+
+

एनओसीको अनलाइन आवेदन किन हुन्छ अस्वीकृत ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १८ गते १८:२०
एनओसी लिन केशरमहलमा पुगेका विद्यार्थी ।

१८ पुस, काठमाडौं । अध्ययनका लागि विदेश जान लागेका विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर) लिन निकै सास्ती भोग्नुपरिरहेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाका अनुसार एनओसी लिन निवेदन दिएकामध्ये हिजोआज दैनिक डेढ सय जनाको आवेदन रद्द हुने गरेको छ ।

आइतबार ६३० एनओसी पाए भने १५९ जनाको रद्द भयो । ३३२ एनअ‍ोसी आवेदन स्वीकृत भयो भने ७४ जनाको अस्वीकृत भएको शाखाले जनाएको छ ।

वैदेशिक अध्ययन अनुमति पत्र लिन अनलाइनबाट फारम भर्न सकिन्छ । तर शैक्षिक परामर्श केन्द्र (एजुकेसन कन्सल्ट्यान्सी) को बदमासीका कारण विद्यार्थीहरुको आवेदन अस्वीकृत हुने गरेको एनओसी शाखाको दावी छ ।

शाखा प्रमुख बासुदेव वस्तीले कन्सल्टेन्सीले विद्यार्थीलाई गलत जानकारी दिएर अल्मल्याउने, उपत्यका बाहिरका विद्यार्थीको अनलाइन आवेदन प्रमाणित हुनेवित्तिकै काठमाडौं बोलाएर होटलमा बस्न लगाउनेजस्ता काम गरेको पाइएको बताए ।

त्यस्तै विद्यार्थीको एनओसीलगायत सक्कल कागजात कन्सल्टेन्सीमै राखिदिने, मञ्जुरीनामा लिएर विद्यार्थीको एनओसी लिन जाने गरेको शाखाको भनाइ छ ।

एउटा देशमा अध्ययनका लागि जान सटही गरेको विदेशी मुद्रा फिर्ता (रिफन्ड) नहुँदै अर्को देशमा अध्ययनको लागि प्रक्रिया अगाडि बढाउने, सटही गरेको रकम कन्सल्टेन्सी मार्फत नै फिर्ता गर्न लगाउने गरेको पनि शाखाको भनाइ छ। कन्सल्टेन्सीका यस्ता कृयाकलापले विद्यार्थीले समस्यामा परिरहेको शाखाको जिकिर छ ।

यस्ता धेरै समस्या लिएर विद्यार्थीहरु शाखामा आउन थालेका छन् । यही क्रममा विद्यार्थीको गलत फारम भरेको पाइएपछि दुई वटा कन्सल्टेन्सीलाई आइन्दा यस्ता कृयाकलाप नदोहो¥याउने शर्तमा माफी मगाएको शाखा प्रमुख वस्तीले बताए ।

शाखाले टाइम्स इन्टरनेशनल एजुकेशन प्रालिले एउटा विद्यार्थीको सट्टा अर्को विद्यार्थीको शैक्षिक विवरण राखेर अनलाइन फाराम भरिदिएको र किङ्स इन्ष्टिच्युटले एउटा विद्यार्थीको सट्टा अर्को विद्यार्थीको अफर लेटर राखेर भरिदिएको पाइएकोले कारबाही गरेको जनाएको छ ।

शाखा प्रमुख वस्ती शैक्षिक परामर्श केन्द्रहरुको भूमिकाको प्रभावकारी नियमन गर्नुपर्र्ने बताउँछन् । उनी भन्छन् ‘शाखाले बैदेशिक अध्ययन अनुमति प्रदान कार्यलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउनको लागि सुधार गर्ने क्रममा कन्सल्टेन्सीहरुको बदमासी गरेको पाइयो । कन्सल्टेन्सीको भूमिकाबारे प्रभावकारी नियमन गर्न अत्यावश्यक देखियो ।’

विद्यार्थीले यहाँ पढेको विषय र वैदेशिक अध्ययन गर्न जान लागेको विषयबीच तालमेल नहुँदा पनि आवेदन अस्वीकृत गर्ने गरेको छ । शाखा प्रमुख वस्ती उदाहरण दिँदै भन्छन्, बिजनेस म्याथम्याटिक्स अथवा म्याथम्याटिक्स नपढेकाले इन्फरमेसन टेक्नोलोजी, म्याथम्याटिक्स नपढेकाले इन्जियनियरिङ पढ्नको लागि आवेदन दिँदा योग्य नहुने भएकाले अस्वीकृत हुन्छ ।

चिकित्सा शिक्षाको कुनै पनि विषयमा अध्ययन गर्न जानको लागि चिकित्सा शिक्षा सेवा आयोगको एकीकृत प्रवेश परीक्षा पास गरेको प्रमाणपत्र र इलीजीबीलीटी फारम एमइसी नहुँदा पनि एनओसी पाउन सक्दैनन् ।

वैदेशिक शिक्षण संस्था वा सोसँग सम्बन्धन कलेजबाट डिग्री हासिल गरेका आवेदकले आवेदनसँग समकक्षता प्रमाणपत्र अपलोड नगर्नु, अफर लेटरको म्याद सकिएको हुनु तथा वास्तविक प्रमाणपत्र लगायत आवश्यकीय कागजात अपलोड नहुनु, एक कागजातको सट्टामा अर्को कागजात वा अर्कैको कागजात अपलोड गर्नेको आवेदन पनि अस्वीकृत हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?