+
+
यू-२३ भलिबलमा नेपाल जितविहीन :

प्रशिक्षक भट्ट भन्छन्- हारे पनि निराश हुनुपर्ने अवस्था छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १३:१५

११ पुस, काठमाडौं । प्रमुख प्रशिक्षक जगदीश भट्टले काभा यू–२३ भलिबलमा आफ्नो टिम जितविहीन रहे पनि खेलाडीको प्रदर्शनबाट पूर्ण सन्तुष्ट रहेको बताएका छन् ।

सिनियर राष्ट्रिय टिमका समेत प्रशिक्षक रहेका भट्टले पहिलो अनुभव र कमजोर तयारीका बीच बलिया विपक्षीसँग नेपालको प्रदर्शनबाट निराश हुनुपर्ने अवस्था नरहेको दावी गरे ।

सेन्ट्रल एसिएन भलिबल एशोसिएसन (काभा)को आयोजनामा बंगलादेशमा आयोजित पुरुष यू–२३ भलिबल च्याम्पियनसिपमा नेपाल र आयोजक बंगलादेशसहित श्रीलंका र किर्गिस्तानको सहभागिता थियो ।

समूह चरण, सेमिफाइनल र तेस्रो स्थानसमेत गरी नेपालले पाँच खेल खेल्दा सबैमा पराजित रह्यो । सोमबार तेस्रो स्थानका लागि भएको खेलमा नेपालले पाँचौं सेटमा अग्रता बनाएर पनि पराजित हुन पुग्यो ।

‘चारवटा मात्र टिम भएको प्रतियोगितामा हामीले पाँचवटा खेल खेल्न पायौं । यसले हाम्रा खेलाडीलाई धेरै राम्रो भएको छ,’ प्रशिक्षक भट्टले भने, ‘तेस्रो हुन्छौं भन्ने आशा थियो । तर, पाँचौं सेटमा विपक्षी टिमको सर्भिस उत्कृष्ट भएपछि हामीलाई गाह्रो भयो । अर्को कारण भनेको हाम्रो ब्लक कमजोर रह्यो । त्यसो हुँदा सर्भिस पनि कमजोर हुने नै भयो ।’

राष्ट्रब्यापी रुपमा खेलाडी छनोट गरी ६ साताको प्रशिक्षणपछि नेपालले प्रतियोगितामा सहभागिता जनाएको हो । यसबीचमा मैत्रीपूर्ण खेलहरु पनि पर्याप्त खेल्न नपाएको प्रशिक्षक भट्टले बताए । त्यसअघि नेपाल भलिबल संघले अहिलेसम्म उमेर समूहको राष्ट्रिय टिम निर्माण गरेको थिएन ।

नेपालको सिनियर महिला टिमलाई लगातार दुईपल्ट सेन्ट्रल जोन भलिबलको उपाधि दिलाएका प्रशिक्षक भट्टले थपे, ‘हामी यो प्रतियोगितामा उपाधि जित्न भन्दा पनि अनुभवका लागि यहाँ आएका हौं । अनुभवहीन टिमले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो दिनदेखि अन्तिमसम्म जस्तो प्रदर्शन गर्यो, त्यसबाट म पूर्ण सन्तुष्ट छु ।’

यो प्रतियोगितामा भएका कमजोरीलाई प्रशिक्षणमा सच्याउँदै र आगामी प्रतियोगितामा राम्रो गर्न सकियो भने नेपालको पुरुष भलिबल टिमको भविष्य धेरै राम्रो रहेको भट्ट बताउँछन् । ‘घरेलु टिमले आफ्नै कोर्टमा खेल्दा बंगलादेशसँग हाम्रो प्रदर्शन राम्रो भएन तर, श्रीलंका र किर्गिस्तानलाई हामीले टक्कर दिएका थियौं,’ उनले थपे ।

नेपालले समूह चरणमा तीन, सेमिफाइनल र तेस्रो स्थानका लागि भएको गरी पाँच खेलमा १५ सेट हार्दा ४ सेट जितेको छ । समूह चरणमा कीर्गिस्तान र तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकासँग नेपालले पाँचौं सेटमा हार ब्यहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?