+
+

अनलाइनबाटै एनओसी दिने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते २०:००

९ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, वैदेशिक अध्ययन शाखा (एनओसी) ले ‘फेसलेस’ सेवा दिने तयारी गरिरहेको जनाएको छ । अहिले विद्यार्थीले एनओसी लिनको लागि आवश्यक शैक्षिक प्रमाणपत्रहरू ‘ओरिजिनल डकुमेन्ट भेरिफाइ’ गर्न भौतिक रुपमा जानुपर्ने अवस्था छ ।

अहिले त्रिभुवन विश्वविद्यालयको शैक्षिक तथ्यांक (एकेडेमिक डेटा) एनओसी शाखाको पोर्टलमा एकीकृत (इन्टिग्रेट) गर्ने प्रक्रिया अगाडि बढाइएको छ । त्रिविसँगै पोखरा विश्वविद्यालयको तथ्यांक पनि एकीकरण गर्ने तयारी गरिएको छ ।

यी विषयको तयारी सकिएपछि अधिकांश विद्यार्थीले अनलाइनमार्फत नै एनओसीको सबै सेवा पाउनेछन् । निमित्त शाखा प्रमुख वासुदेव वस्ती भन्छन् ‘अब धेरै विद्यार्थीलाई फेसलेस सेवा दिने तयारीमा छौं ।’

त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी संख्या बढी भएको र एनओसी लिने विद्यार्थीको चाप पनि त्रिवि कै बढी भएकोले त्रिविको ‘डेटा इन्टिग्रेट’लाई प्राथमिकता दिएको वस्तीले बताए । उनका अनुसार शाखा र त्रिविबीच संवाद भइरहेको र दुवै पक्षका प्राविधिकहरूलाई अध्ययन गराएर कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ ।

त्यसैगरी पोखरा विश्वविद्यालयसँग पनि कुरा भइसकेको र अन्य विश्वविद्यालहरूसँग छलफलकै क्रममा रहेको शाखाले जनाएको छ । निमित्त प्रमुख वस्ती भन्छन् ‘जुन विश्वविद्यालयको एकेडेमिक डेटा कम्प्युटराइज्ड भएको छ । त्यो विश्वविद्यालयसँग मिलेर काम गर्छौं ।’ त्रिविको शैक्षिक तथ्यांक मात्रै एकीकरण हुँदा पनि ७० प्रतिशत बढी विद्यार्थीलाई फेसलेस सेवा दिन सकिने शाखाको भनाइ छ ।

यी कामका लागि पूर्वशिक्षामन्त्री अशोककुमार राईसहित एनओसी शाखा प्रमुख र सबै विश्वविद्यालयका उपकुलपति तथा रजिष्ट्रारसँग बसेर छलफल गरिएको थियो । त्यसबेला एनओसीको सरोकारवाला संस्थाका डेटा एनओसीको पोर्टलमा इन्टिग्रेट गरेर एनओसी लिनकै लागि शाखा जानुपर्ने बाध्यतालाई हटाउने छलफल भएको थियो । सोहीअनुसार कार्यान्वयन गर्नको लागि तयारी भइरहेको शाखाले जनाएको छ ।

शाखाका अनुसार अहिलेसम्म एनओसीको पोर्टलमा राष्ट्रिय परीक्षा बोर्ड, चिकित्सा शिक्षा आयोग, नागरिक एप, अध्यागमन विभागको तथ्यांक समावेश भइसकेको छ ।

२४ घण्टाभित्र एनओसी

अहिले शाखाले आवेदन दिएको २४ घण्टाभित्र प्रमाणीकरण र प्रमाणीकरण भएको २४ घण्टाभित्र एनओसी दिइरहेको छ । २ दिनभन्दा बढी समय लागेको विद्यार्थीको गुनासो आएको खण्डमा जाँच गरेर तत्काल एनओसी वितरण गरिरहेको शाखाले जनाएको छ । निमित्त शाखा प्रमुख वासुदेव वस्तीले भने ‘कतिपय विद्यार्थी आफैंले आवेदन दिएका हुँदैनन् । जसले गर्दा रिभ्यू अथवा रिजेक्ट भएको पनि थाहा नपाउने अवस्था आउँछ ।’

एनओसी लिनेको भीड बढेपछि प्रभावकारी सेवा दिन नसकेको भन्दै ३० फागुनमा शाखा प्रमुख शान्तिराम पौडेलले राजीनामा दिएका थिए । १ चैतबाट निमित्तको जिम्मेवारी सम्हालेका वस्तीले २ चैतदेखि पुनः टाइम कार्ड लागू गरेका छन् ।

वस्तीले नै ‘टाइम कार्ड’ (अनलाइनमार्फत आवेदन दिएपछि मोबाइलमा पाउने मिति र समयमा मात्रै सेवा पाउने) कार्यान्वयन गरेका थिए । बीचमा उक्त ‘टाइम कार्ड’ लागू नहुँदा समस्या भएको थियो । ९ हजार प्रमाणीकरण हुन बाँकी आवेदनलाई ४ दिनमा शून्यमा झारेर मंगलबारदेखि नियमित सेवा दिन थालिएको निमित्त प्रमुख वस्तीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?