+
+

सुदूरपश्चिममा नागरिक उन्मुक्तिले एमालेसँग माग्यो लिखित प्रतिबद्धता

जनक विष्ट जनक विष्ट
२०७९ पुष २६ गते २०:२५
रामेश्वर चौधरी ।

२६ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार गठन गर्न नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ लगायतका मुद्दामा लिखित प्रतिबद्धता मागेको छ ।

नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीले प्रदेश सरकार गठनमा समर्थन गर्ने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताउँदै पार्टीले उठाएका माग मुद्दाका विषयमा लिखित प्रतिबद्धता दिनुपर्ने माग अघि सारिएको जानकारी दिए ।

‘अहिलेसम्म हामीले प्रदेश सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा कुनै निर्णय गरेको अवस्था छैन,’ चौधरीले अनलाइनखबरसँग भने, ‘तर रेशम चौधरीको रिहाइ लगायतका मुद्दामा गठबन्धनको शीर्ष स्तरमा लिखित प्रतिबद्धता आएमा समर्थन गर्ने अवस्था रहन्छ भन्ने सल्लाह भएको छ ।’ पार्टीका संस्थापक रेशम चौधरीलाई डिल्लीबजार कारागारमा भेटेर फर्किएका उनले सोमबार रातिसम्म विभिन्न कोणबाट छलफल जारी रहने र मंगलबार निष्कर्षमा पुग्ने बताए ।

चौधरीले पार्टीले उठाएका माग मुद्दा सम्बोधन गर्ने विषयमा लिखित प्रतिबद्धता नआएमा प्रतिपक्षीमा बस्ने बताए ।

तर नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधिसभाका प्रमुख सचेतक गंगाप्रसाद चौधरीले भने अहिलेकै गठबन्धनको नेतृत्वमा सुदूरपश्चिम प्रदेश सरकार गठन हुने र त्यसमा आफ्नो पार्टीले बाहिरै बसेर समर्थन गर्ने बताए ।

‘हाम्रो पार्टीले संघीय सरकारलाई विश्वासको मत दिइसकेको छ । सुदूरपश्चिमको हकमा पनि हामी अहिलेकै गठबन्धनको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गछौँ तर हाम्रा माग, मुद्दाहरु सम्बोधन नभएसम्म सरकारमा सहभागी हुदैनौँ,’ चौधरीले भने ।

उक्त पार्टीका प्रवक्ता दामोदर पण्डित भने पार्टीको शिर्ष नेतृत्वबाट सुदूरपश्चिम प्रदेश सरकारका सम्बन्धमा हालसम्म कुनै निर्देशन प्राप्त नभएको बताउँछन् ।

सुदूरपश्चिम प्रदेशमा अहिलेको अवस्थामा नागरिक उन्मुक्ति पार्टी सरकार गठनका लागि निर्णायक शक्ति देखिएको छ । ७ जना प्रदेशसभा सदस्यसहितको प्रतिनिधित्व रहेको यो पार्टीले एमाले नेतृत्वको गठबन्धनलाई समर्थन नगरेको अवस्थामा सरकार बन्ने देखिँदैन ।

तर प्रदेश सरकारको नेतृत्व गर्ने तयारीमा रहेको नेकपा एमाले भने नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्नेमा ढुक्क देखिएको छ ।

‘भोलि हामी प्रदेश सरकारको नेतृत्वमा दाबी गर्न प्रदेश प्रमुख कहाँ बहुमतसहित जान्छौँ । नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्छ । हाम्रै नेतृत्वमा गठबन्धनको सरकार बन्छ,’ एमालेका एक प्रदेशसभा सदस्यले भने, ‘शीर्ष तहमा भएको आलोपालोको सहमति कार्यान्वयन हुन्छ ।’

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?