+
+

सेतो मच्छिन्द्रनाथलाई गराइयो महास्नान

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७९ पुष १५ गते १९:०७

१५ पुस, काठमाडौं । सेतो मच्छिन्द्रनाथलाई शुक्रबार महास्नान गराइएको छ । पुस शुक्ल अष्टमीको दिन काठमाडौंको केलटोलमा रहेको सेतो मच्छिन्द्रनाथलाई परम्परा अनुसार महास्नान गराइएको हो । यस परम्परासँग केही महत्वपूर्ण र रोचक विधि विधानहरु पनि छन् ।

सेतो मच्छिन्द्रनाथलाई हिन्दूहरु हरिहरका रुपमा, बौद्ध धर्मावलम्बीहरु आर्यावलोकितेश्वरका रुपमा र वैष्णवले नारायणका रुपमा पूज्ने गर्दछन् ।

महास्नान गराउन मूर्तिलाई मन्दिरमा नियमित राख्ने स्थानबाट बाहिर निकालेर डबलीमा राखिन्छ । त्यसपछि मूर्तिलाई लगाइदिइएका सबै कपडाहरु फुकालिन्छ र शोभाभगवतीमा रहेको निर्मल तीर्थबाट ल्याएको जलले स्नान गराइन्छ ।

त्यसअघि मूल पुरोहितले कुनै विघ्न बाधा नआवस् भन्दै पूर्व-पश्चिम, उत्तर-दक्षिण, अग्नि, नैऋत्य, वायु, इशान, तल र माथि रहेका देवताको पूजाआजा गर्छन् । यो कार्यक्रम सुरु हुनुअघि बसन्तपुरबाट जीवित देवी कुमारीलाई ल्याइएको हुन्छ ।

त्यसपछिमात्रै महास्नानको मुख्य कार्यक्रम सुरु हुन्छ । महास्नान रातिमा हुन्छ । महास्नान गराइएको भोलिपल्ट मूर्तिलाई घाम तपाउने प्रचलन छ । तर, घाम तपाउँदा बादल लाग्ने धार्मिक विश्वास छ ।

माटोले बनेको मूर्तिको मर्मत र रंगरोगन पनि घाममा राखेर चित्रकार समुदायले गर्दछन् । मूर्तिको मर्मत गर्नुपर्‍यो भने वा कुनै देवदेवीको मूर्ति बनाउनुपर्‍यो भने मैह्पीको डाँडोबाट माटो ल्याउने चलन छ । रंगरोगन गर्दा रंगमा सुन मिसाएर लगाउने स्थानीयको भनाइ छ ।

साइत हेरेर मानिसको जस्तो १० कर्मको संस्कार पूर्णिमासम्म जारी रहन्छ र पूर्णिमाको दिन सेतो मच्छिन्द्रनाथको मूर्तिलाई नयाँ पहिरन लगाइदिइन्छ ।

यी काम जारी रहँदा सेतो मच्छिन्द्रनाथको नित्य पूजा भने मूर्तिको साटो कलशमा गरिन्छ । दश कर्मको विधि सकिएपछि मूर्तिमा प्राणप्रतिष्ठा गरेर मन्दिरको यथास्थानमा राखिन्छ ।

हेर्नुहोस् थप तस्वीरहरु :

 

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?