
१४ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले शीर्ष डिभिजनका क्लबहरुसँगको छलफलपछि शहीद स्मारक ए डिभिजन लिग फुटबलको मिति परिवर्तन गरेको छ ।
एन्फा मुख्यालय सातदोवाटोमा विहीबार ए डिभिजनका १४ क्लबसँगको छलफलपछि एन्फाले फागुन १९ गतेदेखि लिग सञ्चालन गर्ने नयाँ मिति तोकेको हो ।
यसअघि कात्तिक १ गते ए डिभिजन लिगका प्रतिनिधिसँगको छलफलपछि एन्फाले पुस २६ गतेदेखि लिग सुरु गर्ने घोषणा गरेको थियो ।
एन्फाबाट तयारी खर्च नपाएको भन्दै क्लबहरुले नै लिग सार्नुपर्ने प्रस्ताव गरेका थिए । एन्फाले लिगको मिति परिवर्तन गरे पनि फर्म्याट परिवर्तन गरेको छैन ।
यसअघि पुस २६ देखि जेठ २० गतेसम्म डवल राउण्ड रोविन प्रणालीमा लिग आयोजना गर्ने निर्णय भएको थियो ।
‘क्लबहरुसँग छलफलपछि ३ मार्च अर्थात फागुन १९ देखि लिग सञ्चालन गर्ने निर्णय भएको छ । फर्म्याट परिवर्तन गरेका छैनौं,’ एन्फा प्रवक्ता सुरेश साहले अनलाइनखबरसँग भने ।
उनले लिग असारसम्म धकेलिनसक्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4