+
+

अस्पतालले मृत घोषित गरेकाे शिशुले सास फेरेपछि…

हरि अधिकारी हरि अधिकारी
२०७९ माघ ४ गते १७:०१
अस्पतालमा उपचाररत शिशु र उमदेवी मुखिया ।

४ माघ, विराटनगर । १९ दिनका शिशुले दूध नखाएपछि उमादेवी मुखियालाई आफन्त र छरछिमेकीले अस्पताल लैजान सल्लाह दिए ।

बुधबार बिहान विराटनगर १० मा रहेको माइती घरबाट श्रीमान दिलीप मुखियासहित आफन्तले एम्बुलेन्समा ल्याएर शिशुलाई कोशी अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना गरे । जहदा गाउँपालिकाको वडा नम्बर ३ घर भए पनि बच्चा जन्मिएपछि उमादेवी माइतीघर विराटनगर १० आएकी थिइन् ।

अस्पताल पुगेको केही समयपछि चिकित्सकले शिशुको धड्कन नचलेको भन्दै मृत घोषित गरे । १९ दिनकी छोरीको मृत्युको खबरले उमासहित आफन्तको रुवावासी चल्यो ।

अन्त्येष्टिका लागि भन्दै माइती घर लिएर गए । तर घर पुगेपछि आफन्तले हेर्दा शिशुले सास फेरिन् । हात खुट्टा पनि चलाएपछि हतारहतार एम्बुलेन्स बोलाएर कोशी अस्पताल नजिकै रहेको गोल्डेन अस्पताल भर्ना गरे ।

बुधबार बिहान भर्ना गरिएकी शिशुको एनआईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ । कम तौलको शिशुमा शारीरिक कमजोरी, संक्रमण र चिसोका कारण समस्या भएको हुनसक्ने गोल्डेन अस्पतालका चिकित्सक डाक्टर सतिश यादवले जानकारी दिएका छन् ।

उमादेवीका अनुसार छोरीले दूध नखाएपछि बिहान कोशी अस्पताल लगिएको थियो । अस्पतालमा शिशुलाई तीन जनाले जाँच गरेका थिए । चिकित्सकले लापरबाही गरी आफ्नो बच्चालाई जिउँदै हुँदा मृत घोषित गरेको उनले आरोप लगाइन् ।

चिकित्सकमाथि हातपात

मृत घोषित गरेको शिशुले सास फेरेपछि गोल्डेन अस्पताल भर्ना गरेका शिशुका आफन्तले  कोशी अस्पतालमा गएर चिकित्सकमाथि हातपात गरेका छन् ।

शिशुको उपचारमा कोशी अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा.आकाश यादवको नेतृत्वमा तीन जना स्वास्थ्यकर्मी खटिएका थिए । शिशुका आफन्तले हातपात गर्दा उनी सामान्य घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।

जिउँदै बच्चालाई मृत घोषित गरेको भन्दै हातपातमा उत्रिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।

कोशी अस्पताल विराटनगरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवले हातपात गर्नेहरुले माफी मागेपछि मिलापत्र भएको बताए । उनले शिशुलाई मृत घोषित गरेको विषयमा चिकित्सकमाथि सोधपुछ गरिएको बताए ।

सञ्चारकर्मीमाथि दुर्व्यवहार

जिउँदो शिशुलाई अस्पतालले मृत घोषित गरेको विषयमा रिपोर्टिङका लागि पुगेका पत्रकारले आफूमाथि कोशी अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डा. लक्ष्मीनारायण यादवले दुर्व्यवहार गरेको बताएका छन् ।

रिपोर्टिङका लागि पुगेका स्थानीय पत्रकार सोनुकुमार दासले आफूमाथि दुर्व्यवहार भएको बताएका हुन् ।

बुधबार बिहान मेसु यादवले आफ्नै कार्यकक्षमा दुर्व्यवहार गरेको उनले बताए । शिशुको उपचारको विषयमा प्रश्न गर्दा आफूलाई ठेलेर कार्यकक्षबाट बाहिर निकालेको उनले बताए । पछि मेसु यादवले उनीसँग माफी मागेका थिए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?