+
+

पार्टी एकताको पहल गर्न नेसपाले आज वार्ता टोली बनाउँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते ७:३०

२४ पुस, काठमाडौं । वाम दलहरुबीच एकताको पहल भइरहेको बेला नेपाल समाजवादी पार्टी (नेसपा)ले पनि वार्ता टोली गठन गर्दैछ । आज बिहान ११ बजे पार्टी कार्यालय सुविधानगर तिनकुनेमा बस्ने राजनीतिक समितिको बैठकबाट वार्ता टोली गठन गर्ने नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले बताए ।

पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले समाजवादी धारको नेतृत्व गर्ने गरी विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा बैठकमा छलफल हुने जानकारी दिए । साथै सम्वादको लागि सम्वाद समिति पनि गठन गर्ने उनले बताए ।

समाजवादी ध्रुवीकरणको विषय, पार्टीको संगठन सुदृढीकरण, पार्टीका विभिन्न तहका सम्मेलनको विषय, चुनावको समिक्षा, समसामयिक राजनीतिक विषय, आगामी रणनीति लगायत एजेण्डाहरुमाथि पनि बैठकमा छलफल हुने पाण्डेले बताए ।

गत मंसिर ४ को निर्वाचनमा नेसपा माओवादी केन्द्रको चिह्नबाट चुनाव लडेको थियो । त्यसअघि नै माओवादी अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईबीच पार्टी एकताबारे छलफल चल्दै आएको थियो । प्रचण्ड र बाबुरामबीच शनिबार पनि छलफल भएको थियो । लगत्तै बसेको नेकपा माओवादी केन्द्रको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।

वार्ता टोलीमा महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन् । कार्यदलले सबै वाम दलहरुबीच एकताको पहल गर्ने उपमहासचिव शर्माले बताए ।

पछिल्लो समय वाम-समाजवादी दलहरुबीच पार्टी एकताको पहल हुँदै आएको छ । त्यसका लागि दलहरुले वार्ता टोली गठन गर्दै आएका छन् ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले पनि महासचिव डा. बेदुराम भुसालको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा उपमहासचिवत्रय प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर र डा. विजय पौडेल छन् ।

नेताहरुका अनुसार विचार मिल्ने दलहरुबीच पार्टी एकता, नभए कार्यगत एकताका लागि पहल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?