+
+

शिक्षकको परीक्षामा सुदूरपश्चिममा ७५ प्रतिशत मधेशी कोटा खाली

रामहरि ओझा रामहरि ओझा
२०७९ माघ ३ गते १३:४५

३ माघ, डोटी । शिक्षक सेवा आयोगले २०७८ पुस १४ गते प्राथमिक तहमा दार्चुला जिल्लामा मधेशी कोटामा १३ शिक्षक माग गरेको थियो । २०७९ असार १३ गते लिइएको दोस्रो चरणको लिखित परीक्षामा यो कोटामा आवेदन दिएका एक जना पनि उत्तीर्ण हुन सकेनन् । हाललाई ती १३ वटै शिक्षक दरबन्दी रिक्त हुने देखिएको छ ।

आयोगले सुदूरपश्चिका जिल्लाहरुमा प्राथमिक तहमा मधेशी कोटामा १०२ जना शिक्षक माग गरेको थियो । तर, दोस्रो चरणको परीक्षामा जम्मा २६ जना मात्रै उतीर्ण भए । यो संख्या आवश्यक पद संख्याको २५.५ प्रतिशत मात्रै हो । अर्थात ७५ प्रतिशत कोटा खाली रहने निश्चित भएको छ ।

जिल्लागत हिसाबमा बैतडीमा मधेशी कोटामा २०, डोटीमा १५, अछाममा १४, डडेल्धुरा र बझाङमा नौ/नौ, कञ्चनपुरमा आठ र बाजुरा र कैलालीमा सात/सात जना माग गरिएको थियो ।

दोस्रो चरणको परीक्षाको पुस २७ र २८ गते सार्वजनिक नतिजा अनुसार सुदूरपश्चिमको कुनै पनि जिल्लामा मधेशी कोटामा आवश्यक संख्यामा परीक्षार्थी उतीर्ण भएका छैनन् । दार्चुला, डडेल्धुरा र बझाङमा यो समूहबाट एक जना पनि उतीर्ण भएका छैनन् । बाजुरा, डोटी र कञ्चनपुरमा एक/एक जनाले मात्रै दोस्रो चरणको लिखित परीक्षामा नाम निकाल्न सके । यस्तै, कैलालीमा दुई, अछाममा ८ र बैतडीमा १३ जना उत्तीर्ण भएका छन् ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ११.क अनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति हुने शिक्षक पदमध्ये ४५ प्रतिशत आरक्षण छुट्याउनुपर्छ । उक्त ४५ प्रतिशतलाई शत प्रतिशत मानी २२ प्रतिशत मधेशी कोटा निर्धारण गरिएको छ ।

मधेशी समुदायका व्यक्तिहरु दुर्गम पहाडी जिल्लाहरुमा गएर बस्न अप्ठेरो मान्ने भएका कारण उनीहरुको सहभागिता न्यून भएको हुन सक्ने शिक्षा तालिम केन्द्र दिपायलका गोविन्दप्रसाद पोखरेल बताउँछन् । ‘तराईमा जन्मेका/हुर्केका व्यक्तिहरुलाई दुर्गम पहाडी क्षेत्रमा जाँदा भौगोलिक, हावापानी, भाषा आदिको समस्या हुन सक्छ’ पोखरेल भन्छन् ‘सोही कारण उहाँहरुले इच्छा राख्नु भएन होला ।’

पाँच जिल्लामा आवश्यकता भन्दा कम उत्तीर्ण

आयोगले वेबसाइटमार्फत सार्वजनिक गरेको लिखित परीक्षाको नतिजा अनुसार सुदूरपश्चिमका नौ जिल्लामध्ये ६ जिल्लामा आवश्यकता भन्दा कम परीक्षार्थी उत्तीर्ण भएका छन् ।

