+
+
Shares

सडक विभागले भन्यो– फुर्केखोलामा तत्काल बेलीब्रिज राख्न सकिँदैन

दुई वटा विकल्पमाथि विभागले थाल्यो तयारी

यद्यपि पुल सञ्चालनको लागी विभिन्न वैकल्पिक उपायहरूका बारेमा सडक विभागले अध्ययन गरिरहेको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते १३:२६
सडक विभागका महानिर्देशक डा. विजय जैसी

१५ भदौ, काठमाडौं । रसुवा बाढीले बगाएको काठमाडौं धादिङबेसी जोड्ने फुर्केखोला पुललाई तत्काल सञ्चालमा ल्याउन कठिन देखिएको छ ।

बाढीले धादिङको सदरमुकाम जोड्ने फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी जाने वैकल्पिक सडकमार्ग खोजिएको सडक विभागले जनाएको छ । फुर्केखोलमा तत्काल बेलीब्रिज राख्न सक्ने स्थिति नदेखिएको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए ।

पुलको स्थलगत अनुगमन गर्दै उनले फुर्केखोलामा तत्काल बेलीब्रिज राखेर सडक सञ्चालन गर्न समस्या रहेको बताएका हुन् ।

‘अहिले तत्काल यातायात सञ्चालनका लागि बेलीब्रिज राख्न सकिन्छ कि भनेर हामीले हेरिरहेका छौं । तर, पुलको लम्बाइ र पियरको अवस्थालाई हेर्दा तत्काल बेली ब्रिज राख्न केही कठिन हुने देखिएको छ,’ उनले भने ।

तत्कालका लागि बेलीब्रिज राख्ने सम्भावनाबारे अध्ययन भइरहेको भएपनि पुलको लम्बाइ र एउटा पियर बगाएको कारण उपलब्ध बेलीब्रिजले नदीको दूरी पूरा गर्न नसक्ने उनको भनाइ छ ।

यद्यपि पुल सञ्चालनको लागी विभिन्न वैकल्पिक उपायहरूका बारेमा सडक विभागले अध्ययन गरिरहेको उनले जानकारी दिए । विभागले पुलको विस्तृत मापन गर्न प्राविधिक टोली खटाउने उनले बताए ।

‘हामी यसको ठ्याक्कै मापन गर्न एउटा प्राविधिक टोली पनि पठाउँदैछौं । सम्भव भएमा बेलीब्रिज राखेरै तत्काल यातायात सञ्चालन गर्ने हाम्रो विचार थियो । तर, अहिले स्थलगत निरीक्षण गर्दा लामो स्पानको बेलीब्रिज यहाँ उपलब्ध हुने अवस्था देखिएन,’ उनले भने, ‘छोटो स्पानका बेली ब्रिजलाई दुईतिरको पियरसँग जोड्दा पनि आवश्यक लम्बाइ हामीसँग भएको बेली ब्रिजभन्दा बढी हुने देखिन्छ । त्यसैले तत्काल बेलीब्रिज राख्न सकिने अवस्था देखिएको छैन ।’

उपलब्ध संरचनालाई प्रयोग गरेर नयाँ डेक निर्माण गर्ने वा हालको पुलसँग जोडेर नयाँ पुल निर्माण गर्नुपर्ने विकल्पमा विभागले अध्ययन गर्ने पनि उनले बताए ।

उनका अनुसार, यसका लागि दुई वटा विकल्पबारे छलफल अघि बढेको छ ।

पहिलो, अहिले रहेका संरचनालाई प्रयोग गरेर त्यसमाथि नयाँ डेक राख्न सकिन्छ । त्यसलाई स्थायी प्रकृतिको संरचनाका रूपमा निर्माण गर्न सकिन्छ ।

दोस्रो, यही पुलसँग जोडेर नयाँ पुल निर्माण गर्नुपर्ने हुन सक्छ ।

त्यसो गर्न नसकिएमा नयाँ पुल पनि बनाउनुपर्ने हुन सक्ने उनले बताए । स्थायी पुल निर्माणका लागि प्राविधिक अध्ययनपछि आवश्यक प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।

‘कति दिनमा र कुन तरिकाले यातायात सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा स्पष्ट भन्न सक्छौँ । यो पुल बनाउनैपर्छ । त्यसका लागि आवश्यक प्राविधिक अध्ययन गरेर तुरुन्तै निर्माण प्रक्रियामा जाने विषयमा हामी चाँडै निर्णय गर्छौं,’ उनले भने ।

बाढीले पुल बगाएपछि प्रभावित क्षेत्रमा वैकल्पिक मार्गबाट यातयात सञ्चालनमा ल्याएको जानकारी पनि उनले गराए ।

जैसीका अनुसार मासटारतर्फको पुल सुरक्षित रहेकाले फुर्केखोलाबाट मासटारसम्मको सडकलाई वैकल्पिक मार्गको रूपमा प्रयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?