+
+

बक्स अफिसको नाममा दुःख दिएको भन्दै चलचित्र संघले बुझायो सञ्चार सचिवलाई ज्ञापन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २२ गते १२:४४

काठमाडौं । हल सञ्चालकहरुको छाता संस्था चलचित्र संघले विभिन्न समस्या लिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याललाई ज्ञापनपत्र बुझाएका छन् ।

संघका महासचिव नरेन्द्र महर्जनको नेतृत्वमा मन्त्रालय पुगेको टोलीले ४० वटा सिंगल स्क्रिन बन्द हुन लागेको, बक्स अफिस र सेन्सरको नाममा आफूहरुलाई दोष दिएको सहितका समस्या राखेका छन् ।

सचिव अर्यालसँग चलचित्र विकास बोर्ड र हलका समस्याबारे छलफल समेत संघले गरेको थियो । पहिले ४०० हल रहेकोमा अहिले बन्द भएर २०० मात्र सञ्चालनमा रहेको र त्यसमध्ये पनि ४० वटा हल बन्द हुन लागेको जानकारी आफूहरुले सचिवलाई गराएको महासचिव महर्जनले बताए ।

‘यी सिंगल स्क्रिनलाई मल्टिप्लेक्समा स्तरोन्नति गर्ने कि बन्द गरेर पार्टी प्यालेस बनाउने भन्ने कुरामा मन्त्रालको राय चाहियो भनेका छौं,’ महर्जनले भने, ‘किनभने दुई महिनादेखि यी हलहरु बन्द भएको स्थितिमा छन् । शुक्रबार र शनिबार खुल्छन् र बाँकी दिनमा बन्द हुन्छन् । सरकारले राहत नदिए हल बन्द हुने स्थितिमा छन् ।’

बक्स अफिस पारदर्शी नभएको र सञ्चालनको नाममा चलचित्र संघलाई दोष दिने काम भइरहेको भन्दै संघले आपत्ति जनाएको छ । यससम्बन्धी गुनासो पनि ज्ञापनपत्रमा उल्लेख छ । विकास बोर्ड आफैंले एउटा बक्स अफिस व्यवस्थापन गर्न नसक्ने तर देशभरका हलमा बक्स अफिस स्टाफ राखेर चलाउनुस् भन्ने कुरा व्यावहारिक नभएको समेत सञ्चार सचिवलाई जानकारी गराएको उनले बताए ।

हिन्दी फिल्मलाई लक्षित गरी बोर्डले एक साताअघि नै सेन्सर सिफारिस लिनुपर्ने भन्ने नियमप्रति पनि संघले आपत्ति जनाएको छ । ‘कि बोर्डले हिन्दी चलचित्र ल्याउन पाइँदैन भन्नुपर्‍यो । होइन भने वितरणका आधारभूत व्यावहारिक कुरा पनि बुझ्नुपर्‍यो । जस्तै, अहिले ‘पठान’ (शाहरुख खानको नयाँ फिल्म) लाई धेरै पैसा भनेको छ, जति ढिलो डिल गर्‍यो, त्यति कम पैसामा आउने हो । यो कुरा बोर्डले किन बुझ्दैन । कि बलिउड फिल्म ल्याउन पाइँदैन भन्नुपर्‍यो,’ महर्जनले भने । तर बोर्डले सेन्सरको समयसीमा तीन दिन घटाएको छ ।

दुर्गम क्षेत्रमा मल्टिप्लेक्ससहितका हल निर्माण गर्न राज्यले प्रोत्साहित गर्नुपर्ने माग पनि ज्ञापनमा उल्लेख छ । ‘कबड्डी ४ ले मल्टिप्लेक्सबाट मात्र २४ करोड रुपैयाँ कमायो । यदि मल्टिप्लेक्स नभएको भए यति कमाइ हुने थिएन । सरकारले यस्ता सुविधाजनक हल बनाउन प्रोत्साहित गर्नुपर्‍यो । अब रोल्पा, रुकुमजस्ता दुर्गम ठाउँमा पनि हल खोल्न मद्दत गर्नुपर्‍यो,’ महर्जनले भने ।

प्रदर्शन, वितरण र निर्माणका सवालमा चलचित्र विकास बोर्ड र मन्त्रालयसँग बृहत छलफलका लागि आफूहरु तयार रहेको समेत महर्जनले बताए ।

यसैबीच, फागुन १९ गते ‘छक्कापञ्जा ४’ र ‘छड्के २’लाई एकैसाथ रिलिज गर्न आफूहरु सकारात्मक रहेको तर ठूला फिल्म जुधाउन नहुने भन्ने धारणासँग सहमत रहेको पनि महर्जनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?