+
+

स्पाको आनन्द : यी हुन् काठमाडौंका चर्चित स्पा सेन्टर

मनिषा थापा मनिषा थापा
२०७९ पुष १९ गते १६:२४

काठमाडौं । शरीर आलस्य भयो, काममा ऊर्जा र जाँगर चलेन । यस्तो बेला स्पा गए हुन्छ नि भनेर साथीभाइले सुझाउने गरेको सुन्नुभएको होला । शरीर र दिमागलाई आराम दिने उद्देश्यले देशका प्रमुख सहरमा स्पा सेन्टर थुप्रै खुलेका छन् ।

कहिले पनि स्पा नगएकाहरुलाई लाग्न सक्छ आखिर त्यहाँ के हुन्छ ?

स्पा सेन्टरमा आयुर्वेदिक मसाज थेरापी, हाइड्रोथेरापी, फेसियल, मेनीक्योर, पेडीक्योर, एरोमाथेरापी र एक्युपन्चरसहित विभिन्न सुविधा उपलब्ध गराइन्छ । पछिल्लो समय स्पा सेन्टरहरुले ध्यान, योग पनि समावेश गर्ने गरेका छन् ।

शारीरिक तथा मानसिक स्वास्थ्य लाभ लिन स्पा जरुरी रहेको थेरापिस्टहरु बताउँछन् ।

शरीरलाई आराम दिन, तनावलाई मुक्त गर्न, स्पा थेरापीले रक्तसञ्चार राम्रो गराउन, ऊर्जा ल्याउन र आत्मबल बढाउने काम पनि स्पा थेरापीबाट हुने थेरापिस्टहरु सुझाउँछन् । अनलाइनखबरले काठमाडौंका यस्ता ६ स्पा सेन्टरलाई सूचीकृत गरेको छ, जहाँको  सेवासुविधाले ग्राहकलाई लोभ्याउने गरेको छ ।

जेन स्पा, ठमेल

सम्पर्क : ०१-४७००७००

ठमेलमा रहेको जेन स्पा १२ वर्षअघि खुलेको हो । अनुभवी तथा तालिमप्राप्त महिला तथा पुरुष थेरापिस्टले यहाँ सेवा प्रदान गर्छन् । स्पाका सञ्चालक समेत रहेका अकुपन्चर तथा मसाज थेरापिस्ट रामदेव महतोका अनुसार व्यस्त जीवनशैलीका कारण दिनभरको थकान, तनाव, शरीरको दुखाइ हटाउनेदेखि अनुहारलाई सुन्दर बनाउन स्पा जरुरी छ ।

उनको स्पामा मसाज, फेसियल, बडी ट्रिटमेन्ट, अकुपन्चर, वाक्सिङ, मेनीक्योर, पेडीक्योर,  मसाजमा शिरोधारा, एरोमा थेरापी, ट्रेकर्स मसाज, थाई मालिस हेड मसाज, डिपटिस्यु, हिमालय साल्ट स्टोन, हिमालय हर्बल हार्मोनी मसाज उपलब्ध छन् । त्यसबाहेक स्लिम बनाउने, स्किन चम्काउने र नरम बनाउने बडी ट्रिटमेन्ट छ ।

नेपाली जडिबुटीलाई प्रवद्र्धन गर्ने हिसाबले नेपालमै उत्पादित जडिबुटीबाट बनेको हिमालयन साल्ट र कफी स्कर्बबाट सेवा प्रदान गरिने महतो बताउँछन् । जुन बजार र अन्य स्पामा नपाइने उनी बताउँछन् । पुरुषदेखि महिलाको लागि फेसियल उपलब्ध छ ।

‘स्वास्थ्य उपचारमा एसियाली परम्परागत अभ्यासहरू दुई हजार वर्ष पछाडि जान्छन् । हामी यी प्रमाणित विधिहरूलाई स्वच्छता (सफा ) र सेवाको पश्चिमी मापदण्डहरूसँग संयोजन गरी सेवा प्रदान गर्दै आइरहेका छौं,’ उनले सेवाका जानकारी दिंदै भने, ‘स्पा टोलीको नेतृत्व एक्युपन्चर, शियाचु र आयुर्वेदिक चिकित्सा अभ्यासमा निपूर्ण र दर्ता भएका मास्टरद्वारा गरिन्छ । प्रत्येक जेन टोली सदस्यलाई विशेष उपचारमा प्रशिक्षित गरिएको छ ।’

एसियाली ज्ञान र कौशल तर पश्चिमीस्तरको सेवासुविधा प्रदान गर्दै आएको जेन स्पा नेपालको उत्कृष्ट स्पा सेन्टरमध्ये एक भएको महतो दाबी गर्छन् ।

