+
+

एनओसी लिन घण्टौं लाइन (तस्वीरहरु)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८० पुष १२ गते १८:५४

१२ पुस, काठमाडौं । वैदेशिक अध्ययन अनुमति पत्र शाखा (एनओसी) सेवा प्रभावकारी बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनशक्ति थप गरेको छ । मन्त्रालयले एनओसी शाखामा दुई जना शाखा अधिकृत थप गरेको छ ।

एनओसी शाखा प्रमुख शान्तlराम पौडेलले विद्यार्थीको चाप अत्यधिक रहेको र जनशक्ति अभाव भएको बेला मन्त्रालयले केही दिनका लागि जनशक्ति थप गरेको बताए ।

उनले भने, ‘सेवा प्रवाहमा जनशक्ति अभावको कारण पनि समस्या भएको हो । मन्त्रालयले केही समयको लागि दुई जना जनशक्ति थप गरेको छ ।’ पौडेलका अनुसार मन्त्रालय थप गरेको दुई जना शाखा अधिकृत मध्ये एक जना बिहीबारदेखि आएका छन् भने अर्का शुक्रबार आउने छन् ।

२८ मंसिरमा शाखाको सर्भरमा समस्या आएको भन्दै केही दुई दिन सेवा प्रवाह रोकिएको थियो । १ पुससम्म पनि सर्भर नबनेपछि अनलाइन समय पाएका विद्यार्थीको लागि शाखाले भौतिक रुपमा प्रमाणीकरण तथा एनओसी वितरण गर्न सुरु गरेको थियो । २ पुसमा सर्भर बनेपनि कतिपय विद्यार्थीले अनलाइन प्रमाणीकरण नभएको, पेश गरेको कागजात नदेखाएको भन्ने गुनासो गरेपछि शाखाले भौतिक प्रमणाीकरणलाई निरन्तरता दिएको थियो ।

तर, अनलाइनमार्फत समय पाएका विद्यार्थीसँगै भर्खर आवेदन दिएका विद्यार्थी पनि आउँदा समस्या भएको शाखा प्रमुख शान्तीराम पौडेलले बताए ।

उनले भने, ‘हामीले सर्भरका कारण सेवा नपाएका विद्यार्थीको लागि भौतिक रुपमा सेवा दिन थालेका थियौं तर हाम्रो जनशक्ति सबै भौतिक रुपमा सेवा दिन व्यस्त भएपछि अनलाइन समय पाएका र भर्खरै आवेदन दिएका विद्यार्थीबीच स्क्रिनिङ गर्न नसक्दा समस्या भएको हो ।’ अनलाइन समस्या भएका र आवेदन दिनवित्तिकै प्रमाणीकरणका लागि आउने विद्यार्थी बीच स्क्रिनिङ गर्न नसक्दा विद्यार्थीको चाप थेगिनसक्नु भएको उनले जिकिर गरे ।

उनले भने ‘स्क्रिनिङ गर्न नभ्याएको र आवेदन दिन वित्तिकै पनि पाइन्छ भन्ने हल्लाले शाखामा विद्यार्थीको भिड बढेर थेगिनसक्नु भयो ।’

विद्यार्थीको अत्यधिक चाप बढेपनि नियन्त्रणका लागि प्रहरीको सहयोग नै लिनुपर्ने अवस्था समेत सिर्जना भएको उनले बताए । बुधबारदेखि शाखाले प्रमाणीकरणलाई पुनःअनलाइन मार्फत मात्रै बनाएको र अब स्क्रिनिङ पनि भएकोले विद्यार्थीको चाप कम हुँदै गइरहेको उनले बताए ।

उनले भने, ‘७५ प्रतिशत समस्या समाधान भएको छ । अबको केही दिनभित्रै सेवा प्रवाह नियमित बनाउँछौं ।’ सर्भरको डेटा भरिएकोले सर्भरमा समस्या आएको प्राविधिकले जानकारी दिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?