+
+

सुशान्तको मृत्युलाई लिएर पोस्टमार्टम कर्मचारीले भने- शरीरभरि चोटका निशान थिए

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते १७:०६

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको तीन वर्षअघिको रहस्यमय मृत्युलाई लिएर बलिउड अझै पनि तरंगित छ । यतिबेला आएर उनको मृत्यु नभएर हत्या भएको दाबी भइरहेको छ ।

सुशान्तको मृत्युलाई लिएर कुपर अस्पतालका पोस्टमार्टम कर्मचारीले अर्को चकित पार्ने दाबी गरेका छन् । उनले सुशान्तको शव पोस्टमार्टमका लागि ल्याइँदा उनको आँखामा देखिएका केही निशानले कसैले धेरैपटक मुक्का हानेको अनुभूति भएको बताएका छन् ।

योसँगै उनले महाराष्ट्रको अघिल्लो सरकार अर्थात् उद्धव ठाकरेको शिवसेनाको सरकारमाथि पनि प्रश्न उठाएका छन् ।

भारतीय सञ्चारमाध्यमसँग उनले भने, ‘म सुशान्तको शवलाई पोस्टमार्टम गर्ने टोलीको हिस्सा थिएँ र मैले उनलाई धेरै चोट लागेको देखें । उनको केही हड्डी पनि भाँचिएको थियो । त्यतिबेलाको उद्धव सरकारप्रति विश्वास नभएकाले म मिडियाको अगाडि आउन सकिनँ । अहिले सरकार परिवर्तन भएको छ, म सत्य बोल्न चाहन्छु । मलाई आफ्नो ज्यानको परवाह छैन, सुशान्तले न्याय पाउनुपर्छ ।’

यस्तो दाबी गर्ने रुपकुमार शाह सोमबार पहिलो पटक मिडियामा देखा परेका थिए । उनले भनेका छन्, ‘सुशान्त सिंह राजपुतले आत्महत्या गरेका होइनन्, उनको हत्या भएको हो । उनको मृत्यु हुँदा हामीले कुपर अस्पतालमा पाँचवटा शव प्राप्त गरेका थियौं । हामीलाई भनियो कि शवमध्ये एक भीआईपीको हो । पोष्टमार्टम गर्न गएपछि थाहा भयो त्यो शव सुशान्त सिंह राजपुतको हो ।’

उनले अगाडि भने, ‘हामीले देख्यौं कि सुशान्तको शरीरमा धेरै चोटका निशान थिए । घाँटीमा दुई-तीन चोटको निशान पनि देखिन्छ । पोष्टमार्टमको रेकर्डिङ हुनुपथ्र्यो, तर माथिका अधिकारीले फोटो खिच्ने मात्रै अनुमति दिएकाले हामीले पनि आदेश पालना गर्‍यौं ।’

रूपकुमारले भने, ‘जब मैले पहिलो पटक सुशान्तको शव देखें, मैले तुरुन्तै मेरा हाकिमलाई यो आत्महत्या नभएर हत्या भएको बताएँ । मैले उनीहरूलाई नियम पालना गर्नुपर्छ भनें तर हाकिमले मलाई यसबारे पछि कुरा गर्न भने । उनले जतिसक्दो चाँडो शवको तस्वीर क्लिक गरेर प्रहरीलाई दिन भने । त्यसैले राति नै पोस्टमार्टम गर्‍यौं ।’

उनले पोस्टमार्टम रिपोर्टमा के लेख्ने भन्ने कुरा डाक्टरको काम भए पनि सुशान्तले न्याय पाउनुपर्ने बताए । ‘सुशान्तको तस्वीर हेरेर जो कोहीले पनि उनको हत्या भएको भन्न सक्छ । अनुसन्धान एजेन्सीले मलाई बोलाए भने म पनि त्यही भन्छु,’ उनले भने ।

अब यस विषयमा सुशान्तका वकिल विकास सिंहको प्रतिक्रिया आएको छ । उनले भने, ‘सुशान्तको शरीरमा चोटका निशान थिए वा थिएनन्, यसबारेमा म स्पष्टसँग केही भन्न सक्दिनँ, तर म भन्छु कि सुशान्तको मृत्युको कारण साधारण आत्महत्या थिएन । यसका पछाडि पक्कै कुनै न कुनै षड्यन्त्र थियो । सीबीआईले मात्रै यो समस्या समाधान गर्न सक्छ ।’

सुशान्त १४ जुन २०२० मा मुम्बईको बान्द्रास्थित घरमा रहस्यमयी रूपमा मृत भेटिएका थिए । पहिलो नजरमा यो घटना आत्महत्या भएको देखिए पनि पछि मिडिया र विपक्षी दलको दबाबका कारण घटनाको अनुसन्धान सीबीआईलाई सुम्पिएको थियो । सीबीआईको पछिल्लो प्रतिवेदनमा मृत्युको वास्तविक कारण आत्महत्या भनिएको थियो ।

जब सीबीआईले यस मामिलाको छानबिन गरिरहेको थियो, त्यसमा लागुऔषधको कोण जोडिएको थियो । यस विषयमा लागुऔषध नियन्त्रण ब्युरोले व्यापक अनुसन्धान गरेको थियो । अनुसन्धानमा लागुऔषध सिन्डिकेटको कुरा पनि खुलेको छ ।

सुशान्तकी प्रेमिका रिया चक्रवर्ती ड्रग्सको यो केसमा फसेकी थिइन् । रिया आफैंले सुशान्तलाई ड्रग्स सेवन गरेको र ड्रग्स दिएको आरोप पनि लागेको थियो । यसबाहेक रियाले सुशान्तलाई मानसिक र आर्थिक रूपमा यातना दिने गरेको आरोप पनि सुशान्तका परिवारले लगाएका थिए ।

रियाले केही दिनअघि एउटा पोष्ट गरेकी छन्, जसले सुशान्तको हत्या भएको भन्ने आरोपको प्रतिक्रिया स्वरुप रियाको यो पोष्ट आएको अनुमान गरिएको छ । रियाले लेखेकी छिन्, ‘तिमी आगोबाट गुज्रियौ, आँधीबाट जोगियौ, शैतानलाई जित्यौ, यो याद गर, अर्को पटक आफूलाई शंका लागेमा, याद राख कि ठूला कठिनाइलाई पराजित गरिसकेका छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?