यहँ सेवाअनुसार शुल्क तोकिएको छ । ‘ग्राहकले कस्तो सेवा लिने त्यसअनुसार दुई हजारदेखि नौ हजार रुपैयाँसम्मको सेवा सुविधा छ । चाहे अनुसार आधा घण्टादेखि ५ घण्टासम्म सेवा दिइन्छ,’ उनले भने । स्पामा ग्राहक आफैंले महिला र पुरुष दुवै थेरापिस्ट आफैं छानेर सेवा लिन सक्नेछन् ।

पछिल्लो समय स्पाका नाममा अन्य धन्दा पनि गरेर विकृति फैलाएकाले ग्राहकमा भ्रम सिर्जना भएको महतो बताउँछन् । ‘केही स्पा सञ्चालन गर्ने व्यवसायीहरुले स्पाका नाममा अनैतिक कार्य पनि गरिरहेका छन्,’ उनले भने, ‘यसले गर्दा राम्रो स्पाको नाम बदनाम भएको छ । यसलाई रोक्न सञ्चालकहरुको मानसिकता परिवर्तन हुनु जरुरी छ ।’

जस्मिन फिटनेस क्लब र स्पा, त्रिपुरेश्वर

सम्पर्क : ९८०८५११५९२

त्रिपुरेश्वरस्थित वरल्ड ट्रेड सेन्टरको चौथो तल्लामा जस्मिन स्पा छ । विगत १५ वर्षदेखि निरन्तर सेवा दिइरहेको यो स्पामा साउना स्टिम, ज्याकुजी, मसाज मात्रै १२ थरीका छन् । आयुर्वेदिक मसाज, थाई मसाज, शिरोधारा, बडी स्क्रब, हेयर एण्ड सोल्जर लगायत सेवा छन् ।

यहाँको सेवा लिन एक घण्टाको कम्तीमा तीन हजार रुपैयाँ खर्चिनुपर्छ । अहिले जाडोयामको अफर अन्तर्गत ३० प्रतिशत छुट दिइरहेको जस्मिन स्पाका म्यानेजर सुरेश भण्डारीले बताए । उनका अनुसार पाँच हजार रुपैयाँको  सदस्य कार्ड लिएमा वर्षभर नै गरेर ५० प्रतिशत छुट छ । ५० प्रतिशत छुट पाउने ग्राहकले प्रत्येक पटक मसाज गर्न आएको समयमा साउना बाथको शुल्क नलिइने भण्डारीले बताए ।

यहाँ दक्ष महिला थेरापिस्टहरुले सेवा दिने गर्छन् । ‘यहाँ पारिवारिक वातावरण हुने भएको कारण ग्राहकहरुको मन जित्न सफल भएका छौं,’ भण्डारीले भने ।

ट्रान्क्युलिटी स्पा

सम्पर्क : ९८०२०२१२६७

स्पाको सुविधा लिन ट्रान्क्युलिटी स्पा सेन्टर पनि राम्रो विकल्प हुन सक्छ । देशका विभिन्न सहरमा शाखा समेत रहेको यो स्पा सेन्टरले मलेसियामा पनि सेवा दिइरहेको छ ।

स्पाका व्यवस्थापक राजेश फैजुका अनुसार काठमाडौंमा होटल तथा रेस्टुरेन्ट बाहेकका ट्रयांकुलिटी स्पा, ठमेल र कुपण्डोलमा छ । यस्तै पाँचतारे होटलहरु सोल्टी, र्‍याडिसन, चारतारे होटल शंकरका साथै ठमेलमा दुईवटा र पोखरालगायत देशका प्रमुख सहरमा आउटलेट सञ्चालनमा छन् । मलेसियामा दुईवटा आउटलेट रहेको फैजुले बताए ।

स्पामा साउना, ज्याकुजी, स्टिमलगायत स्नान गर्न सकिन्छ । त्यस्तै शिरोधारा, बडी स्क्रब, फेस मसाजसँगै शरीरको फुलबडी मसाज, डिप टिस्यु, एरोमा थेरापी, स्पाइनल थेरापी र योगा सेवा पनि गरिन्छ । ट्रान्क्युलिटीको लाजिम्पाटमा ट्रान्क्युलिटी इन्टरनेसनल ब्युटी एण्ड स्पा एकेडेमी पनि रहेको फैजुले बताए ।

ट्रान्क्युलिटी स्पाको सेवा शुल्क दुई हजार रुपैयाँबाट सुरु हुन्छ । ठमेल र कुण्न्डोलमा मसाजको एक घण्टाको ३ देखि ४ हजार रुपैयाँ छ । शिरोधाराको शुल्क ८ देखि ९ हजार छ ।

एनल आयुर्वेदिक स्पा सेन्टर, गोंगबु

सम्पर्क : ९७६५३०२६५०

गोंगबु चोकमा रहेको एनल आयुर्वेदिक मसाज स्पामा जडिबुटीयुक्त तेलको सहायताले मसाज सेवा दिइन्छ । दक्ष र अनुभवी थेरापिस्टबाट सुमधुर संगीत र सुगन्धित जडिबुटीको साथमा मसाज गरिने एनल स्पाकी कर्मचारी विनिता चौधरी बताउँछिन् ।

