+
+
Shares

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गर्न भन्दै १५ दिने सूचना टाँस

कोशी अस्पतालको जग्गामा २०१६ सालमा क्षयरोग निवारण संस्था स्थापना भएको थियो । देवकोटा पुस्तकालय पनि २०१६ साल आसपास नै स्थापना भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १९:०४

५ जेठ,  विराटनगर । कोशी अस्पताल विराटनगरको जग्गा अतिक्रमण गरेर निर्माण गरेको संरचना हटाउन १५ दिने सूचना जारी गरेको छ ।

संघीय सरकारको निर्देशन र अस्पतालले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न शुक्रबार १५ दिने सूचना जारी भएको हो ।

अस्पतालको नाममा ५ बिघा ८ कठ्ठा ९ धुर जग्गा छ । जसमध्ये अस्पतालको दक्षिण खण्डमा नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी, देवकोटा पुस्तकालय र गणेश मन्दिर निर्माण गरिएको छ ।

व्यस्त बजार भएका कारण ती संस्थाले सटर बनाएर भाडामा लगाएका छन् । शुक्रबार अस्पताल प्रशासनले सबै संस्थाको गेटमा १५ दिने सूचना टाँस गरेको हो ।

अस्पताल प्रशासनका अनुसार क्षयरोग निवारण संस्थाले करिब ६ कठ्ठा ८ धुर, देवकोटा पुस्तकालयले करिब २ कठ्ठा १० धुर, गणेश मन्दिरले करिब २ कठ्ठा र नेपाल रेडक्रस सोसाइटीले करिब २ कठ्ठा जग्गामा सटरसहितका संरचना बनाएका छन् ।

कोशी अस्पताल परिसरमा ५०० शैय्याको मेडिकल भवन र २५९ शैय्याको विशिष्टीकृत सेवा भवन निर्माण भइरहेको छ । अस्पतालको सेवा विस्तारका लागि आफ्नै जग्गा उपभोग गर्नुपर्ने भएकाले ती संरचना हटाउन सूचना जारी गरेको अस्पताल प्रशासनले जनाएको छ ।

सूचना जारी भएको १५ दिनभित्र संरचना नहटाए कानुनअनुसार अघि बढ्ने कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर चन्द्रभाल झाले जानकारी दिए । ‘माथिबाटै प्रक्रिया भएर आएको हो, हामीले अतिक्रमण खाली गर्न १५ दिने सूचना जारी गरेका छौं,’ उनले भने, ‘अटेर भयो भने कानुनअनुसार अघि बढ्नुपर्छ ।’

कोशी अस्पतालको जग्गामा २०१६ सालमा क्षयरोग निवारण संस्था स्थापना भएको थियो । देवकोटा पुस्तकालय पनि २०१६ साल आसपास नै स्थापना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?