बैतडी, कञ्चनपुर र कैलाली जिल्लामा मात्रै आवश्यकता भन्दा केही बढी बिद्यार्थी लिखित परीक्षामा उत्तीर्ण भएको आयोगले सार्वजनिक गरेको नतिजाले देखाएको छ । अछाममा खुला र समावेशी गरी १३७ पद माग भएकामा १९० जना दोस्रो चरणको परीक्षामा सहभागी भएका थिए । तीमध्ये दोस्रो चरणको परीक्षामा १३५ जनामात्र उतीर्ण भए ।

त्यस्तै, डोटीमा १४८ पदका लागि लिखित परीक्षामा ३०९ जना दोस्रो चरणको परीक्षामा सहभागी भएका थिए । जसमा १३४ जनामात्र अन्तर्वार्ताका लागि सिफारिस भए । दार्चुलामा १३२ पदका लागि दोस्रो चरणको परीक्षामा २५९ जना सहभागी भएका थिए । जसमध्ये १०२ जनामात्रै उतीर्ण भए ।

बझाङमा ९६ जना माग भएकामा लिखित परीक्षामा ११३ जना सहभागी भएका थिए । जसमध्ये ७७ जनामात्र उतीर्ण भए ।

डडेल्धुरामा ९५ जना माग भएकामा लिखित परीक्षामा १४४ जना सहभागी भएका थिए र ८५ जनामात्रै उतीर्ण भए । बाजुरामा ७३ जना माग भएकामा ६५ जना मात्रै उत्तीर्ण भएका छन् । यस जिल्लामा लिखित परीक्षामा ८२ जनाको सहभागिता थियो ।

बैतडीमा दुई सय चार पद छ । त्यसका लागि ५७६ ले दोस्रो चरणको लिखित परीक्षमा भाग लिएका थिए भने २३० जना अन्तरवार्ताका लागि सिफारिस भएका छन् । त्यस्तै, कैलालीमा ७४ पदका लागि लिखित परीक्षामा २०५ जना सहभागी भएका थिए । उनीहरुमध्ये ८१ जना उत्तीर्ण भएका छन् । कञ्चनपुरमा ७६ रिक्त पदका लागि २१८ सहभागी भएका मा ८० जना अन्तरवार्ताका लागि छनौटमा परेका छन् ।

शिक्षक सेवा आयोगले पाठ्यक्रम परिवर्तन गरि दुई चरणमा परीक्षा लिने प्रणालीको सुरुआतले गर्दा माग संख्याभन्दा कम उत्तीर्ण भएका हुन सक्ने सुदूरपश्चिम शिक्षा विकास निर्देशना-लय दिपायलका शाखा अधिकृत कृष्णबहादुर बोहरा बताउँछन् ।

‘आयोगले पहिले एकै चरणमा एक सय पूर्णाङ्कको विषयगत परीक्षा लिन्थ्यो, उक्त परीक्षामा उत्तीर्ण भएकाहरू अन्तरवार्तामा सहभागी हुन पाउने व्यवस्था थियो,’ बोहरा भन्छन्, ‘तर त्यो व्यवस्था परिवर्तन गरि यस वर्षदेखि पहिलो चरणमा एक सय पूर्णाङ्कको वस्तुगत परीक्षा हुन्छ, त्यसमा उत्तीर्ण भइसकेपछि दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउने प्रावधान रहेको छ ।’ दोस्रो चरणको परीक्षामा उत्तीर्ण भएकाहरूमात्र अन्तरवार्ताका लागि सहभागी हुने पाउने उनी बताउँछन् ।

पाठ्यक्रमको ढाँचा र परीक्षा प्रणालीमा परिवर्तन हुदाँ उम्मेदवारहरूको तयारी पुग्न नसकेको शिक्षा तालिम केन्द्र दिपायलका प्रमुख गोविन्दप्रसाद पोखरेलले बताए । उनी भन्छन्, ‘यस पटक पाठ्यक्रम परिवर्तन भएको छ, परीक्षा प्रणाली दुई चरणमा भयो, त्यसकारण प्रतियोगिताका उम्मेदवारहरूको तयारी पुगेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?