+
+

अर्थ सचिवमा तोयम राया, राजस्वमा घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २१ गते १२:५२

२१ पुस, काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतकाअनुसार अर्थ सचिवमा तोयम रायालाई ल्याइएको छ भने राजस्व सचिवमा डा. रामप्रसाद घिमिरे आएका छन् । राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।

यसअघि अर्थ सचिवमा कृष्णहरि पुष्कर र राजस्व सचिवमा रामेश्वर दंगाल थिए ।

अर्थसचिव बनेका राया २०७६ भदौमा सचिव बढुवा भएका थिए । सचिवमा बढुवा हुनु अघिसम्म उनीसँग अर्थ प्रशासनमा लामो समय काम गरेको अनुभव छ । उनले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा काम गरेका थिए । विभिन्न कर कार्यालयको नेतृत्व गरेका उनीसँग आन्तरिक राजस्व विभागमा उपहानिर्देशक बनेर काम गरेको अनुभव छ । उनले भन्सार विभागमा महानिर्देशकका रुपमा समेत काम गरेका थिए ।

अर्थ मन्त्रालयमा सहसचिव रहँदा उनले वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख भएर पनि काम गरेका थिए । अर्थमा खटिँदा मन्त्रालयको नेतृत्वमा डा. युवराज खतिवडा थिए । त्यसपछि सचिवमा बढुवा भएका उनी बागमती प्रदेशको प्रमुख सचिवका रुपमा नियुक्त भएर काम गरे । सो भूमिकापछि उनलाई सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आपूर्ति मन्त्रालयमा जिम्मेवारी दियो ।

पछिल्लो सयममा आपूर्ति मन्त्रालयमा रहँदा भने उनी तुलनात्मक रुपमा बढी विवादमा तानिए, नेपाल आयल निगमको इन्धन भण्डारण निर्माणका दुईवटा ठेक्का ‘सेटिङ’मा लगाउँदा पनि उनी मौन बसेका थिए । आयल निगमको सञ्चालक समिति अध्यक्षका रुपमा रहेर इन्धन ढुवानी व्यवसायीको ढुवानी भाडा बढाएपछि आलोचना भएको थियो । अहिले नेपाल आयल निगमले उच्च नाफा कमाए पनि मूल्य समायोजन नगरेका कारण उनी आलोचित थिए ।

२०७८ साल साउनमा सचिवमा बढुवा भएका राजस्व सचिव डा. घिमिरेसँग पनि अर्थ प्रशासनमा काम गरेको अनुभव छ । उनले अर्थ मन्त्रालयमा संस्थान समन्वय महाशाखा र आर्थिक नीति विश्लेषण महाशाखामा रहेर काम गरेका थिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा काम गरेका उनीसँग राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा समेत काम गरेको अनुभव छ । उनले महालेखा नियन्त्रकको कार्यालय, राष्ट्रिय योजना आयोग, पर्यटन मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रमा समेत काम गरेका छन् । उनी मधेश प्रदेश र गण्डकी प्रदेशको सचिव समेत बनेर काम गरेका छन् । खासै विवादमा नपरेका उनी नीति, अनुसन्धानर योजनामा दख्खल राख्ने सचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?