+
+

नेपाल टी-२० लिग : भारतमा धमाधम सट्टेबाजी, फिक्सिङको चिन्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १० गते १६:१३

९ पुस, काठमाडौं । नेपालको सबैभन्दा ठूलो र व्यावसायिक भनिएको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिग सुरु हुनुपूर्वका आशंकाहरुलाई बल पुग्ने गरी नेपालबाहिर धमाधम सट्टेबाजी भइरहेका छन् ।

वान एक्स बेट, बेट ३६५ जस्ता वेवसाइट तथा एपहरुमा बेटिङका लागि नेपाल टी–२० लिग उपलब्ध छ ।

भारतमा फ्यानकोड एपमार्फत नेपाल टी–२० लिगको बेटिङ कोडसहित सट्टेबाजी भइरहेको छ । फ्यानकोड भारतका लागि प्रतियोगिताको आधिकारिक डिजिटल ब्रोडकास्टरसमेत हो ।

फ्यानकोडमा प्रत्यक्ष प्रसारण हेरिरहेकाहरुलाई बेटिङ कोडसहित सट्टेबाजीका लागि प्रोत्साहित गरिएको छ ।

नेपालमा सट्टेबाजी प्रतिबन्धित छ । त्यसैले नेपाली भूमिमा यो काम गैरकानूनी मानिन्छ । नेपाल क्रिकेट संघ क्यानबाट प्रतियोगिता सञ्चालनसहित कमर्सियल एण्ड स्ट्राटेजिक साझेदार सम्झौता गरेको सेभेन थ्री स्पोर्टस भारतमा सट्टेबाजी घरहरु सञ्चालन गर्नेसहितको उद्देश्यले दर्ता भएको हो ।

नेपालमा पनि यो कम्पनीलाई राखेपको अस्वीकृतिका बाबजुद कम्पनी रजिस्टार कार्यालयले दर्ता गरेको छ । राखेपले सिफारिस नगरे पनि कम्पनी दर्ता गर्न सफल भएको यो कम्पनीको मूल धेयलाई सट्टेबाजीका रुपमा प्रतियोगितालाई प्रयोग गरिनुबाट पुुष्टि गरेको छ ।

यो प्रतियोगिताको सञ्चालन भारतीय कम्पनीले गरिरहेको छ, ६ मध्ये चार टिमका मालिक भारतीय छन्, नेपालको राष्ट्रिय टिमका कप्तानले फ्रेञ्चाइज टिममा कप्तानी गर्न पाएका छैनन् । टिम मालिक भारतीय रहेकामध्ये विराटनगर, जनकपुर र फारवेष्टमा विदेशी खेलाडी नै कप्तान छन् ।

एक दिनअघि मात्र प्रतियोगिताको मुख्य प्रायोजक भनेर सार्वजनिक गरिएको भारतीय कम्पनी वान एक्स ब्याटको पृष्ठभूमि पनि सट्टेबाजीमै जोडिन्छ ।

प्रमुखताका साथ सट्टेबाजी भइरहेका कारण लिगका खेलमा मिलेमतोको सम्भावना पनि उच्च हुने देखिएको छ । कमजोर नियामक निकाय, व्यावसायिक खेल गतिविधिको कम अनुभव र सट्टेबाजी पृष्ठभूमिका सञ्चालकका कारण यो लिग इतिहासमै सबैभन्दा विवादित बनिरहेको छ ।

यद्यपी क्यान र सञ्चालन अधिकार पाएको सेभेन थ्री स्पोर्टसले आईसीसीका इन्टिग्रिटी अफिसर र स्पोर्टस राडारको प्रत्यक्ष निगरानीमा प्रतियोगिता आयोजना हुने बताउँदै आएका छन् ।

श्रम स्वीकृतिविनै विदेशी खेलाडी

नेपाल टी–२० लिगाका ६ फ्रेञ्चाइज टिममा अनुबन्धित ३० जना विदेशी खेलाडीले अहिलेसम्म श्रम स्वीकृति पाएका छैनन् । तर, पनि शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलदेखि नै विदेशी खेलाडीलाई खेलाइएको छ ।

श्रम स्वीकृतिका लागि आवश्यक प्रक्रिया र काजगात पूरा नभएको भन्दै राखेपले सिफारिस गर्न अस्वीकार गरेको छ । राखेपले प्रतियोगिता आयोजक क्यान र सञ्चालन अधिकार पाएको सेभेन थ्री स्पोर्टसको गतिविधिमा शंका व्यक्त गरी श्रम स्वीकृति सिफारिसका लागि सबै कागजात मागेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?