+
+

भारतको जोशिमठ शहर पृथ्वीमै बिलाउने डर

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १८:५८

२८ पुस, काठमाडौं । भारत उत्तराखण्डको चमोली जिल्लाको जोशिमठ शहरमा जमिन भासिदै गइरहेको छ । समुद्री सतहबाट ६ हजार १ सय ५० मिटर उचाइमा रहेको यो शहरका ठाउँठाउँमा धाँजा फाटिरहेका छन् । घरका पर्खाल भत्किरहेका छन्, मानिसहरु घरमा बस्न डराएर आश्रयका लागि सुरक्षित ठाउँ खोजिरहेका छन् ।

अलकनन्दा र धौलिगंगा नदीको बीचमा रहेको सानो पहाडमा बसेको यो शहर भारतको प्रख्यात तीर्थस्थल बद्रीनाथ यात्राको अन्तिम ठूलो मानव बस्ती हो । हिमनदीको गेग्र्यानमा उभिएको यो पहाडमा ठूला विकास परियोजना सुरु गर्दा संकट बढेको विज्ञहरु बताइरहेका छन् ।

धौलिगंगाबाट विद्युत उत्पादन गर्ने भन्दै यहाँ नेशनल थर्मल पावर कर्पोरेशन (एनटीपीसी)ले सुरुङ निर्माण गरिरहेको छ । तपोवन विष्णुमठ परियोजना र चारधाम परियोजना अन्तर्गत बाइपास सडक निर्माण सुरु भएपछि यहाँको जमिन भासिने क्रम बढेको वैज्ञानिकहरु बताउँछन् ।

गढवाल विश्वविद्यालयको विज्ञान विभागका अध्यक्ष तथा यो क्षेत्रको भूगोलको अध्ययन गरिरहेका वैज्ञानिक एसपी सतिका अनुसार यहाँ २०१३ मा नै ठूला परियोजना बनाउन रोक लगाइएको थियो ।

जोशिमठ भासिन थालेसंगै यहाँका ३ हजार भन्दा धेरै मानिसलाई अन्यत्र सार्न उत्तराखण्ड सरकारले योजना बनाइरहेको छ । ७ फेब्रुअरी २०२१ मा हिउँको टुक्रा खसेर अलकनन्दा नदीमा बाढी आएपछि जोशिमठको जमिन भासिने र चिरा पर्ने क्रम बढेको थियो ।

त्यसो त सन् १९७८ मा नै वैज्ञानिकको एक टोलीले जोशिमठ क्षेत्रमा जमिन खन्ने गरी कुनै पनि विकास निर्माणका काम नगर्न भनेको थियो । बद्रिनाथ, हेमकुण्ड जस्ता धार्मिक क्षेत्र जोशिमठको बाटो हुँदै जानुपर्छ ।

वातावरण जोगाउन १९७५ मा चिपको आन्दोलन चलाउने यो क्षेत्र अहिले आफै वातावरणीय संकटमा परेको छ । डाउन टु अर्थ समाचार संस्थाका अनुसार चिपको आन्दोलनकी प्रणेता गौरादेवीको घर पनि चिरा परेको छ ।

दिनानुदिन जमिन भासिने र चिरा पर्ने क्रम बढ्दै गएपछि यहाँका सय भन्दा धेरै घर खाली गराइएका छन् ।

भूगर्भ वैज्ञानिक एसपी सतिका अनुसार जोशिमठसंगै उत्तराखण्डका धेरै क्षेत्र ‘टाइम बम’ जस्ता भएका छन् । कमजोर भू बनोट भएको हिमाली क्षेत्रको जमिन हल्लाउने गरी विकास निर्माणका काम गर्दा यस्तो संकट आएको सतिको भनाइ छ ।

उनी भन्छन्, ‘कविहरूले हिमालयलाई दृढता र अटलताको प्रतीकको रूपमा वर्णन गरेका छन्, तर यथार्थमा हिमालय अत्यन्त नाजुक क्षेत्र हो । यो संसारको सबैभन्दा कान्छो भुगोल हो । हिमायल बन्ने प्रक्रिया अझै पुरा भइसकेको छैन ।’ एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?