+
+

फेरि सर्‍यो नेपाल टी-२० लिग, प्रतियोगिता अनिश्चित

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ पुष ७ गते १३:३९

७ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)काे आयोजनामा हुने प्रतीक्षित नेपाल टी–२० लिग फ्रेन्चाइज प्रतियोगिता पुनः सर्ने निश्चित भएको छ ।

क्यानबाट प्रतियोगिता सन्चालन अधिकार पाएको सेभेन थ्री स्पोर्टसले आवश्यक तयारी पूरा नगरेका कारण प्रतियोगिता शुक्रबारको पूर्वनिर्धारित मितिमा आयोजना नहुने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले अनलाइनखबरलाई बताए ।

‘खेलाडीको श्रम स्वीकृति प्रक्रिया ढिला भयो । आवश्यक तयारीहरु पनि सुस्त छन्,’ चन्दले भने, ‘हामी छलफलमै छौं । प्रतियोगिता एक/दुई दिन सर्न सक्छ ।’

यो मितिमा पनि प्रतियोगिता आयोजना हुन नसके सञ्चालन अधिकार पाएको कम्पनीसँग सम्झौता रद्ध गरी क्यान आफैंले प्रतियोगिता आयोजना गर्नेसमेत अध्यक्ष चन्दले बताए ।

६ फ्रेन्चाइज टिमको सहभागितामा हुन लागेको प्रतियोगिता सरेको यो तेस्रोपल्ट हो ।

क्यानले प्रतियोगिता सञ्चालनका लागि सेभेन थ्री स्पोर्टससँग २०७७ सालमै सम्झौता गरेको थियो । यसबीचमा अघिल्लो वर्ष खेलाडी अक्सन भए पनि प्रतियोगिता अनिश्चित हुँदै आएको थियो ।

नेपाल टी–२० लिगको आयोजना सन्दर्भमा क्यानको सुरुदेखि कै निर्णयहरु विवादित बनिरहेका छन् । भारतीय कम्पनीसँग उतैको कानूनअनुसार सम्झौता भएकोमा क्यानकै कार्यसमितिबाट विरोध हुँदै आएको थियो ।

यो प्रतियोगिता असोज ८ गतेदेखि सुरु हुने भनिएको थियो । त्यसका लागि नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट एक महिना अगाडि नै आयोजना गरिएको थियो । सरकारले सुरक्षा दिन नसक्ने बताएको भन्दै प्रतियोगिता सारिएको थियो ।

सारेर मंसिर २५ गतेदेखि प्रतियोगिता मिति निर्धारित गरियो । तर, सहभागी फ्रेन्चाइज टिम काठमाडौं गोर्खाजले अन्तिम समयमा नाम फिर्ता लिएपछि प्रतियोगिता १२ दिनका लागि सारियो ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?