+
+

एसियन गेम्सका लागि तेक्वान्दोले राष्ट्रिय टिम छनोट गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १५:०७

२४ पुस, काठमाडौं । खेलाडी पलायनको विकराल समस्या झेलिरहेको नेपाल तेक्वान्दोले आसन्न एसियाली खेलकुद र १४औं दक्षिण एसियाली खेलकुद (साग)लाई मध्यनजर गरी राष्ट्रिय टिम छनोट गर्ने भएको छ ।

नेपाल तेक्वान्दो संघअन्तर्गत राष्ट्रिय टिम तयारी उपसमितिले आइतबार वक्तव्य जारी गर्दै माघ ७ गते राष्ट्रिय टिम छनोटका लागि खुला प्रतियोगिता आयोजना हुने जनाएको छ ।

छनोट प्रतियोगितामा सहभागी हुने खेलाडीले सम्बन्धित जिल्ला संघको सिफारिस तथा विभागीय खेलाडीको हकमा विभागको सिफारिस अनिवार्य पेश गर्नुपर्नेछ ।

माघ ७ गते हुने प्रतियोगिताका लागि माघ ३ गतेसम्म नाम दर्ता गरिसक्नुपर्ने उपसमिति संयोजक राम गिरीले हस्ताक्षर गरेको वक्तब्यमा उल्लेख छ ।

छनोट प्रतियोगितामा महिला र पुरुषको ८/८ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ४६ केजीमूनि, ४९ केजीमूनि, ५३ केजीमूनि, ५७ केजीमूनि, ६२ केजीमूनि, ६७ केजीमूनि, ७३ केजीमूनि र ७३ केजीमाथि तौैलसमूह समावेश छन् ।

पुरुषतर्फ ५४ केजीमूनि, ५८ केजीमूनि, ६३ केजीमूनि, ६८ केजीमूनि, ७४ केजीमूनि, ८० केजीमूनि, ८७ केजीमूनि र ८७ केजीमाथि तौलसमूह समावेश छन् ।

एसियाली खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गत जेठ–असारमा डेढ महिना लामो बन्द प्रशिक्षण सन्चालन गरेको थियो । गत भदौमा हुने भनिएको एसियाली खेलकुद एक वर्ष सरेपछि बन्द प्रशिक्षण स्थगित भएको थियो ।

१३औं सागमा सर्बाधिक १२ स्वर्णसहित २९ पदक जितेको नेपाल तेक्वान्दो खेलाडी पलायनको समस्यामा छ । १३औं सागमा पदक जितेका ३४ मध्ये १३ खेलाडी विदेश पलायन भएका छन् भने दुई जनाले खेल्न छाडेका छन् ।

राष्ट्रिय टिम तयारीका लागि भन्दै नेपाल तेक्वान्दो संघले गतवर्ष चैतको तेस्रो साता राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो । तर, त्यस प्रतियोगिताबाट छानिएका खेलाडीलाई बन्द प्रशिक्षणमा भने राखेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?