+
+

महंगो पुरस्कार राशीका दुई टीभी रियालिटी शो ‘मेरो भ्वाइस र मेरो डान्स युनिभर्स’को घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते ११:५४

काठमाडौं । इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालमा महंगो धनराशीको टेलिभिजन रियालिटी शो हुने भएको छ ।

काठमाडौंमा आयोजित समारोहमा ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को घोषणा गरिएको हो । यसअघि ‘मेरो डान्स कप र मेरो भ्वाइस कप यूएसए’को आयोजना गरिसकेको इन्ट्रा फाउन्डेसनले अब विश्वभर छरिएर रहेका नेपालीभाषीलाई समेटर दुई रियालिटी शोको आयोजना गर्न लागेको हो ।

१६ वर्षमाथिका नेपालीभाषीले यो प्रतियोगितामा भाग लिन पाउने आयोजकले जनाएको छ । सहभागी हुन चाहनेले फाउण्डेसनको एप डाउनलोड गरेर आवेदन दिन सक्नेछन् । यी दुवै रियालिटी शोका विजेताले एक-एक करोड रुपैयाँ पुरस्कार पाउने जनाइएको छ । दुवै रियालिटी शोको फस्ट रनरअपले ३०-३० लाख र सेकेण्ड रनरअपले २०-२० लाख रुपैयाँ पुरस्कार नगद प्राप्त गर्नेछन् ।

फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले भने, ‘हामी हाम्रो संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्छ । हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति हो । फाउण्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो ।’

घोषणा समारोहमा दुवै रियालिटी शोका निर्णायक मण्डलको परिचय गराइयो । ‘मेरो भ्वाइस युनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अञ्जु पन्त, सुजाता बर्मा र पुष्पन प्रधान छन् ।

यस्तै, ‘मेरो डान्स युनिभर्स’को निर्णायक मण्डलमा मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बिसी, केकी अधिकारी, प्रियंका कार्की र नरमन राई छन् । यी दुवै शोको निर्देशन एलिन श्रेष्ठले गर्नेछन् । पत्रकार सम्मेलनमा एलिनले भने, ‘हामीले यसपटक पनि नेपाली मौलिकता र संस्कृति झल्किने गीतसंगीतलाई नै महत्व दिनेछौं ।’

फाउण्डेसनले नेपालबाहेक भारत, म्यानमार, थाइल्याण्ड, भुटान, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायतका देशबाट पनि नेपालीभाषी सहभागी हुने आशा राखेको छ । कार्यक्रममा संगीतकार रञ्जित गजमेर र अभिनेता राजेश हमालले फाउण्डेसनले आएका कामको प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?