+
+

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनमा उर्लियो जनसागर

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १६:०१

१७ पुस, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा निम्तो गर्दै महानगरपालिकाले सार्वजनिक बिदाकै घोषणा गर्‍यो । महानगरले टोल/टोलबाट झाँकी, र्‍यालीसहित सहभागी हुन आह्वान नै गरेको थियो ।

समुद्घाटन समारोहमा जनसहभागिता व्यापक रहोस् भन्ने उद्देश्यले कार्यालयका सबै सेवा र शैक्षिक संस्थासमेत बन्न रहने सूचना महानगरले जारी नै गरेको थियो ।

महानगरको आह्वान स्वीकार गर्दै बिहान १० बजेदेखि पोखरेलीहरुको विमानस्थल छिर्न चाप सुरु हुन थाल्यो । ११ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भनिएको कार्यक्रम साढे १ बजेतिरमात्रै सुरु हुन पुग्यो ।

उद्घाटन समारोहमा यसरी जनसागर उर्लियो कि अन्तर्राष्ट्रिय विमानस्थलको मुखमै पनि हजारौंलाई व्यवस्थित गर्ने सामथ्र्य नै ट्राफिक प्रहरीको रहेन । विमानस्थलदेखि पृथ्वीचोक छिचोल्नै २ घन्टासम्म जाम बस्नुपर्दा यात्रुहरुले ठूलो सास्ती खेपेका छन् ।

पोखरा महानगरपालिकाले सार्वजनिक बिदा नै दिएर सिंगो पोखरालाई निम्तो गर्‍यो तर ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त बनेको छ । ‘सबैलाई छुट्टी दिएर निम्तो गर्ने तर व्यवस्थापन र विकल्प तयार गर्न नसक्नु ठूलो कमजोरी बन्यो । विजयपुरबाट पृथ्वीचोक आउनै २ घन्टा लाग्यो,’ पोखरा–२६ का सन्देश थापाले आक्रोश पोखे, ‘विमानस्थल बन्नु पोखराका लागि गर्वको विषय होला तर सर्वसाधारणलाई सास्ती हुनु र अन्तर्राष्ट्रिय भनिएको विमानस्थल उद्घाटनकै दिन अस्तव्यस्त देखिनु पोखराका लागि राम्रो संकेत होइन ।’

पोखराका मेयर धनराज आचार्यले शनिबार पत्रकार सम्मेलन गर्दै उद्घाटन समारोहका बेला हेभी इक्वीपमेन्ट, ट्रक, टिपरजस्ता सवारी साधनलाई रोक लगाइने र अन्य ट्राफिक व्यवस्थापनमा पनि विकल्प दिने बताएका थिए । तर, जनसागर नै यसरी ओइरियो कि न पृथ्वीराजमार्गले थेग्यो न कुनै विकल्प नै देखियो ।

विजयपुरबाटै महेन्द्रपुल निस्कने व्यवस्था मिलाउँदा बागलुङ, पर्वत लगायतका ठाउँमा जाने बस पनि त्यही बाटो जाने र विरौटा क्षेत्र तथा स्याङ्जातिर जानका लागि पनि दक्षिणी सडक प्रयोग गर्ने मेयर आचार्यको भनाइ थियो । तर, न हेभी इक्वीपमेन्ट रोक लगाइयो न कुनै वैकल्पिक सडक नै प्रयोग हुन सक्यो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समारोहभर यात्रु र कार्यक्रममा आउजाउ गर्ने व्यक्तिहरुले सास्ती खेप्नुप¥यो । खास ट्राफिक व्यवस्थापनमा कहाँ चुकेको हो त ?

कास्की जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रकाश शाह भन्छन्, ‘थेगिनसक्नु जनसागर उत्रियो । सडक साँघुरो भयो । बीपी मार्गमा कल्भर्ट बनिरहेकाले त्यो प्रयोग गर्न पाएनौं । व्यवस्थापन गर्न सक्ने कुनै उपाय नै देखिएन ।’

साना गल्लीहरुमा साना सवारी साधन पठाए पनि विद्यालयदेखि विभिन्न संघसंस्थाका बसहरुले सडक नै भरिएको उनको भनाइ छ । उद्घाटनमा जानेलाई विमानस्थलभित्रै पार्किङको व्यवस्था मिलाइएको थियो । तर, भित्र पनि भरिएपछि सडकले धान्न सक्ने अवस्था भएन ।

विमानस्थलकै मुखदेखि नै पृथ्वीचोक आउन अरुबेला पनि सडक र पूर्वाधार तयार भइनसकेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मूल्मी बताउँछन् । अध्येता विश्व सिग्देलले विमानस्थलसँगै त्योदेखि बाहिरका पूर्वाधार पनि सँगसँगै निर्माण हुनुपर्नेमा राज्य चुकेको बताए ।

‘विमानस्थल बन्दै गर्दा विमानस्थलबाट निस्कने सडक, वैकल्पिक मार्ग तयार पार्नुपर्ने थियो । तर, उद्घाटन भइसक्दा पनि सडक र पूर्वाधारले विमानस्थललाई थेग्न सक्ने भएन’, उनले भने ।

यसअघिकै स्थानीय तथा प्रदेश सरकारले पनि वैकल्पिक मार्ग तथा बाइ पासको योजना बनाएका थिए । तर, कुनै पनि योजना कार्यान्वयन हुन सकेको छैन । पृथ्वीचोक निस्कने चाइनिजले पनि भार थेग्न नसक्ने अवस्थामा पुगिसकेको छ तर अर्को विकल्प नदेखिँदा आउने पाहुनलाई सुरुकै गासमा ढुंगा लाग्ने अवस्था रहेको स्थानीय अनिल सुवेदी बताउँछन् ।

पोखरामा बढिरहेको सवारी साधनको चाप र पुरानै सडक, पुलले लाज नछोप्ने स्थितिलाई बेलैमा सोच्नुपर्ने उनको भनाइ छ । उद्घाटनको मिति तय गरिए पनि कार्यक्रमदेखि अन्य व्यवस्थापनमा तयारी नपुगेको सहभागीहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?