नगर्न र आफ्नो मर्यादामा बस्न सांसदहरुलाई निर्देशन दिए ।

‘अब तपाईहरुलाई कहिलेकाहीँ अन्तर्वार्तामा बोलाउँछन् । कहिले कुनै विदेशी दूतावासहरुले कार्डहरु पठाइराख्छ । ए मलाई फलाना दूतावासले बोलाएको छ भनेर खुरुर कुदेर गएर त्यहाँ रक्सी खानेले रक्सी खाने मासु खान पाउनेले मासु खान कुदिहाल्नु हुन्न’ उनले भने, ‘पार्टीलाई सोधेर जानुपर्छ । हिजोअस्ति तपाईं व्यक्तिगत रुपमा जहाँ जानुहुन्थ्यो, जहाँ नाच्नुहुन्थ्यो केही छैन । तर अहिले केही मर्यादाहरु, केही जिम्मेवारीहरु छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?