स्पामा विशेषगरी आयुर्वेदिक पद्धतिबाट फुलबडी  मसाज, डिप टिस्यु मसाज, स्क्रब, स्टिम बाथ, हट स्टोन थेरापी, हेड सोल्जर मसाज र शिरोधाराका सेवा उपलब्ध छन् । त्यसबाहेक फिजियोथेरापीको सुविधा पनि रहेको चौधरी बताउँछिन् ।

यहाँ सामान्य आयुर्वेदिक मसाजको आधा घण्टाको ५०० रुपैयाँ र एक घण्टाको एक हजार लिइने गरिन्छ । चौधरीका अनुसार स्पामा आउनुअघि बुक गरेर आएमा ग्राहकले पालो कुरेर बस्नु पर्दैन ।

कुण्डलिनी आयुर्वेद स्पा

सम्पर्क : ०१-५४२३०७५

ललितपुर सानेपास्थित कुण्डलिनी आयुर्वेदिक एण्ड स्पामा पनि आयुर्वेदिक पद्धतिबाट सेवा दिइन्छ । यहाँ पहिले ग्राहकको स्वास्थ्य अवस्था हेरेर त्यही अनुसार परामर्शसहितको सेवा दिइन्छ ।

स्पाकी व्यवस्थापक सिर्जना श्रेष्ठका अनुसार एरोमा थेरापी, पञ्चकर्म, साउना, हाइड्रो थेरापी, हेड एण्ड सोल्जर मसाज, थाई मसाज, स्टिम हाइड्रो थेरापी, हट स्टोन, हर्बल स्क्रब, आयुर्वेदिक ट्राडिस्नल मसाज, शिरोधारा लगायत सेवा छन् । साउण्ड हिलिङको सेवा पनि यहाँ उपलब्ध छ ।

त्यसबाहेक माइग्रेन, एन्जाइटी, छालासम्बन्धी रोग, पिनास, आँखा, ग्यास्ट्रिक, ढाड दुखाइ र इन्सोम्निया जस्ता रोगबारे परामर्श पनि दिइने गरिन्छ ।

सुत्केरी र सुत्केरी हुनुअघि महिलाको लागि प्रेग्नेन्सी थेरापी र फिजियोथेरापी सेवा पनि कुण्डलिनीमा उपलब्ध रहेको श्रेष्ठ बताउँछिन् । महिला र पुरुष दुवैको लागि स्पाका सेवा रहेको यहाँ ३ हजारदेखि ५ हजार रुपैयाँसम्म शुल्क लाग्छ । आयुर्वेदिक सेवाको भने सेवाअनुसार फरक-फरक शुल्क रहेको श्रेष्ठ बताउँछिन् ।

आर्या वेलनेस स्पा, बालुवाटार

बालुवाटारको खुर्सानीटारमा रहेको आर्या वेलनेस सेन्टरमा विभिन्न किसिमका स्पा सेवा उपलब्ध छन् । यहाँ आयुर्वेदिक मसाज, डिप टिस्यु, हिमालय मसाज, थाई मसाज, स्वीडिस मसाज, एरोमा थेरापी मसाज, हेड एण्ड सोल्जर मसाज, स्पाइनल मसाज, रिफेक्सलोजी, शिरोधारा, बडी स्क्रब र स्टिम एण्ड सौना वाथको सुविधा छ ।

त्यसबाहेक साउण्ड हिलिङको सेवा पनि उपलब्ध रहेको स्पा सेन्टरका स्पा सेन्टरका म्यानेजर प्रसुन पोखरेल बताउँछन् । आठदेखि १२ वर्षसम्मको अनुभव भएका थेरापिस्टहरु यहाँ ग्राहकको सेवामा तल्लीन रहन्छन् । कुनै ग्राहक साउना बाथमा एक्लै आए अरुलाई नमिसाउने पनि पोखरेल बताउँछन् ।

यो स्पा सेन्टरमा आयुर्वेदिक मसाजमा जडिबुटीको तेलबाट मसाज गरिन्छ । जसका लागि समयअनुसार ३ हजारदेखि ५ हजार रुपैयाँसम्म खर्चिनुपर्छ । डिप टिस्युको ३ हजार ५०० देखि ६ हजार, थाई मसाजको ३ हजार ५०० देखि ५ हजार ५०० रुपैयाँ, स्वीडिस मसाजको ३ हजारदेखि ५ हजारसम्म पर्छ ।

यसैगरी एरोमा थेरापी मसाज २ हजार ८०० देखि ४ हजार २००, हेड एण्ड सोल्जर मसाजको १ हजार ५०० देखि २ हजार, हट स्टोन मसाजको ५ हजारदेखि ७ हजार, स्पाइनल म्यासेजको १ हजार ५०० देखि २ हजार र शिरोधाराको ७ हजारदेखि ९ हजार रुपैयाँसम्म पर्न जान्छ ।

लेखकको बारेमा
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?