+
+

राम्रो सेवा दिन नसकेको भन्दै एनओसी कार्यालय प्रमुखले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते २१:४३

३० फागुन, काठमाडौं । भक्तपुरको सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) कार्यालयका प्रमुख तथा उपसचिव शन्तिराम पौडेलले पदबाट राजीनामा दिएका छन् । कार्यालयको क्षमताभन्दा बढी विद्यार्थी वैदेशिक अध्ययनका लागि एनओसी प्रमाणपत्रका लागि कार्यालयमा आएको र चुस्त र छिटो सेवा दिन नसक्दा सेवाग्राहीमाथि अन्याय भएको भन्दै उनले राजीनामा बुझाएका हुन् ।

बुधबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुलीसमक्ष उनले राजीनामा पत्र बुझाएका छन् । पराजुलीका अनुसार पौडेलको राजीनामाको सनाखत हुन भने बाँकी छ ।

‘उहाँले कार्यालयमा अत्याधिक चाप बढेको र कार्यालयको क्षमताभन्दा अत्याधिक बढी अर्थात् दैनिक १५ सय जनालाई सेवा दिए पनि अझै चाप उच्च भएको भन्दै राजीनामा बुझाउनुभएको हो,’ उनले भने,‘कार्यालय प्रमुखको राजीनामाको सनाखत हुन बाँकी छ ।’

पछिल्ला दिनमा कार्यालयमा एनओसी लिन आउनेको संख्या अत्यधिक छ । तर,  चापअनुसार कर्मचारीको संख्या व्यवस्थापन नगरिएको भन्दै पौडेलले यसअघि पटक–पटक मन्त्रालयको ध्यानाकर्षण गराउँदै आएका थिए ।

फागुन लागेयता कार्यलयमा विद्यार्थीको चाप २ गुणाभन्दा बढीले बढेको छ । यसले गर्दा धेरै सेवाग्राहीको काम लामो समयसम्म नहुने अवस्था आएको छ । कार्यालयले शिक्षा तथा मानव संसाधन विकास केन्द्रमा फुर्सदमा रहेका कर्मचारी खटाएर भएपनि चुस्त सेवा दिन प्रस्ताव गरेको थियो । तर, मन्त्रालयले वास्ता गरेको छैन ।

यसले गर्दा कार्यालयमा विहान ६ बजेदेखि नै लाइन लाग्न थालेको छ । साँझसम्म सेवा दिँदा पनि सेवाग्राहीलाई सन्तुष्ट गर्न नसकेको भन्दै पोडेलले मन्त्रालयमा राजीनामा बुझाएका छन् ।

बुधबार शाखा प्रमुख पौडेलले राजीनामा दिएपछि मन्त्रालयले बासुदेव वस्तीलाई पुनः जिम्मेवारी दिइएको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता सापकोटाले शाखा प्रमुख शान्तिराम पौडेलले राजीनामा दिनुको कारणबारे जानकार नभएको बताए ।  ‘शान्तिराम सरले राजीनामा दिनुभयो भन्ने भएपछि कारण बुझ्न भन्दा पनि सेवा प्रभावित हुन नदिन उपाय अपनाउन तर्फ लागियो । किन दिनुभयो भन्ने राजीनामा पत्रमा उल्लेख गर्नुभएको होला,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?