+
+

भोलि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन, पोखरामा सार्वजनिक विदा

फोहोर व्यवस्थापनको अस्थायी समाधान

अमृत सुवेदी अमृत सुवेदी
२०७९ पुष १६ गते १३:४६

१६ पुस, पोखरा । ५० वर्षअघि पोखरेलीले देखेको सपना आइतबार पूरा हुने भएको छ । ५ दशक लामो उतारचढावपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दै छन् । यही खुसीमा पोखरा महानगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ ।

आइतबार अमरसिंह चोकदेखि विमानस्थलसम्म विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहित र्यादली निकाल्ने तयारी छ । विमानस्थलको परिकल्पना गरी जग्गा अधिग्रहण सुरु गरेका तत्कालीन अञ्चलाधीश शंकरराज पाठकलाई अभिनन्दन गर्ने कार्यक्रम छ । उनीसँगै तत्कालीन प्लानर पदमबहादुर क्षेत्रीलाई पनि अभिनन्दन गर्ने कार्यक्रम थियो तर उनी उपचारका लागि बाहिर छन् ।

शुभारम्भ समारोहमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक बिक्रम गौतमले बताए । फेब्रुअरी २३ देखि दैनिक १८ घन्टा उडान हुने उनले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत पर्यटन संघ संस्थाको सहभागितामा उद्घाटन हुने उनले बताए । बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालक दल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने छ ।

फोहोरको समस्या अस्थायी समाधान

नेपाल नागरिक उड्डयन प्राधिकरणले जनवरी १ देखि विमानस्थल सञ्चालन गर्ने घोषणा गर्दा सबैभन्दा ठूलो चुनौती पोखराको फोहोर व्यवस्थापन गर्ने स्थल ल्याण्डफिल साइटकै थियो । विमानस्थलको २ किलोमिटर मात्र टाढा रहेको ल्याण्डफिल साइट नहटाउँदा त्यहाँ आउने चराका कारण दुर्घटना निम्तिन सकिने भन्दै प्राधिकरणले हटाउन आग्रह गरेको थियो ।

प्राधिकरणको आग्रह अनुसार पोखरा महानगरपालिकाले पुरानो ल्याण्डफिल साइटमा फोहोर फाल्न छाडेको छ र वडा नं ३२ को लामेआहालमा अस्थायी रुपमा फोहोर फाल्न थालेको छ ।

विमानस्थल उद्घाटनको अघल्लो दिन शनिबार पोखरा महानगरपालिकाले पत्रकार सम्मेलन गरी फोहोर व्यवस्थापनको टुंगो लागेको जानकारी दिएको छ । मेयर धनराज आचार्यले दीर्घकालीन रुपमा पोखरा–३३ पुँडिटारमा प्रशोधन केन्द्र बनाउन लागेको जानकारी दिए । ‘६ महिना पुरै ल्याण्डफिल साइट खोज्नमै लाग्यो । धेरै हण्डर ठक्कर खायौं’, मेयर आचार्यले भने, ‘अन्तत:, हामीले तत्कालीन र दीर्घकालीन रुपमा फोहोर व्यवस्थापनको टुंगो लगाएका छौं ।’

पोखरा महानगरपालिका-३३ पुँडीटारको झाँक्री खोलामा पुनः प्रशोधन केन्द्र बनाएर दीर्घकालीन फोहोर व्यवस्थापन गर्ने र त्यो नबन्दासम्म पोखरा–३२ लामेआहालको खोला छेउमा व्यवस्थापन हुने उनको भनाइ छ ।

‘दुई दिनभित्र ग्लोबल टेण्डर निकाल्ने तयारी छ । सबैभन्दा राम्रो प्रस्ताव जसको आउँछ त्यो सार्वजनिक गर्छौं’, मेयर आचार्यले भने ‘गुरुकुल, विद्याश्रम र राधाकृष्ण मन्दिरसहित स्थानीयको करिब ३० रोपनी जमिन पहिरोले खसेको छ । यसरी नै पहिरो खस्न थाले राजमार्गसम्म आउँछ । तत्काललाई त्यहाँ फोहोर फालेर हरेक दिन त्यसलाई परिन्छ ।’

प्रत्येक दिन फोहोर फाल्लेनवित्तिकै त्यसलाई माटोले छोपिने मेयर आर्यले बताए । सेती नदीकै किनार भए पनि नदीलाई कुनै असर नपर्ने गरी व्यवस्थापन मिलाइएको आचार्यको दाबी छ ।

दीर्घकालीन रुपमा प्रशोधन केन्द्र बनाउन कम्तीमा ६ महिना लाग्ने मेयर आचार्यले बताए । त्यसका लागि ४/५ वटा कम्पनीको प्रस्ताव आएको र त्योमध्ये सबैभन्दा राम्रो प्रस्तावलाई कार्यान्वयनमा लैजाने उनको भनाइ छ ।

फोहोरबाट सीएनजी ग्यास, पाइप, ब्लक, बिजुली उत्पादन गर्नेसम्मको प्रस्तावहरु आएको उनले बताए । ‘फोहोर भन्नेबित्तिकै तर्सिनपर्ने होइन भन्ने गरी, त्यहाँ लगेर देखाउने गरी काम गर्छौं,’ आचार्यले भने । यो प्रशोधन केन्द्र ७० रोपनी जमिनमा बन्ने छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?