+
+

बीमाको दायरा बढाउन सरकार जिम्मेवार भएन : अध्यक्ष सिलवाल

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १८ गते १६:४६

१८ पुस, काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सरकारले घर तथा सम्पत्ति बीमा पनि अनिवार्य गर्नुपर्ने बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै उनले सरकारले मोटर बीमा अनिवार्य गरे जस्तै घर तथा सम्पत्ति बीमा पनि अनिवार्य गर्नुपर्ने बताए ।

अध्यक्ष सिलवालले बीमाको दायरा र पहुँच विस्तारमा सरकार नै जिम्मेवार नभएको भन्दै त्यसको खबरदारी पत्रकारहरुले गर्नुपर्ने बताए ।

‘सरकारले आफ्नो सम्पत्तिकै बीमा गरेको छैन, बीमाको महत्व बुझेर सरकारले नै जोखिम ट्रान्सफर नगरेको अवस्थामा सर्वसाधारणलाई हामीले के उदाहरण दिने ?,’ अध्यक्ष सिलवालले भने, ‘सरकारलाई बीमा क्षेत्रप्रति आफ्नो जिम्मेवारी महसुस गराउन तपाईंहरुको महत्वपूर्ण भूमिका हुन्छ । त्यसमा आवश्यक समन्वय गर्न प्राधिकरण तयार छ ।’

‘घरको बीमा गर्नुपर्छ भन्ने महसुस भूकम्पपछि मात्रै भएको हो । काठमाडौं उपत्यकाबाहिर अझै पनि कतिपय ठूला भवनहरुकै बीमा गरिएको हुँदैन’, उनले थपे, ‘यसका लागि स्थानीय सरकार/प्रत्येक पालिकाहरुले घरको बीमा अनिवार्य भनेर बाध्यात्मक नियम लागु गर्नसके बीमाको पहुँच थप बढ्छ ।’

उनले अहिलेसम्म राष्ट्रिय बीमा नीति नै नरहेको भन्दै प्राधिकरणले मस्यौदा गरेर पठाएको राष्ट्रिय बीमा नीति नेपाल सरकारले संशोधनसहित स्वीकृत गरेको भए पनि प्राधिकरणमा नपुगेको बताए ।

‘हाल बीमाक्षेत्रमा धेरै परिवर्तन आएका छन् । सरकार, प्रदेश सरकार र स्थानीय सरकारले बीमाका बारेमा बुझ्दै गएका छन् । राष्ट्रिय बीमा नीति कार्यान्वयनमा आएपछि सरकारका लागि समेत बीमा बाध्यकारी बन्छ,’ उनले भने, ‘प्रदेश र पालिकाहरुले पनि बीमासम्बन्धी जनचेतना अभिवृद्धिमा जोड दिनुपर्छ । यसबाट हामी खोजिरहेको गन्तव्यमा पुग्नसक्छौँ ।’

प्राधिकरणले बीमा क्षेत्रको लगानी विविधिकरणका लागि निर्देशिकाहरु जारी गरी जलविद्युत लगायत सरकारबाट स्वीकृतिप्राप्त क्षेत्रमा बीमा कम्पनीहरुले लगानी गर्ने बाटो खुलाएको उनले जानकारी दिए ।

अध्यक्ष सिलवालले बीमाको पहुँच र दायरा विस्तारमा आर्थिक पत्रकारहरुको खबरदारीले महत्वपूर्ण भूमिका राख्ने हुँदा आगामी दिनमा प्राधिकरणले मासिक तथा त्रैमासिक रुपमा पत्रकारहरुको क्षमता विकासका लागि तालिम तथा अन्तरक्रिया कार्यक्रमहरु आयोजना गर्ने प्रतिबद्धता गरे ।

‘आर्थिक पत्रकारको क्षमता अभिवृद्धि हुँदा प्राधिकरणले केही गुमाउँदैन । प्राधिकरणलाई फाइदा नै पुग्छ’, उनले भने, ‘सूचना दिने पत्रकारले क्षमता वृद्धि हुँदा उसले दिने सूचना पनि प्रभावकारी हुन्छ । जसले बीमाको दायरा र सूचना विस्तारमा नै सघाउँछ ।’

अध्यक्ष सिलवालले बीमा क्षेत्रको विकास र विस्तारका लागि आर्थिक पत्रकारहरुको भूमिका महत्वपूर्ण रहने बताउँदै आगामी दिनमा प्राधिकरणले पत्रकारहरुको क्षमता विकासका लागि वार्षिक कार्यक्रम नै बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता गरेका थिए ।

बीमा प्राधिकरणका प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म प्राधिकरणले गरेको सम्पूर्ण काम कारबाहीको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा नाफिजका अध्यक्ष मोदनाथ ढकालले देशको आर्थिक विकासमा बीमा क्षेत्रको महत्वपूर्ण भूमिका रहने हुँदा बीमा कम्पनीहरुको लगानी विस्तारमा प्राधिकरणले थप सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?