+
+

माओवादीबाट रेखा, सुदन र महिन्द्र मन्त्री बन्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २९ गते १२:५३

२९ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले सांसदहरु महिन्द्र राय यादव, रेखा शर्मा र सुदन किरातीलाई मन्त्री बनाउने तयारी गरेको छ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरुसँगको छलफलपछि यी तीन जनालाई मन्त्री बनाउने तयारी गरेको स्रोतले बताएको छ । सत्तारुढ दलहरुबीच माओवादी केन्द्रबाट मन्त्रिपरिषदमा ५ जना रहने समझदारी छ ।

माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बनिसकेका छन् । अब माओवादीबाट ३ जनामात्र मन्त्रिपरिषदमा सहभागी हुन पाउँछन् ।

तर, पूर्वसभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकबाट निर्वाचित सांसद माधव सापकोटालाई मन्त्री बनाउन दबाव दिएका छन् । ‘कि आफूलाई उपराष्ट्रपति बनाउनुपर्ने कि सिन्धुपाल्चोकबाट निर्वाचित सुवोध (माधव सापकोटा) लाई मन्त्री बनाउनुपर्ने सर्त राख्नुभएको छ । यस अनुसार डेलिगेसन पनि आएको छ । यस सम्बन्धमा प्रधानमन्त्रीले कसो गर्ने हो भनी राय माग्नुभएको छ’, एक नेताले भने ।

उनले मन्हिन्द्रको ठाउँमा माधवलाई मन्त्री बनाउन दबाबव दिइरहेको ती नेताको दावी छ । महिन्द्र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष हुन् । माओवादी केन्द्र र नेसपाले आम चुनावमा संयुक्त चुनाव चिह्नमा निर्वाचन लडेका थिए । यादवलाई मन्त्री बनाउन नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले दबाव दिइरहेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच मन्त्रालय भागवण्डामा करिब सहमति जुटेको नेताहरु बताउँछन् । नेताहरुका अनुसार एमालेले १० मन्त्रालय पाउनुपर्ने अडान राखिरहेको छ । नागरिक उन्मुक्ति पार्टीले २ वटा मन्त्रालय पाउनुपर्ने माग राखिरहेको छ ।

नागरिक उन्मुक्ति पार्टीलाई २ मन्त्रालय दिएर एमालेले ९ वटा मन्त्रालय लिने गरी समझदारीको प्रयास भइरहेको शीर्ष नेताहरुको छलफलमा सहभागी नेताहरु बताउाछन् ।

माओवादी केन्द्रले ५, रास्वपाले एक राज्यमन्त्रीसहित ४, राप्रपाले ३, जसपाले २ वटा मन्त्रालय लिने विषयमा सत्ता साझेदार दलहरुका बीचमा समझदारी भएको छ ।

शुक्रबार पनि सत्ता साझेदार दलहरुको बैठक बस्दैछ । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार शुक्रबार नै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी थियो । तर, भागवण्डाकै कारण केही पर सर्ने भएको छ ।

तथापि, शुक्रबार भागवण्डा र मन्त्रालयको टुंगो लगाएर शनिबार वा आइतबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने प्रयास रहेको सचिवालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?