+
+

मंगलबारदेखि भेरिफाइ भएको २४ घण्टाभित्र एनओसी पाउने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते १९:५५

४ चैत, काठमाडौं। वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) शाखाले मंगलबारदेखि आवेदन प्रमाणीकरण भएको २४ घण्टाभित्र एनओसी दिने भएको छ ।

शाखाले प्रमाणीकरण हुन बाँकी ‘पेन्डिङ’ मा रहेको दुई हजार ४४२ आवेदनहरु सोमबारभित्र शून्यमा झार्ने एनओसी शाखाका  निमित्त शाखा प्रमुख बासुदेव वस्तीले बताए ।

उनले अनलाइनखबरसँग भने, ‘मंगलबारदेखि हामी अनलाइन आवेदन भरेको २४ घण्टाभित्र भेरिफिकेसन गर्ने र भेरिफाइ भएको २४ घण्टाभित्र एनओसी दिन्छौं ।’

यसअघि नै वस्तीले ‘टाइम कार्ड’ लागू गरेर आवेदन प्रमाणीकरण भएको दुई दिनभित्र एनओसी पाउने व्यवस्था मिलाएका थिए । वस्तीको सरुवा भएसँगै टाइम कार्ड कार्यन्वयन नहुँदा समस्या भएको थियो ।

एनओसी लिनेको भिड बढेपछि प्रभावकारी सेवा दिन नसकेको भन्दै बुधबार शाखा प्रमुख शान्तीराम पौडेलले राजीनामा दिएपछि मन्त्रालयले बासुदेव वस्तीलाई पुनः जिम्मेवारी दिएको छ ।

वस्तीले शुक्रबारदेखि नै पुनः टाइम कार्ड लागू गरेका छन् । टाइम कार्ड अनुसार सेवाग्राहीले अनलाइन मार्फत आवेदन दिएपछि सेवा लिनको लागि मोबाइलमा पाउने मिति र समय अनुसार सेवा दिँदै आएको थियो ।

९ हजार प्रमाणीकरण हुन बाँकी आवेदनलाई तीन दिनमा दुई हजार ४४२ मा झारेका छन् । शाखाले विहीबारदेखि बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म बसेर प्रमाणीकरण गर्ने र कार्यालय समयभित्र वितरण गर्ने काम गरिरहेको छ ।

सोमबार पनि ७ बजेदेखि साँझ ६ बजेसम्म प्रमाणीकरणको काम गर्ने र मंगलबारदेखि भने नियमित समयमा काम शुरु गर्ने निमित्त शाखा प्रमुख वस्तीले जनकारी दिए ।

शाखाले आइतबार एक हजार ९५१ जनालाई वितरण गर्नुको साथै एक हजार ८४० प्रमाणीकरण गरेको छ । एनओसीका लागि ६५० आवेदन परेको शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?