+
+

हिबाची प्लेस: रमाइलो जापानी पाक-कौशल हेर्दै, थरीथरी स्वाद चाख्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १५ गते ६:००

खाना केका लागि ? मान्छेको आवश्यकता अनुसार यसको जवाफ मिश्रित हुनसक्छ ।

कसैले भन्लान्, भोक मेट्नका लागि । कसैले भन्लान्, स्वादका लागि । कसैले भन्लान्, सन्तुष्टिका लागि । अनि कसैले भन्लान्, स्वास्थ्यका लागि ।

यी सबैकुरा एकमुष्ट प्राप्त भए के होला ?

यसको जवाफ खोज्न, ‘द हिबाची प्लेस पुग्नुपर्छ । लाजिम्पाटस्थित नेपाली चुल्हो रेष्टुरेन्टको गल्लीबाट छिरेर थोरै अगाडि बढेपछि तपाईं ‘हिबाची प्लेस’को सम्मुखमा पुग्नुहुनेछ । वर्षदिन अघि सञ्चालनमा आएको हिबाची ‘मल्टी कुजिन रेष्टुरेन्ट’ हो, जसको मेन्युमा नेपाली रैथाने स्वाददेखि कन्टिनेन्टल परिकारसम्म समावेश छन् ।

तर, हिबाचीले पस्कने खास व्यञ्जन भनेको जापानी नै हो । त्यसमा पनि खास कुरा के भने, ती व्यञ्जन परम्परागत जापानी शैलीमा तयार हुन्छ ।

आगन्तुककै अघिल्तिर भट्टी झैं ठूलो चुल्होमा पाक्ने व्यञ्जनले जिभ्रोको स्वाद त फर्ने नै छ, पाकशैलीले दंग पार्नेछ । किनभने हिबाचीको यस्तो पाकशैली शहरमा अन्यत्र सायदै देखिएलान् । जापानी रुपरंगमा ठाँटिएका भान्से अर्थात् हिबाची सेफले हाँसो–ठट्टासँगै तपाईंको आँखै अगाडि थरीथरी व्यञ्जन तयार गर्नेछन् । यही नै हिबाचीको आफ्नोपन हो र, तपाईंको लागि नयाँपन ।

कति रमाइलो पाक-शैली

त्यसो त हिबाची नाम आफैंमा जापानको परम्परागत पाकशैलीमा आधारित छ । कोइला अर्थात् आगो प्रयोग गरिने ठूलो चुल्हो हो यो । आगन्तुकलाई सामुन्नेमा राखेर त्यही चुल्होमा थरीथरी परिकार तयार गर्नु र तात्तातो पस्कनु यसको पृथकता हो ।

यहाँ तपाईंलाई लोभ्याउने कुरा हो, हिबाची भान्सेको अनौठो पाक–कौशल । उनले तपाईंसँग अन्तक्रियात्मक शैलीमा खानेकुराहरु तयार गर्नेछन् । कुन परिकार उनले कसरी र के कस्ता मरमसला प्रयोग गरेर बनाउँछन् भन्ने कुरा त तपाईंले प्रत्यक्ष देख्नुहुने नै छ, भान्सेको रसिक अनि ठट्यौली प्रस्तुतीमा आनन्द पनि लिनुहुनेछ । अनि पो तपाईंले हिबाचीको व्यञ्जनमा स्वाद र मनोरञ्जन दुवै पाउनुहुनेछ ।

अहो सुशीको स्वाद 

अब कुरा जोडौं, जापानी व्यञ्जनको । तपाईं जापानको मौलिक खान्कीले स्वाद फेर्न चाहनुहुन्छ भने ‘सुशी’ खास हुनसक्छ । सुशी, जो जापानको परम्परागत खान्की हो । सुशी वास्तवमा स्वाद र स्वास्थ्यको बेजोड मिश्रण हो । यस खान्कीमा उनीहरु यसकारण आत्मगौरव गर्छन् कि, विश्वकै पारखीलाई सुशीले लोभ्याइसकेको छ ।

सुशीको रेसेपीमा चामल, समुन्द्री माछा सालमोन, गंगटो, एभोकाडो, आँप, समुद्रकै भित्री तहमा पाइने एक प्रकारको वनस्पति, मुला, हरियो सागपात आदि समेटिन्छन् । सालमोन माछालाई ओमेगा–३ फ्याटी एसिडको राम्रो स्रोत मानिन्छ । ओमेगा–३ शरीरका लागि अत्यान्तै लाभदायक पोषक तत्व हो तर सामान्य खानपानमा यो तत्व पाइँदैन । एभोकाडो अनसेचुरेटेड फ्याटको स्रोत हो । अनसेचुरेटेड फ्याट शरीरका लागि अति उपयोगी र जरुरी मानिन्छ । यसैगरी चामलदेखि समुद्री वनस्पतिसम्मले सुशीलाई पोषणको खजाना बनाएको छ ।

हिबाचीमा पुगेपछि सुशीको स्वाद लिनैपर्छ ।

जापानी भोजन र दीर्घायुको कुरा

सुशीको प्रसंग सुरु गरेपछि यति त भन्नैपर्छ कि, जापानीको दीर्घजीवनसँग यो खानेकुराको सहोदर सम्बन्ध छ ।

विश्वमै सर्वाधिक आयु बाँच्नेमा जापानी नागरिक पर्छन् । त्यसमा पनि ओकिनावा टापुका । त्यहाँका मान्छेहरु औसत सय वर्ष बढी बाँच्छन्, त्यो पनि सक्रिय र तन्दुरुस्त । कसरी उनीहरु यति लामो समयसम्म बाँच्छन् ?

यसबारे अनेक खोज भएका छन् र त्यसका केही साझा निचोड निस्किएका छन् । ओकिनावाका वासिन्दाहरु दीर्घजीवी हुनुमा वंशाणुगत कारणदेखि सक्रिय जीवनसम्म जोडिएका छन् । र, विशेष जोडिएका छन्, उनीहरुको खानपान ।

भनिहालौं, ओकिनावाका वासिन्दाको मूल खान्की हो सुशी ।

फेरि लागौं हिबाचीतर्फ

हिबाचीमा पुगेपछि जापानी व्यञ्जन त चाख्नैपर्छ । यद्यपि त्यहाँ जापानीबाहेक अरु पनि परिकार पाइन्छन् । नपाइने त मात्र, मःम र चाउमिन हो । नेपाली, इन्डियन स्वादका थरीथरी परिकारदेखि पिज्जा, बर्गरसम्म यहाँको मेनुमा उपलब्ध छन् । समुद्री खान्की चाहिं तपाईंका लागि अझ काइदा हुनसक्छ ।

यदि तपाईं हिबाची सेफको पाक–कौशलसँगै मीठो मसिनो खानुहुन्छ भने एक घण्टा अगाडि नै बुकिङ गर्नुपर्ने हुन्छ । किनभने त्यसका लागि केही क्षण त तयारी गर्ने समय पनि लाग्छ नि । त्यहाँ तपाईंले चार किसिमको व्यञ्जन चाख्न सक्नुहुनेछ । एकथरी व्यन्जनमा ७ देखि १० किसिमको परिकार उपलब्ध हुनेछ ।

हिबाचीमा पारिवारिक जमघट एवं साथीभाइसँग रमझमका लागि काइदा हुनसक्छ । शहरकै मध्यभागमा भएपनि यहाँ होहल्ला छैन । पार्किङको पर्याप्त सुविधा छ । सफा, शान्त, सुविधायुक्त हिबाचीले तपाईंलाई खानपानको नयाँ शैलीसँग साक्षात्कार त गराउने नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?